शहरमा बदनाम कथा

बिमला तुम्खेवा

लेखिदेउ पत्रकार
मेरो कथालाई बदनाम समाचार बनाएर
गाईदेउ गायक मर्माहत गीत बनाएर
अथवा,
बिर्सीदेउ दुखान्त घटना हो भनेर
काठमाडौं छिर्ने मुलद्धार थानकोट मै लेखिदेउ
शहरमा अचम्मको पागल पसेको छ भनेर ।

सीताको अग्निपरीक्षाको कथा सुनाउदै
मलाई मान्छे बन्नै दिएनौ
तिमीले भने जस्तै स्वास्नी हुन चेतनाले दिएन
शोषण सहन स्वभावले दिएन
रत्नपार्कको भद्दा छातीमाथि सस्तो सिङ्गारमा सजिएर
म,
आफ्नो स्वतन्त्रता उपभोग गरिरहेछु
आफ्नो जिन्दगी बाँचिरहेछु ।

छोरीको नाममा
प्रेमिकाको नाममा
श्रीमतीको नाममा
बुहारीको नाममा
कहिले पो आफ्नो जिन्दगी बाँचे
कहिले पो आफ्नो हाँसो हाँसे
कच्चीरोडमा तुफान उडिरहेको धुलो जस्तो
कम्ता डरलाग्दा छैनन यी सत्यहरू

मलाई यस्तो प्रेम स्वीकार छैन
अथवा रातो मखमल
म,
धर्र्ती मै बस्न मंजुर छु
पढ्ने छन् लाखौ स्त्रीहरूले मेरो बिद्रोह कथा ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस