विवाह: एक पवित्र सम्बन्ध

  • डम्मर बम

हिन्दु धर्मावलम्बीका ठूला चाडपर्व सकिए लगत्तै अब बिहेको चहलपहल बढ्न थालेको छ । मंसिरलाई विवाहको लागि उत्तम महिना मानिन्छ । यस महिनामा बिहेको लगन बढी हुने गर्दछ । खासगरी उमेर पुगेका केटाकेटी वा परिवारले अनुकूल जोडीको खोजी गर्दछन् । कसको कोसँग जोडी बनाउने ? छोरी अथवा छोरालाई कसको परिवारमा सम्बन्ध जोड्ने ? भन्ने विवाहको पहिलो चरण हो ।

समयानुसार केटाकेटीले आफूअनुकूल जोडी आफै रोज्ने चलन बढ्दै गएको छ । उनीहरू केही समय एकअर्कालाई राम्रोसँग बुझेपछि बिहे गर्दछन् । यदाकदा घरपरिवारले पनि जोडी मिलाइदिने चलन कायमै छ । बिहे सक्षम भएपछि गर्ने रहर प्रायको हुन्छ । सहज रूपमा जीवनयापन गर्न सकियोस्, बालबच्चालाई शिक्षादीक्षा दिन सकियोस् र समाजमा प्रतिष्ठित भएर बाँच्न सकियोस् भन्ने चाहना धेरैको हुन्छ ।

विवाह एक औपचारिक प्रक्रिया मात्रै होइन, सामाजिक र कानूनी सम्झौता हो । जसले कानूनी रूपमा आर्थिक र भावनात्मक रूपमा आफ्नो जीवनलाई एकताबद्ध बनाउँछ । विवाहित हुनु यौन सम्बन्धमा वैधता प्राप्त गर्नु हो । परम्परागत रूपले गरिएको विवाहले अक्सर नैतिक र सभ्यताको संरक्षणको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । विवाहलाई हिन्दु धर्ममा बन्धन पनि भनिन्छ । यो त्यस्तो बन्धन हो, जहाँ विवाहित पुरुष/महिलाले आफ्नो आचरण, सिद्धान्त र अनुशासनमा बसेर वैवाहिक धर्मको पालना गर्नुपर्छ । विवाह एउटा पवित्र सम्बन्ध पनि हो ।

सफल वैवाहिक जीवनले आफूमात्रै होइन, घरपरिवार, आफन्त, नातागोता, समाज र सिंगो राष्ट्रमा नै सकारात्मक प्रभाव पार्ने गर्दछ । पछिल्लो समय वैवाहिक सम्बन्धमा उत्पन्न भएका समस्याका कारण परिवार र समाजमा नकारात्मक असर पनि पर्दै गएको छ । विवाहजस्तो सम्बन्धलाई जोगाउन पुरुष/महिला दुवैको उत्तिकै जिम्मेवारी हुने गर्दछ । विवाहका सम्बन्धमा विभिन्न क्षेत्रमा सफल भएका र वैवाहिक जीवन पनि सफलतापूर्वक अगाडि बढाइरहेका केही व्यतित्वहरुसँगको कुराकानी :-

पत्रकार: जगत नेपाल
विवाह दुई व्यक्तिको मात्र नभएर दुई परिवारको मिलन हो । जहाँ सामाजिक परिवेश अनुसार दुई मन मिलाइएको हुन्छ । जसले व्यक्तिलाई अनुशासन र संस्कारमा बाँध्ने काम गर्दछ । मेरो विचारमा विवाह सकेसम्म २५ वर्षमै गर्दा राम्रो हुन्छ । बिहेको लागि योग्य युवा युवतीले आफूअनुकूल जोडी खोज् नसक्ने क्षमता हुन्छ । जीवनभरको साथका लागि आफूलाई बुझ्ने, आफ्नो लागि योग्य व्यक्तिलाई छनौट गर्नुपर्ने हुन्छ । जब यी कुराबाट हरकोही चुक्यौँ भने जीवन असहज हुन सक्छ । असल जीवनसाथी भाग्यले मिल्छ । तरपनि जीवनसाथी खोजी गर्दा आफूलाई बुझ्ने, शिक्षित, पारिवारिक सामाजिक परिवेश मिल्ने हुनु आवश्यक छ । विवाह एक सम्झौता पनि हो । दुई मान्छे एक हुने सुनौलो अवसर हो । यस्तो पवित्र सम्बन्धमा एक अर्कालाई बुझ्नु एकदमै आवश्यक छ । त्यसपछि मात्र सफल दाम्पत्य जीवनको महसुस गर्न सकिन्छ ।

जीवन शून्यबाट शुरु हुन्छ । दुई भिन्न परिवेशबाट आएकाहरुबीच तादात्म्य मिलाउनका लागि दुवै पक्षबीच आपसी समझदारी हुनु आवश्यक छ । मैले २०५४ सालदेखि पत्रकारिता शुरु गरेको हुँ । शुरुवातमा नेपाली वाणी विक्ली, त्यसपछि १७ वर्ष कान्तिपुर टेलिभिजन, रेडियो नेपाल, विमर्श साप्ताहिक, सुरुची साप्ताहिक, ग्लोबल टेलिभिजनमा सल्लाहकार सम्पादकको जिम्मेवारी निर्वाह गर्दै अहिले अन्वेषण अनलाइन सञ्चालन गरेको छु । साथै मेरो सदन, सत्ता, सडक र नेपाली काँग्रेस, गिरिजाप्रसाद कोइरालाको जीवनीमा आधारित आफ्नै कुरा, पहिलो संसद् बिपी महेन्द्र टकराब, बिपीको विद्रोह, गणतन्त्र यात्रा लगायत पुस्तकहरू प्रकाशित रहेका छन् । हालै यूएनडिपीको लागि पुस्तक तयारी गर्दैछु ।

यी सबै सफलताका पछाडि मेरी श्रीमतीज्यू (निरुजा चापागाँइ) को हात रहेको छ । उहाँले घर, बच्चा र मलाई सम्हाल्ने काम गर्नुभयो । उहाँको सरल, सहज र कुशल व्यवस्थापन गर्नसक्ने क्षमताका कारण मलाई आफ्नो पेसामा राम्रोसँग काम गर्ने मौका मिल्यो । रत्नराज्य क्याम्पसमा अध्यापन पनि गराउँदै आएको छु । अहिले उहाँ (श्रीमतीज्यू) ले अधिवक्ताको परीक्षा पास गर्नुभयो । उहाँले जागिरे जीवन शुरु गर्नुभएको छ । मैले घरपरिवारलाई समय दिँदै आएको छु । मलाई लाग्छ, मान्छे सफल हुन जीवनसाथीको ठूलो भूमिका हुनेगर्छ । एकअर्कालाई सम्मान, माया र इज्जत गर्दै आफ्नो करियरलाई अगाडि बढाउन सके वैवाहिक जीवन सुन्दर हुन्छ ।

युवा नेता: पुष्पकुमार शाही
बिहे भनेको सम्झौता हो । एक अर्कोको अस्तित्व स्विकार्नु पनि हो । आजीवन सँगै मर्ने बाँच्ने बाचासहित हिन्दुधर्म संस्कार अनुसार पवित्र बन्धनमा बाँधिने प्रक्रिया हो । बिहे गर्नु वंशजको निरन्तरता र आफूलाई बुढेसकालको सहाराको लागि पनि हो । विवाह गर्दा धेरै कुरालाई ध्यान दिनुपर्छ । एकअर्कालाई बुझेर मात्र बिहेको लागि अगाडी बढ्न म सल्लाह दिन्छु । मन पर्‍यो भन्दैमा बिहे गर्न हतारिनु हुँदैन । एकअर्कालाई राम्रोसँग बुझेर मात्रै निर्णय लिनुपर्छ । क्षणिकरुपमा मन पराएर गरिने बिहे भन्दा अन्तरआत्मादेखिनै मन पराएर गरिने वैवाहिक सम्बन्ध दिगो हुन्छ । यो जुनीभरी बाँधिने पवित्र बन्धन हो । जीवन सफल बनाउन दुवैको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ । श्रीमान्÷श्रीमती एक सिक्काका दुई पाटा हुन । एक अर्काको अस्तित्वलाई स्वीकार्नैपर्छ अनि मात्र सफल दाम्पत्य जीवनको आनन्द लिन सकिन्छ । विवाह बन्धन हो, जहाँ अनुशासन हुन्छ, विश्वास हुन्छ र भरोसा हुन्छ ।

हाम्रो समाजमा रुढीवादी परम्परा व्याप्त छ । श्रीमतीले सबै काम गर्नुपर्ने, श्रीमान्ले केही गर्नु नपर्नेजस्ता पुरानै सोच देखिन्छ । अब समय परिवर्तन भइसकेको छ । एकअर्कालाई सहयोग गर्नुपर्छ । श्रीमान्ले पनि घरको काम सघाउनुपर्छ । अनि मात्र खुसी जीवन बिताउन सकिन्छ । शंकाको दृष्टिकोणले हेर्दा एकअर्काबीच विश्वास धरमराउँछ ।

२०४६ सालको परिवर्तनपछि शेरबहादुर देउवा २ सय ५० जना लिएर सुदूरपश्चिम भ्रमणमा रहँदा उहाँमा भएको जोश र सकारात्मक सोचबाट प्रभावित भएर म नेपाल विद्यार्थी संघमा आबद्ध भएको हुँ । त्यसपछि २०५१ सालमा विन्ध्यवासिनी माध्यमिक विद्यालय दर्ना अछाममा इकाई सभापति भए । त्यो बेलादेखि अहिले विभिन्न उतार चढावका बिच म राजनीति क्षेत्रमा छु । नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष तथा कार्यवाहक अध्यक्षको जिम्मेवारी पुरा गरेको छु ।

मेरो श्रीमतीज्यू (ऐश्वर्या शाह) ले मलाई हरहमेसा सहयोग गर्नुभएको छ । उहाँ सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा स्टाफ नर्सको रूपमा कार्यरत हुनुहुन्छ । घरपरिवार र बच्चाको रेखदेख गर्दै कामलाई पनि निरन्तरता दिइरहनुभएको छ । राजनीतिमा एकैचोटी सफलता मिल्दैन । त्याग चाहिन्छ । त्यसैगरी सफल वैवाहिक जीवनका लागि पनि दुवै पाटो वा पक्ष सशक्त हुन आवश्यक छ । एकअर्र्काबीच माया, सम्मान, सह भावना जागृत भए वैवाहिक जीवन सफल हुन्छ ।

अधिकृत: हेमा कार्की
विवाह दुई आत्माको मिलन मात्रै होइन, सम्झौता पनि हो । जस्तोसुकै अवस्थामा एकअर्कालाई सहयोग गर्ने अनि साथ दिने बचन दिइन्छ । एक्लो जीवन आफ्नो किसिमले बाँचिएको हुन्छ । सहमतिमा धार्मिक हिसाबले अग्निलाई साक्षी राखेर बाँचुन्जेल एकअर्कालाई साथ, सहयोग गर्ने प्रण गरेर नै विवाह गरिन्छ । हरेकको पेसा व्यवसाय अनुसार सबैको व्यवहार फरक÷फरक हुन्छ । एकअर्कालाई साथ र सहयोग गरे सुखद दाम्पत्य जीवन बिताउन गाह्रो हुँदैन । जस्तो परिस्थितिमा पनि जीवनसाथीको साथ छोड्नुहुँदैन । एकअर्काका लागि त्याग गर्नु सक्नुपर्दछ ।

म अहिले लेखा अधिकृत पदमा कार्यरत छु । यसमा मेरा श्रीमान् (हरिकृष्ण केसी) र परिवारको साथ र सहयोग छ । निजामती क्षेत्रमा नाम निकाल्न सजिलो छैन । शुरुवात आफूले गर्ने हो । उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक भन्ने भनाई छ । मेरो नायब सुब्बा हुँदा बिहे भयो । आफूलाई त्यो भन्दा माथिको ओहदासम्म पुग्नु थियो, त्यसका लागि अधिकृत हुनु आवश्यक थियो । ग्रामीण क्षेत्रमा निजामती सेवा सम्बन्धी त्यति जानकारी थिएन । जब जनताको सेवा नै निजामती सेवा हो, भन्ने भावना परिवारमा जागृत गराएँ, त्यसले पनि मलाई सहयोग मिलेको हो । उहाँ (श्रीमान्) ले गर्दा लोकसेवा तयारीको वातावरण मिलेको थियो । बिहे गरेकै वर्ष अधिकृतमा नाम निकाल्न सफल भएँ । घर, कार्यालय, वैवाहिक जीवन व्यवस्थापन पनि चुनौतीपूर्ण छ । स्नातकोत्तरको अध्ययन पनि गर्दैछु । यी सबै चुनौतीका बिच वातावरण मिलाएको छु ।

बच्चाको हेरचाह, शिक्षा, घर, कार्यालय मिलाउन निकै सक्रिय हुनुपर्छ । अबको तयारी उपसचिवको छ । बिहे अघि जस्तो समय त मिल्दैन तरपनि कोसिस गर्दैछु । बच्चालाई सानैदेखि खाना आफै खाने, गृहकार्य गर्न आफै तयार हुने जस्ता बानीहरू सिकाउनु आवश्यक छ । नायब सुब्बा २०६८ र ०७२ मा अधिकृत पास गरेँ । श्रीमान् प्राइभेट कम्पनीमा काम गर्नुहुन्थ्यो, उहाँलाई पनि लोकसेवामा लाग्न हौस्याएँ । उहाँले वैदेशिक यात्राको तय गर्नुभएको थियो । अहिले दुवै जना नेपाल सरकारको अधिकृत तहमा कार्यरत छौ । हाँसी, खुसी सँगै बसिरहेका छौँ । सफल वैवाहिक जीवनका लागि दुवै पक्ष जिम्मेवार हुन आवश्यक छ । यदि परिवारमा कुनै एक पक्ष कमजोर वा असहयोगी हुने हो भने वैवाहिक जीवन समुन्नत हुन सक्दैन । जसरी गाडी गुड्नका लागि दुवै पाङ्ग्राको समान अस्तित्व आवश्यक छ, त्यसरी नै सफल वैवाहिक जीवनका लागि पनि सन्तुलन आवश्यक छ ।

विवाहले दुई परिवार बिच नयाँ नाता र सम्बन्ध जोड्ने काम गर्छ । नेपालमा हरेक जाति, हरेक क्षेत्रले आ-आफ्नै तरिकाले विवाह गर्ने गर्छन् । विवाह सामाजिक मूल्य र मान्यतामा आधारित हुन्छ । समाजमा विवाह एक स्थायी, सामाजिक र कानुनी सम्झौता र दुईजना व्यक्ति बिचको सम्बन्ध हो । देवानी संहिता २०७४ को दफा ६७ मा कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिने छ, भनी उल्लेख गरेको छ ।

  • नवीन सन्देशबाट
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री