नमीता दीक्षित -चिफ रिस्क अफिसर, नबिल बैंक

महिला उद्यमी बन्ने हो भने जोखिम बहन गर्ने क्षमता चाहिन्छ : चिफ रिस्क अफिसर दीक्षित (अन्तर्वार्ता)

बैंकमा खाता खोल्ने महिलाको संख्या कति छ ?
नबिल बैंकमा ४०५ जति खाता महिलाको छ  ।

के कारणले महिलाहरू खाता खोल्न आकर्षित भएको जस्तो लाग्छ ? 
राष्ट्र बैंकले महिलाहरूको लागि विशेष सहुलियत पूर्ण ऋण कार्यक्रम ल्याएको छ । महिलाका नाममा उद्योगहरू दर्ता हुनेक्रम पनि बढेको छ । व्यवसाय गर्ने महिलाहरूको संख्या बढेसँगै बैंकमा खाता पनि महिलाको नाममा खोलिने भयो । यसको संख्या बढ्दै जानुको मुख्य कारण पनि यही हो । सम्पत्तिमाथि अधिकार र बैंकले प्रदान गर्ने ऋणमा पनि पहुँच पुगेको छ । यो सँगसँगै महिलाहरू आत्मनिर्भर हुँदै जानु प्रमुख कारण हो । आर्थिक साक्षरता र शिक्षामा महिलाहरूको पहुँच बढ्दै गएकाले उनीहरू बैंकिङ कारोबार, ऋण लगायतमा सचेत हुँदै गएका छन् । आर्थिकरुपमा सशक्त र शैक्षिकरुपमा अगाडि भएपछि महिलाहरूको खाता खोल्ने मात्रै होइन सबैखाले क्रियाकलापमा संलग्न र सचेत हुँदै गएका छन् ।

बैंकिङ कारोबारमा कस्ता महिलाहरू सक्रिय पाउनुभएको छ ?  
धेरैजसो उद्यमी महिलाहरू नै सक्रिय छन् । यसको अर्थ गृहिणीहरूसँग खाता नभएको वा कारोबार नगर्ने भन्ने होइन । हाम्रो आमा पुस्तामा बुवाले खडा गरेको कम्पनीको प्रमुख भएर भाउजू, बहिनी, बुहारी आउने चलन थियो । तर अहिले भने आफ्नै क्षमता र योग्यताले अगाडि बढेका र कम्पनीको माथिल्लो तहमा पुग्न सफल महिला/दिदीबहिनीहरू धेरै छन् । साना तथा मझौला उद्योग व्यवसाय द्वारा महिलाहरू बैंकिङ कारोबारमा सक्रिय भएतापनि ठूलो उद्योगमा भने अझैपनि संख्या न्यूननै छ । महिलाहरूको नाममा संस्था दर्ता मात्रै हुने र पुरुषहरूले नै सञ्चालन गर्ने प्रचलनमा कमी आएको छ भने महिलाहरूको उद्यमी बन्ने र नेतृत्व लिने सङ्ख्यामा पनि वृद्धि भएको छ । यो सुखद अवस्था हो । यति हुँदाहुँदैपनि कर्पोरेट क्षेत्रमा भने उल्लेखयरुपमा महिला नेतृत्व स्थापित हुन सकेको छैन । केही वर्ष अगाडिको तुलनामा बैंकिङ कारोबार गर्ने महिलाहरूको सक्रिय संख्या भने उकालो लाग्दै छ ।

महिलालाई प्रोत्साहन गर्न बैंकहरूले के-कस्ता योजना ल्याएको छ ?
‘नबिल प्रिमियम नारी बचत खाता’ नबिल बैंकले ल्याएको छ । यो खातामा महिलाका लागि विभिन्न बैंकिङ कारोबारमा लाग्ने  शुल्कमा सहुलियत तथा छूटको व्यवस्था गरेका छौँ । दिगो बैंकिङ योजना अन्तर्गत साना उद्यमी कृषकलाई सहुलियतपूर्ण  कर्जाको व्यवस्था गरेका छौँ ।  यसमा किसान कर्जा तर्फ ४६५ र उद्यमशील कर्जा तर्फ ७६५ कर्जा महिलालाई प्रवाहित भएको छ । त्यस्तै  हामीले डिजिटल बैंकिङको प्रावधान गर्ने क्रममा महिला र युवा लक्षित कर्जाको पनि योजना ल्याएको छौँ जसमा ४४५ महिला सहभागिता छ । यसका साथै नेपाल राष्ट्र बैंकबाट निर्देशित महिला उद्यमशील कर्जामा  पनि राम्रो कर्जा विस्तार गरेका छौँ ।

महिलाले ऋण लिँदा के-कस्तो सुविधा दिन्छ नबिलले  ?
सचेतनाका कार्यक्रमहरू गरिनै रहेका छौँ । पछिल्लो चरणमा दिगो बैंकिङ कार्यक्रम सुरु गरेका छौँ । ग्रामीण क्षेत्रका शाखाहरूमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरूले प्रभावकारी भूमिका निर्वाह गरिरहेका छन् । नबिलका कर्मचारीको माध्यमबाट पनि ऋण के हो ? महिलाहरूले यसबाट कसरी अधिकतम फाइदा लिन सक्छन् ? भनेर समय-समयमा जानकारी गराउने काम पनि गर्दै आएका छौँ ।

महिलालाई बचत, ऋण, कारोबारसम्बन्धी जानकारी दिनका लागि बैंकले कसरी प्रबन्ध मिलाइरहेको छ ?  
महिलालाई विशेष सहुलियतले मात्रै पुग्दैन । उनीहरूलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी दिने उद्देश्य अनुरूप नबिलले सचेतनाका कार्यक्रमहरूको आयोजना गर्दे आएको छ । उद्यमशील बन्ने हो भने जोखिम बहन गर्न सक्ने क्षमता पनि हुनपर्छ । यसका लागि अध्ययन पनि चाहिन्छ । बंगलादेशमा सफल भएको माइक्रो फाइनान्स महिला उद्यमीहरूकै मेहनतका कारण सफल भएको हो । पुरुषको तुलनामा महिलाहरूले पूजीको सही सदुपयोग गर्ने क्षमता राख्ने भएका कारण महिलाहरूलाई विश्वास गर्न सकिन्छ । यदि महिलाको नाममा दर्ता गरेर पुरुषले चलाएको उद्योग/व्यवसाय हो भने फरक हुनसक्छ, तर यदि महिला आफैले नेतृत्व गरेको उद्योग छ भने चाहिँ पक्कैपनि त्यसको प्रतिफल बढी र जोखिम कम हुनजान्छ । नबिलले महिला उद्यमीहरूलाई सहयोग गर्ने उद्देश्यले वित्तीय साक्षरता मात्रै होईन बैंकमा आउने उद्यमी महिलाहरूलाई आवश्यक सल्लाह र सुझाव प्रदान गर्दै आइरहेको छ ।

नेपालमा महिला बचतकर्ताको अवस्था कस्तो छ ? खाता खोल्ने र निष्क्रिय बस्नेहरूको संख्या बढी छ वा सक्रियको ? 
राष्ट्र बैंकको डाटालाई आधार मान्ने हो भने महिला बचतकर्ताको संख्या बढेको देखिन्छ । सामाजिक सञ्जालका कारण महिलाहरू पहिलेको भन्दा जागरूक हुँदै गएका छन् । रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमबाट आर्थिक अवस्थाका बारेमा जानकार छन् । निक्षेप राखेका महिला दिदीबहिनीहरू मैले सचेत हुँदै गएको पाएको छु । मैले राखेको बैंकले कति ब्याज दिइराखेको छ ? अन्य बैंकको अवस्था कस्तो छ ? मेरो पैसा सुरक्षित छ की छैन ? जस्ता तमाम प्रश्नहरूका उत्तर खोज्ने क्रम बढेको छ । केही वर्ष पहिले महिलाहरू खाता खोल्ने र धेरैजसो पुरुषसँगै आउने र निर्भर हुने गर्थे भने आजभोलि महिला एक्लैले कारोबार गर्ने क्रम बढेको मैले पाएको छु ।

  • नवीन सन्देशबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हामी यस्तो भूगोलमा छौँ की यहाँ जुनसुकै बेला पनि ठूलो भूकम्प जाने सम्भावना छ : वरिष्ठ भूकम्पविद् डा. अधिकारी (अन्तर्वार्ता)

खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्पीय उच्च जोखिममा रहेको बताउँछन् । उनका अनुसार, नेपालमा एउटै भूकम्प पूर्वदेखि पश्चिमसम्म गएको छैन । पूर्वमा १९९० सालको भूकम्प गएपछि २०४५ सालमा एउटा छुट्टै प्रकृतिको भूकम्प गयो र त्यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन । नेपालको मध्य क्षेत्रमा २०७२ वैशाखमा गयो र पश्चिम नेपालमा ठूलो भूकम्प सम्भावना छ ।

प्रतिकृया दिनुहॊस