ओलीले एमालेको नयाँ नेतृत्व घोषणा गर्दै, भीम रावलको असहमति

काठमाडाैँ । नेकपा (एमाले) को यहाँ जारी १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष बाहेक अन्य पदमा सहमति हुने सम्भावना देखिएको छ । सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको बेला अध्यक्ष पदमा पनि निर्वाचन नगराउन शीर्ष नेताहरूबीच अनौपचारिक पहल भने अहिले जारी छ ।

नेकपा एमालेको नयाँ नेतृत्व आज अध्यक्ष ओलीले घोषणा गर्ने तयारी गरेका छन् । यता अध्यक्षमा उम्मेद्वारी मनोनयन गर्ने तयारी गरिरहेका भीम रावलले यसको प्रतिवाद गर्ने भएका छन् । महाधिवेशन बन्द सत्रको ‘सिंगो हल’ ले सम्पूर्ण अधिकार केपी ओलीलाई सुम्पिइसकेकाले आज उनले एमालेको नयाँ नेतृत्वको सूची सार्वजनिक गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

‘सूची तयार भइसकेको छ’, कार्यालय सचिव तामाङले भने, ‘त्यो सूची आजको बन्द सत्रमा अध्यक्ष कमरेड (केपी ओली) ले सार्वजनिक गर्नुहुन्छ ।’ उनले भीम रावलको अध्यक्षको दावी हलले पाँच मिनेटमै अस्वीकार गर्ने समेत दावी गरे । एमाले महाधिवेशनको कार्य तालिकाअनुसार यतिखेर केन्द्रीय समिति र केन्द्रीय पदाधिकारीको निम्ति मनोनयनको काम सकिएको हुन्थ्यो ।

आज बिहानदेखि शुरु हुने विद्युतीय मतदानको लागि तयारी भइरहेको हुन्थ्यो । तर, हिजो दिउँसो अबेर शुरु भएको बन्द सत्रमा सिर्जित नयाँ बहस साम्य हुन सकेको छैन । पाँच बर्षे अध्यक्षबाट फेरिएर अध्यक्षमण्डलको अध्यक्षता रहेका केपी शर्मा ओलीले १९ जना पदाधिकारी र ३०१ केन्द्रीय सदस्यसहित,स्थायी समिति, पोलिट्ब्यूरो र बिभिन्न आयोग तथा सल्लाहकारहरुको नाम पढेर सुनाउने तयारी छ ।

आज बिहान उनले सहमतिमा तयार भएको नाम भन्दै आफ्नो अध्यक्षतामा आगामी पाँच बर्षका निम्ति नयाँ नेतृत्व घोषणा गर्ने तयारी थियो । तर हिजो अबेर सकिएको बन्द सत्रमा निवर्तमान उपाध्यक्ष भीम रावल र घनश्याम भुसालले मनोनयनप्रथाबिरुध्द कडा प्रतिवाद गरेका छन् । तर दिउँसै प्रतिनिधिसभातर्फ संसदीय दलका प्रमुख सचेतक बिशाल भट्टराईले संकेत दिएझैं बन्द सत्रमा सहभागी अधिकांश प्रतिनिधिले निवर्तमान उपमहासचिव बिष्णु पौडेलको प्रस्तावमा केपी ओलीलाई केन्द्रीय पदाधिकारीहरुको नाम पढेर सुनाउन ताली बजाएर अधिकार दिएका छन् ।

महाधिवेशनमका बन्द सत्रमा एमाले केन्द्रीय कमिटीको १५ औं बैठकबाट निर्णय गरिएको पार्टीको विधान संशोधन प्रस्तावलाई शनिबारको बन्द सत्रले पारित गरेपछि ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी बन्ने घोषणा गरिएको छ । बन्द सत्रले सबै पदमा सहमतिका लागि उम्मेदवाहरुको नामावली प्रस्तुत गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

पार्टीका उपाध्यक्ष डा. भीम रावलले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने जनताको बहुदलीय जनवादको सिद्धान्तको पालना गर्दै आफू अध्यक्षमा उम्मेदवारीबाट पछि नहट्ने बताए । एमालेका केन्द्रीय सदस्य सूर्य थापाले सबै पदमा सहमतिका लागि विभिन्न रुपमा कोसिस भइरहेको जानकारी दिए । शनिबार बन्द सत्र सुरु नहुँदै प्रतिनिधि र कार्यकर्ताले सो स्थलमा सहमतिमा नेतृत्व चयन हुनुपर्ने माग गर्दै नाराबाजी समेत गरेका थिए ।

केन्द्रीय कमिटी सदस्यका लागि निर्वाचन नभएमा पनि खुला र समावेशी क्षेत्रबाट प्रतिनिधित्व गराइने भएको छ । यसरी क्षेत्र निर्धारण गर्दा संवैधानिक र पार्टी विधानको व्यवस्था बमोजिम ३३ प्रतिशत महिला र अन्य क्षेत्रको प्रतिनिधित्वलाई सुनिश्चित गरिएको छ । सहमति वा निर्वाचन जे भए पनि बन्द सत्र आज सकाउने तयारी छ । पारित विधानअनुसार १९ पदाधिकारीमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष छ, महासचिव एक, उपमहासचिव तीन र सचिव सात जना रहने छन् । पार्टीको प्रदेश कमिटीका अध्यक्ष मताधिकारसहित पदेन केन्द्रीय सदस्य रहने छन् ।

पदाधिकारीसहित केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरोे गठन गर्ने छ । विधानमा पोलिटब्यूरोको काम, कर्तव्य र अधिकार पनि तोकिएको छ । केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोग अध्यक्ष, उपाध्यक्ष र सचिवसहित २५ सदस्यीय हुने छन् । निर्वाचन आयोगमा अध्यक्ष डा विजय सुब्बासहित १० सदस्य गत विधान महाधिवेशनले चयन गरिसकेको छ भने बाँकी सदस्य यो महाधिवेशनले छान्ने छ । एमालेका सचिव योगेश भट्टराईका अनुसार स्थायी कमिटीले आफ्नो कमिटीको कूल सदस्य संख्यामा नबढ्ने गरी केन्द्रीय सल्लाहकार परिषद् गठन गर्न सक्ने छ । प्रदेश र जिल्ला कमिटीमा पनि सोहीअनुरुप हुनेछन् । प्रदेश कमिटी र जिल्ला कमिटीको आधार संख्या ७५ सदस्यीय हुनेछ ।

बन्द सत्रले ३०१ सदस्यीय केन्द्रीय कमिटीलाई विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी विभाजन गरेको संख्यामा प्रत्येक प्रदेशबाट छ खुला तीन महिला गरी नौ जनासहित सात प्रदेशबाट ६३ सदस्य निर्वाचित हुने तय गरिएको छ ।

उपत्यका विशेष समन्वयबाट एक खुला, एक महिला गरी दुई सदस्य, सम्पर्क समन्वयबाट एक खुला, एक महिला गरी दुई सदस्य, आदिवासी जनजातिबाट १७ खुला र आठ महिला गरी २५ सदस्य, तराई मधेशबाट १३ खुला र छ महिलासहित १९ सदस्य, दलित समुदायबाट आठ खुला, चार महिलासहित १२ सदस्य, थारू समुदायबाट पाँच खुला, दुई महिलासहित सात सदस्य, मुस्लिम समुदायबाट चार खुला, एक महिलासहित पाँच सदस्य, श्रमिक क्षेत्रबाट चार खुला र दुई महिलासहित छ सदस्य निर्वाचित हुनेछन् ।

यस्तै पिछडिएको क्षेत्रबाट तीन खुला, एक महिलासहित चार सदस्य, खुला क्षेत्रबाट ८४ खुला ५३ महिलासहित १३७ सदस्य, केन्द्रीय आयोगहरूमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १३ खुला र नौ महिलासहित २५ सदस्य निर्वाचित हुनेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस