मानव सभ्यताको उदयसँगै थुप्रै महामारी र दुर्घटना यसभन्दा अघि पनि विश्वले झेल्दै नआएको होइन । तर पटक देखिएको कोरोनाको महामारी मानव कल्पना र सोच भन्दा अकल्पनीय र भयानक भएर आएको छ ।
विगतमा यस्ता रोगको महामारीमा मानविय क्षति हुनुमा औषधि विज्ञानको आविष्कार भइनसकेको कारण प्रमुख रहेको थियो । तत्कालिन विश्व यती सानो र द्रुतगतिमा जोडिएको पनि थिएन तर आजको अवस्था नितान्त भिन्न छ । तत्कालिन सामाजिक, आर्थिक र भौतिक विश्वसँग आजको समकालिन विश्वको अवश्था दाजेर हेर्दा हाम्रो दैनिकी आफु स्वयंम कम र भौतिक सुविधामा बढि भरपरेर जीवन यापन गर्नुपर्ने बाध्यता छ ।
मानिस र प्रकृतिको सम्बन्ध कतै देखिन पाइदैन । मानिसले प्रकृतिसगँ फगत दुई कुराको आश गर्ने अवश्था छ । एउटा अक्सिजन र अर्को पानी बाँकी सबैकुरा उसले सुपर मार्केटबाट ल्याएर जीवन धानेको अवस्था छ । मानिसको यीनै कमजोरीबाट बहुराष्ट्रिय कम्पनीले नाफा आर्जन गर्नेक्रम बढेसँगै विश्वमा धनी र गरिब बीचको खाडल झनै फराकिलो बन्दै छ, अब गरिबलाई विश्वव्यापीकरण र भुमण्डलीकरणले दुई छाक खान पाए त्यो गरिब हुदैन भन्ने नयाँ परिभाषाभित्र राखेर औद्योगीकरणलाई व्यापक बढाउँदै रोजगारी दिने र तिनको कमाई फेरि आफ्नै उत्पादन खरिद गर्न लगाएर फिर्ता लिने दुष्चक्रमा बाँच्न बाध्य बनाई सकेको आजको वर्तमान विश्वमा अचानक यो उपचार विहिन कोरोनाको महामारीले मानव सभ्यतालाई नै चुनौती दिएर उभिन आयो ।
यसको प्रभाव र विनासको श्रृंखला कति डरलाग्दो र दुरगामी छ । यसको अनुमान लगभग आज विश्वका स्वयम् मानिसले गरिसकेका छन् । यस सन्दर्भमा हाम्रो देशमा विगत एक महीनादेखि के कस्तो सामाजिक, भौतिक र आर्थिक प्रभाव परेको छ ? र अब आउने दिनहरुमा यो महामारीले हाम्रो देशको थोरैमध्ये एउटा प्रभावकारी र देशको अर्थतन्त्रमा महत्वपुर्ण प्रभाव पार्ने मानिएको पर्यटन क्षेत्रबारे चर्चा गर्न खोजिएको छ ।
हुन त, नेपालको कुल ग्राह्स्थ उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान करिब तीन प्रतिशत मात्र रहने गरेको तथ्याङ्क छ । यसको गणना के आधारमा गरिएको छ ? त्यो छुट्टै छलफलको बिषय हो । त्यो व्यवसायमा संलग्नहरुको दाबी भने पर्यटन क्षेत्रको सम्पूर्ण ग्राह्स्थ उत्पादन (जीडीपी)मा योगदान २५.३० प्रतिशत रहेको दावी छ । यो विषयमा अहिले प्रवेश गर्ने बेला नभएकोले यसलाई थाती राख्दै जे जस्तो अवस्थामा रहेको हाम्रो पर्यटन उद्योग वा व्यवसायमा यो महामारीले पुर्याउन सक्ने सम्भावित क्षतिको अनुमान बाजी पनि कसरी गर्न सकिन्छ ।
नेपालको पर्यटन व्यवसाय आजसम्म उद्योगको रुप लिन नसकेको अवस्था छ भने यो व्यवसायको विकास र विस्तार काठमाडौं पोखरा, चितवन र सगरमाथा क्षेत्रमा करिब आधा शताब्दीदेखि नै रहदै आएको थियो । विगत केही समयदेखि सरकार र मोफसलका सरोकारवालाहरुले पर्यटनको बिकास र विस्तारले देशको समग्र गा्रमीण क्षेत्रलाई पनि त्यँहाको स्थानीय उत्पादन वेरोजगार बसेका सबै तहका जनशक्ति गृहणी गरिब, अशिक्षित, संगठित स्वरोजगार बनाउन सकिने एउटा आसलाग्दो र दिगो क्षेत्रको रुपमा पर्यटन व्यवसायलाई स्वीकार गरेर ग्रामीण शासन निराकरणको लागि पर्यटन सम्पदा र उपजको बिकास र पर्यटन व्यवसायको लागि आवश्यक न्यूनतम आधार लगायत जनशक्ति, तालिम र बिकासमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड सयुक्त राष्ट्र संघीय कार्यक्रम, प्रदेश र स्थानीय तह, निजी क्षेत्रले समेत चासो लिएर देशव्यापी रुपमा होटल, रेस्टुरेन्ट, रिसोर्ट, फनपार्क, वाटरपार्क, ताल तलैयाको संरक्षण गरेर त्यँहाको नौका बिहार र पिकनिक जस्ता थुप्रै आन्तरीक पर्यट गतिबिधिहरुको राम्रो सुरुवात गरेमा ।
यस्तो पृष्ठभूमिमा अचानक महामारीले ठूलो तुषारापात गरिदिएको छ । काठमाडौं, पोखरा चितवन र सगरमाथा क्षेत्रमा मात्रै हालका बर्षहरुमा नयाँ पाँचतारे होटेल, रिसोर्ट र अन्य पर्यटकीय गतिबिधिहरुका लागि अरबौंको लगानी गरिएको छ । यसै परिपेक्ष्यमा सरकारले चालू वर्ष सन् २०२० लाई नेपाल भ्रमण बर्ष भनेर विश्वव्यापी प्रचारप्रसार गरी सुरुवात गरिएको थियो, यसले विस्तारै व्यापकता पनि पाउँदै गरेको थियो । पर्यटन व्यवसायीहरू यसबाट उत्साहित भएर थुप्रै नयाँ र थप लगानी पनि गरेर तयार बसेका थिए । मोफसलमा पनि नयाँ व्यवसायीहरु उत्साहका साथ अगाडि आइरहेका थिए ।
पूर्वको झापादेखि पश्चिम महाकालीसम्मका पर्यटकीय सम्भावना भएका प्रायः सबै क्षेत्र, नगर, गाउँहरुमा पनि अरबौंको लगानी भइसकेको अवस्था थियो । प्रदेशका सरकारहरुले यसमा थप कृषि पर्यटनको अवधारणा पनि थप गरेर योग्य व्यक्ति वा समूहलाई अनुदान पनि दिएको छ । यसरी पर्यटन क्षेत्रमा हाल देखिएको प्रत्यक्ष र अप्रत्यक्ष लगानी अन्य कुनै क्षेत्रको भन्दा धेरै बढी भएको देखिन्छ । द्रूतगतिमा अगाडि बढेको र बढने तयारीमा रहेको नेपालको पर्यटन क्षेत्र यो महामारीबाट सबै भन्दा बढिको प्रभावित हुने निश्चित छ । यो क्षेत्रमा बैक तथा वित्तिय सस्थाको लगानी जोखिममा परेको कुरा अर्को गम्भिर विषय हुन गएको छ ।
विज्ञहरुको भनाई र लेखाजोखा अध्ययन गर्दा यो विश्वव्यापी महामारीको स्वरुप दोस्रो खण्डमा भर्खर प्रवेश गरेको र कतै गर्ने अवस्थामा रहेको भनेका छन् । हाम्रो देशमा पनि यो दोस्रो खण्डमा प्रवेश गर्न सुरु गरेको छ । हाम्रो अधिकांश व्यापार र कारोबार हुने पर्यटन आउने लगायतका प्रत्यक्ष आर्थिक कारोबार हुने दुई छिमेकी देश भारत र चीनको अवस्थाको बर्णन यहाँ गरिरहनु नै परेन ।
विश्वव्यापी आर्थिकमन्दी भावी स्वरुप कस्तो हुन्छ ? यो महामारीको आयुसँग प्रत्यक्ष सरोकार राख्छ । विश्वका कुनैपनि आर्थिक पण्डितहरुले अहिले यसै भन्न सकेको अवस्था छैन् । तर अनुमानको भरमा भन्नु पर्दा पनि यो महामारीको मौद्धिक र मनोवैज्ञानिक असर पुरै निको हुन कम्तिमा पनि ६ महीना लाग्छ । विश्वका पर्यटन उद्गम मुलुकहरु विशेषगरी अमेरिका युरोप बेलायत र हाम्रा छिमेकी देश भारत र चीनबाट नेपालमा बढी पर्टयक आउने तथ्यांकबाट स्पष्ट हुन्छ । फेरि पर्यटक हुनु भनेको मानिससँग फुर्सदको समय र अतिरिक्त पैसा हुनु प्रमुख हो ।
यो दुवै वस्तुमा यो महामारीले राम्रो र नराम्रो असर परिसकेको छ । मानिसहरु अबको चिन्ता भनेकै यो महामारीबाट कसरी आफू र आफ्नो परिवारलाई बचाउने र आगामी दिनहरुमा थोरै कमाईले कसरी जीवन धान्नेसँग रहेको छ । यस्तो भयावह अवस्थामा यो महामारीको विश्वभर फैलने क्रम जारी नै रहेको अवस्थामा हाम्रो विश्व कहिले पहिलेको जस्तो अवस्थामा हुन्छ ? हाम्रो देश र हाम्रो दैनिकी कहिले सामान्य हुन्छ ? यो महामारीले विश्वभर कति धनजनको क्षति हुन्छ ? कुन देश कुन व्यक्ति वा उद्योगपतिले कति घाटाव्यहोर्नु पर्छ ? आयत-निर्यात के हुने हो ?
(निरौला नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन् )
प्रतिकृया दिनुहॊस