काठमाडौँ । देशका ७५ जिल्लामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
तीमध्ये १० जिल्लामा संक्रमण भयावह बनेको छ तर, यसको रोकथामको प्रमुख जिम्मेवार निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने बल्ल तयारीमा जुट्दै छ । उपत्यकालगायत देशका केही जिल्लामा डेंगु फेलिएपछि मन्त्रालयले त्यसको रोकथाममा जुट्न सरकारी अस्पताल र स्वास्थ्य कार्यालयलाई आइतबार निर्देशन दिएको हो ।
उपत्यकाका सरकारी अस्पताल र तीनवटै जिल्ला स्वास्थ्य कार्यालय प्रमुखलाई मन्त्रालयमा बोलाएर डेंगु नियन्त्रणमा लाग्न निर्देशन दिइएको छ । सबैभन्दा बढी प्रभावित जिल्ला छुट्याएर नियन्त्रणमा लाग्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरकले जानकारी दिए । हाल देशका चारवटा जिल्लाका डेंगु भयावह बनेको छ भने ६ जिल्लामा संक्रमण तीव्र छ ।
यी जिल्लालाई लक्षित गरेर कार्यक्रम तय गर्न लागिएको प्रवक्ता ठाकुरको भनाइ छ । ‘हामीले तयारी गर्न बाँकी छ, तर डेंगु सोचेभन्दा तीव्र गतिमा फैलिरहेको छ,’ उनले भने, ‘सरकारी र निजी अस्पताल तथा जिल्लास्थित स्वास्थ्य कार्यालयहरूलाई यसको नियन्त्रणमा जुट्न भनिसकेका छौँ ।’
संकटकाल लगाउनेबारे अध्ययन
डेंगु महामारीकै कारण स्वास्थ्य संकटकाल घोषणा गर्ने कि नगर्ने भन्ने अध्ययनमा स्वास्थ्य अधिकारी लागेका छन् । गत जनवरीदेखि हालसम्म नेपालमा पाँच हजार २९ जनालाई डेंगु पुष्टि भएको छ ।
सबैभन्दा धेरै ललितपुरमा एक हजार ८३२, काठमाडौँमा ८८८, भक्तपुरमा ९९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । पछिल्ला दिनमा उपत्यकालगायत ७५ जिल्लामा डेंगुले महामारीको रूप लिन थालेपछि डेङ्गु प्रकोपलाई महामारीका रूपमा घोषणा गर्ने तयारीमा छलफल भइरहेको छ । नेपालमा डेंगु बढ्दै गएकाले स्वास्थ्य सङ्कटकाल लगाउने विषयमा छलफल शुरु मन्त्रालयका प्रवक्ता ठाकुरले बताए । उनकाअनुसार स्वास्थ्य संकटकाल (महामारी) घोषणाका लागि केही प्रावधान पूरा गर्नुपर्ने भन्दै ती प्रावधान पूरा भए संकटकाल लगाउन सकिन्छ ।
अस्पतालका प्रमुख तथा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसँग मन्त्रालयले छलफल थालेको छ । भोलि सरोकारवाला निकायसँग छलफल गरेर संकटकाल लगाउने वा नलगाउने भन्ने विषयमा निष्कर्षमा पुग्न सकिने प्रवक्ता ठाकुरको भनाई छ ।
महामारी घोषणा गर्न पाँच वर्षको डेंगुसम्बन्धी केसलाई विश्लेषण गर्नुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य प्रशासक गोकर्ण दाहाल बताउँछन् । ‘पाँच वर्षको डेंगुम्बन्धी केसलाई विश्लेषण गरेर न्यूनतम सीमा (थ्रेस होल्ड) निकालिन्छ र त्यसभन्दा माथि गएको अवस्थामा आउटब्रेकका आधारमा महामारी घोषणा गरिन्छ’ उनले भने, ‘डेंगुको पहिलो चरण सतर्कता, दोस्रो अनियन्त्रित र तेस्रोमा महामारीको चरण हुन्छ । त्यसको तथ्याङ्क विश्लेषण गर्ने काम भइरहेको छ ।’
तर जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी डेंगुको महामारीको अवस्था आइसकेको बताउँछन् । मुलुक सङ्घीय प्रणालीमा जानुअघि प्रत्येक जिल्लामा भेक्टर नियन्त्रण निरीक्षक र मलेरिया निरीक्षण हुने गरेकोमा अहिले उनीहरूलाई सामान्य स्वास्थ्यकर्मीमा रूपान्तरण गरिँदा समस्या बढेको उनको भनाई छ ।
प्रतिकृया दिनुहॊस