मध्यपहाडी लोकमार्गको बन्द हट्यो, यातायात नियमित सञ्चालन

पर्वत । दैनिक साढे तीन घण्टा बन्द हुँदै आएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सोमबारदेखि नियमितरूपमा सञ्चालन भएको छ । सडक चौडा बनाउन दैनिक तीन घण्टा बन्द गरिए पनि सोमबारदेखि यातयात सञ्चालन गरिएको हो । यसअघि हरेक दिन दैनिक बिहान ११ देखि दिउँसो २:३० बजेसम्म यातायात बन्द हुँदै आएको थियो ।

राष्ट्रिय गौरवको आयोजनाको पर्वत खण्डमा पर्ने कुश्मा नगरपालिका-८ चुवाको भिरमा कटान गर्न तीन हप्ताका लागि सडक बन्द गरिएको थियो । निर्माणकार्य पनि अघि बढाउँदै अवरुद्ध सडक पनि सञ्चालन गरिएको सडक निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्शन कम्पनीले जनाएको छ ।

सडक चक्लाबन्दी गर्ने काम भने अहिलेसम्म ३० प्रतिशत मात्रै सकिएको छ। लामो समयसम्म सडक बन्द गरिरहँदा समस्या हुने भएकाले तीन हप्तापछि सञ्चालन गरिएको र केही हप्तापछि बन्द गरेर बाँकी खण्ड पूरा गर्ने योजना रहेको कम्पनीले जनाएको छ । ‘केही समय बन्द खोलेर पनि काम गर्छौँ, नसकिएको खण्डमा पछि बन्द गरेर पनि पूरा गर्ने योजना बनाएका छौँ’, कम्पनीका प्रतिनिधि राजाराम आचार्यले भने ।

लोकमार्गको पर्वत खण्डमा पर्ने कुश्मा नगरपालिका-७ खरेहाबाट वडा-८ को दोबिल्लाबीचको भिरमा सडक फराकिलो बनाउने तथा कतिपय ठाउँमा सुधार र कालोपत्रको काम चलिरहेको छ । कालोपत्रको काम चलिरहेका ठाउँमा समस्या नहुने भए पनि भिर कटान गर्नुपर्ने ठाउँमा सवारी सञ्चालनमा रहँदा दुर्घटना जोखिम हुने भएका कारण यसअघि बन्द गरिएको थियो ।

कम्पनीले मोदीखेतबाट ओढारेसम्म कालोपत्र विच्छ्याउने काम गरेको छ भने चुवा र छमर्केबाट पनि कालोपत्रको काम थालेको जनाएको छ । आयोजनाको २३ किलोमिटर पर्वत खण्ड आगामी असारसम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचन : भोलि इलाम र बझाङमा यातायात बन्द

काठमाडौं । शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सवारीसाधनको व्यवस्थापनका लागि निर्वाचन आयोगले विभिन्न …

प्रतिकृया दिनुहॊस