भारतबाट आएको कोभिशील्डले कसरी काम गर्छ ?

काठमाडौँ । भारतले नेपाललाई १० लाख डोज कोभिड-१९ विरुद्धको खोप अनुदानमा दिएसँगै नेपालमा खोपबारे चर्चा बढेको छ । सरकारले सबै तयारी सकेर करिब एक सातापछि ७७ वटै जिल्लामा एकैपटक खोप अभियान सुरु गर्ने बताएको छ ।

यो तयारीसँगै कोभिशील्ड खोपले कसरी काम गर्छ ? र कति प्रभावकारी हुन्छ भन्नेमा यतिखेर सबैको चासो छ । अक्सफर्ड-आस्ट्राजेनेकाको खोप स्थानीय रूपमा उत्पादन गरिरहेको सिरम इन्स्टिट्यूट अफ इन्डिया संसारकै सबैभन्दा ठूलो खोप उत्पादक हो । यसले वार्षिक पाँच करोड मात्रा खोप उत्पादन गर्ने दाबी गर्छ ।

कोभिशील्डले कसरी काम गर्छ ?
कोभिशील्ड नाम दिइएको खोप चिम्पान्जीबाट निकालिएको सामान्य रुघाखोकीको कमजोर पारिएको भाइरसमा आधारित छ । सो भाइरसलाई कोरोनाभाइरसजस्तै बनाइएको छ तर त्यसले सङ्क्रमण गर्दैन ।

खोप दिएपछि मानिसको शरीरमा यसले रोग प्रतिरोधी क्षमतालाई सक्रिय बनाउँछ जसले गर्दा एन्टीबडी बन्छन् र ती कोरोनाभाइरस सङ्क्रमण विरुद्ध लड्छन् । एक जना मानिसलाई यो खोपको दुई मात्रा चारदेखि १२ साताको फरकमा दिइन्छ र यसलाई २ देखि ८ डिग्री सेल्सीअस तापक्रममा सुरक्षित राख्न सकिन्छ ।

त्यो तापक्रम भनेको सामान्य फ्रिजको तापक्रम हो र यसलाई अन्य खोप सरह दिन सकिन्छ । यसकारण यो अन्य केही खोपभन्दा ओसारपसार र वितरणका लागि सहज छ । फाइजर–बायोएनटेकले बनाएको खोपलाई माइनस ७० डिग्री सेल्सीअस तापक्रममा राख्नुपर्छ र धेरै यताउता गर्न मिल्दैन जसले यो नेपाल र भारतजस्ता देशका लागि चुनौतीपूर्ण छ ।

कोभिशील्ड कति प्रभावकारी छ ?
अन्तर्राष्ट्रिय क्लिनिकल परीक्षणमा यो खोप पुरै मात्रामा दिइएको अवस्थामा ९० प्रतिशतसम्म प्रभावकारी देखिएको छ । तर आधा मात्रा वा पूरा मात्राको अवधारण स्पष्ट पार्ने तथ्याङ्क उपलब्ध नभएको बताइएको छ ।

तर अप्रकाशित तथ्याङ्क अनुसार दुई मात्राको बीचमा जति लामो समय भयो खोप त्यति प्रभावकारी हुने देखिएको छ । त्यस्तो तरिकाले दिइएको अवस्थामा पहिलो मात्रापछि मात्रै पनि ७० प्रतिशत प्रभावकारी देखिएको बताइएको छ । सिरम इन्स्टिट्यूटले ब्रजिल र यूकेमा गरिएको परीक्षणको तथ्याङ्क अगाडि सारेर कोभिशील्ड अत्यधिक प्रभावकारी रहेको दावी गरेको छ ।

तर भारतको बिरामी अधिकारकर्मीको समूह अल इन्डिया ड्रग एक्सन नेटवर्कले यसको अनुमति प्रक्रिया हतारमा गरिएको र भारतमा यसको आवश्यक परीक्षण नभएको बताउँदै आएको छ । कम्पनीले खोपको भारतीय परीक्षण फेब्रुअरीमा गर्ने बताएको छ । तर केही विज्ञले अन्य देशमा गरिएको परीक्षण अनुसार काम नगर्ने सम्भावना कम भएको बताउँछन् ।

भारतले नेपाल, भुटान, मालदिभ्स, बाङ्गलादेश, म्यानमार र सेसल्समा यो खोप पठाइसकेको छ । श्रीलङ्का, अफगानिस्तान र मरिशसमा पनि त्यहाँको औषधि नियामकले अनुमति दिएपछि पठाइने बताइएको छ । भारतीय विदेश मन्त्रालयले देशभित्रको आवश्यकता र अन्तर्राष्ट्रिय माग हेरेर संसारभरि खोप पठाउने बताएको छ । –बीबीसीको सहयोगमा

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस