भारतीय ऊर्जा बजारबाट विद्युत आयात, मूल्य प्रतियुनिट ३.८१ भारु पर्ने

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा सोझै विद्युत खरिद गर्न सुरु गरेको छ । प्राधिकरणले आजराति १२ बजेबाट २०० देखि २५० मेगावाटसम्म विद्युत भारतीय ऊर्जा एक्सचेन्ज बजारमा खरिद गरी ढल्केबर-मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गर्ने भएकाे हाे ।

योसँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य बताए । पहिलेबाटै सम्पूर्ण तयारी गरिएकाले अनुमति पाउनासाथ भारतीय बजारमा प्रवेश गरी विद्युत खरिद गर्न प्राधिकरण सफल भएको उनकाे भनाइ छ ।

शाक्यले सबै शुल्कसहित विद्युतको प्रतियुनिट मूल्य ३.८१ भारतीय रुपैयाँ रहेको बताए । ‘प्राधिकरणले पहिलोपटक भारतीय बजारले निर्धारण गरेको दरमा शनिबारका लागि खरिद गर्दा अहिले आयात गरिरहेको मूल्यभन्दा भारु ३७ पैसा सस्तोमा विद्युत पाएका छौँ । यसबाट हाम्रो करिब ३० लाख ४८ हजार रुपैयाँ बचत भएको छ । अन्य दिनमा पनि विद्युत खरिदका लागि प्रक्रिया अगाडि बढाइसकेका छौँ,’ उनले भने । प्राधिकरणले अहिले भारतबाट ढल्केबर-मुजफ्फपुर अन्तरदेशीय प्रसारणमार्फत आयात गर्ने विद्युतको प्रतियुनिट मूल्य ४.१८ भारु छ ।

प्राधिकरणले अहिले सबैभन्दा धेरै ढल्केबर-मुजफ्फपुर प्रसारण लाइनमार्फत विद्युत आयात गरिरहेको छ । प्राधिकरण र भारतीय कम्पनी एनटीपीसी विद्युत निगम लिमिटेड (एनभीभीएन) बीच ढल्केबर-मुजफ्फपुर प्रसारण लाइनमार्फत जुलाई-नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर-अप्रिलमा ३५० मेगावाटसम्म र मे-जुनमा २०० मेगावाटसम्म विद्युत खरिद बिक्री (पीपीए) सम्झौता भएको छ । पीपीएको म्याद ३० जुन २०२१ सम्म रहेको छ ।

भारतीय एक्सचेन्ज बजारबाट विद्युत खरिदका लागि प्राधिकरणकातर्फबाट सम्पूर्ण कारोबार भारतीय नोडल कम्पनी एनभीभीएनले गर्नेछ । एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउने छ । एक्सचेन्ज बजारमा कारोबार भएको विद्युतको दैनिक बिल एनभीभीएनले पेश गरेपछि ५ दिनभित्रमा प्राधिकरणले भुक्तानी पठाउनु पर्ने व्यवस्था रहेको कार्यकारी निर्देशक शाक्यले बताए ।

प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भई विद्युत उत्पादन सुरु भएपछि आन्तरिक रूपमा खपत गरेर जगेडा भएको विद्युत भारतीय बजारमा बिक्री गर्ने योजना बनाएको छ । नेपाल भारतीय ऊर्जा एक्सचेन्ज बजारको सदस्य भएको र प्रवेश पनि पाइसकेकाले विद्युत बिक्रीका लागि पनि थप सहज हुने प्राधिकरणले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस