छातीको समस्या जुनसुकै मौसममा देखा पर्न सक्छ

स्वास्थ्य

डा.प्रशान्त रिजाल, बरिष्ठ बालरोग तथा छातीरोग विशेषज्ञ
लामो समयदेखि चिकित्साक्षेत्रमा अहोरात्र खटिएका बरिष्ठ बालरोग तथा छातीरोग विशेषज्ञ डा.प्रशान्त रिजाल विराटनगरमा जन्मिएका हुन् । डा.रिजालले मनीपाल कलेज अफ मेडिकल साइन्स पोखरामा मेडिकल साईन्सको अध्ययन गरेपछि २०६७ सालमा इन्डियाको मनीपालबाट एमडी र २००४ मा बच्चाहरुको छाती सम्बन्धी अध्ययन दिल्लीको सरग्राम अस्पतालबाट गरेका छन् ।
नेपाल मेडिकल कलेजमा एसोसियट प्रोफेसरकारुपमा कार्यरत डा.रिजाल ग्रान्डी अन्तराष्र्टि«य अस्पतालमा पेडियाट्रिक पल्मोनोलोजिस्ट छन् । विभिन्न प्राईभेट क्लिनिकमा कार्यरत डा.रिजाल एपोलो पोलीक्लिनिक मैतिदेवीमा पनि आवद्ध छन् । रातदिन विरामी बालबालिकाको उपचारमा खटिनुपर्ने भएकाले आफ्नो सम्पूर्ण जीवननै यसैमा व्यतित भएको उनी धारणा राख्छन् । बालरोग तथा छातीरोग विशेषज्ञ डा.रिजालसँग छातीरोगका लक्षण, जटिलता र बच्ने उपायहरुका बारेमा नवीन सन्देशका सम्पादक कल्पना शर्माले गरेको कुराकानी

तपाई बालरोग तथा छातीरोग विशेषज्ञ हुनुहुन्छ ? बालबालिकामा छातीको संक्रमणका लक्षणहरु के के हुन ?
बालबालिकाहरुको स्वास्थ्य एकदमै जटिल हुन्छ । उनीहरुले आफ्ना समस्या अभिव्यक्त गर्न नसक्ने भएकाले हामीले उनीहरुको स्वास्थ्य अवस्था कस्तो छ त ? भनेर थाहा पाउनुपर्छ । बालवालिकालाई लाग्ने गम्भीर खाले रोगहरुमा छातीको संक्रमण पनि पर्ने गर्दछ । यसका लक्षणहरु रुघाखोकी, ज्वरो आउने, सास फेर्न गाह्रो हुने, छिटो छिटो सास फेर्ने, कोखा हान्ने, बच्चा निलो हुने, आमाको दुध नखाने लगायतका प्रमुख लक्षणहरु देखा पर्दछन ।

के कारणले बालबालिकाको छातीमा संक्रमण हुन्छ ?
बालबालिका एकदमै कोमल हुन्छन् । उनीहरुको रोगसँग लड्न सक्ने क्षमता कमजोर हुन्छ । सामान्यतया छाती संक्रमण सुक्ष्म किटाणूहरु जस्तै विभिन्न ब्याक्टेरिया, भाइरस वा फंगस, चिसोपन, धूलोधुवाँले गराउँछ ।

कतिदेखि कति वर्षसम्मका बच्चाहरुलाई छातीमा संक्रमण हुने गर्छ ?
बच्चाहरुको विशेषत छातीमा संक्रमण हुने गर्छ । उमेरको कुरा गर्नुपर्दा खासगरी ६ देखि ९ महिनासम्मका बच्चालाई छातीमा संक्रमण बढी हुने गर्छ ।

कुन मौसममा यस्तो संक्रमण बढी देखापर्छ ?
छातीको समस्या जुनसुकै मौसममा पनि देखिन सक्छ । तथापि धेरै गर्मी र धेरै चिसोमा यो रोगमा किटाणु बढी सक्रिय हुन्छन ।

यसबाट कसरी बच्न सकिन्छ त ?
रोगवाट कसरी बच्न सकिन्छ भन्दा पनि रोग लाग्नै नदिनु बुद्धिमानी हुन्छ । मुख्यतया चिसो, धूलोधुवाबाट जोगिनुपर्छ । धेरै मानिसको भीड हुने ठाउँमा बालबालिकालाई सकेसम्म लानुहुँदैन । यदि घरमा कसैलाई रुघा लागेको छ भने बच्चाहरुलाई रोगीको छेउमा राख्नु हुँदैन । अरुलाई सर्न नदिन रोग लागेका व्यक्तिले मास्कको प्रयोग गर्नुपर्छ ।

छातीमा संक्रमण भएपछि आस्थामा रोग लाग्छ भनिन्छ, यो कस्तो प्रकारको रोग हो ?
पछिल्लो समय आस्थमा रोगका विरामीहरु बढ्दैछन् । आस्थमा विभिन्न प्रकारका हुन्छन् । एउटा मौसमी आस्थमा हुन्छ र यो त्यति जटिल हुदैन तर कुनै आस्थमा जटिल पनि हुन्छ । बच्चालाई छातीको संक्रमण तीन चोटी भन्दा बढी देखिएमाा आस्थमा रोग लाग्ने संभावना प्रवल हुन्छ ।

आस्थमा रोगका लक्षणहरु कस्ताकस्ता हुन्छन ?
आस्थमा जटिल प्रकारको छाती रोग हो । यसका लक्षणहरुमा सुख्खा खोकी लाग्नु, सानो बच्चा रुदाँ कराउदा खोकी लाग्नु, दौडिदा खोकी लाग्नु, रातको समयमा बढी खोकी लाग्नु, चिसो हुदाँ खोकी लाग्नु, ज्वरो नआउने तर खोकी लाग्ने लगायतका लक्षणहरु देखा पर्छन ।

आस्थमा संक्रमण भएकाहरुको संख्या कति छ ?
नेपालमा हरेक वर्ष २ प्रतिशत आस्थमाका रोगीहरु भेटिन्छन् भने विश्वमा
७ देखि ८ प्रतिशत बालबालिकालाई आस्थमाले आक्रमण गर्ने गर्छ ।

बालबालिकालाई धेरैजसो सताउने निमोनिया कस्तो प्रकारको रोग हो ?

बालबालिकालाई लाग्ने निमोनिया जटिल प्रकारको रोग हो । यसको सुरुवाती अवस्थामै पहिचान भयो भने निको हुन समय लाग्दैन । यदि ढिला गरी पहिचान भए निको हुन समय लाग्ने र ज्यानै पनि जान सक्छ । ५ वर्ष मुनिका बच्चाहरुलाई निमोनियाको समस्या बढी हुने गर्छ । फोक्सोमा भाइरस, ब्याक्टेरीया लगायतका किटाणुले संक्रमण गरेको अवस्थालाई निमोनिया भनिन्छ ।

यसका लक्षणहरुका बारेमा भनिदिनुहोस न ?
निमोनिया बालबालिकालाई लाग्ने रोगहरुमा जटिल प्रकारको रोग भएकाले यसका लक्षणहरुका बारेमा अभिभावक जानकार हुनुपर्छ । यदि लक्षणहरु देखा परेमा तुरुन्तै अस्पताल लगिहाल्नुपर्छ । निमोनिया भएमा रुघाखोकी, ज्वरो आउने, सास फेर्न गाह्रो हुने, छिटो छिटो सास फेर्ने, कोखा हान्ने जस्ता लक्षणहरु देखापर्छन ।

बालबालिकालाई छातीसम्बन्धि विभिन्न रोग लाग्ने गर्छन, यसका जटिलताहरु के के हुन्छन् ?
बालबालिकाहरु एकदमै कोमल हुन्छन । उनीहरुलाई कुनैपनि प्रकारका रोगले छिट्टै आक्रमण गर्ने गर्छ । त्यसमध्मे छातीसम्बन्धि संक्रमणले उनीहरुलाई धेरैजसो सताउँछ । यसका जटिलताहरुमा आस्थमा, निमोनिया, टि.वी लगायतका हुन । यदि समयमै उपचार सुरु गर्न सकिएन भने जटिल स्वास्थ्य समस्या देखा पर्नुका साथै ज्यानै पनि जान सक्छ ।
तस्वीर, रश्मी महत

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

रोवोटिक सर्जरीले पाउँदै नयाँ अनुहार

काठमाडौं । भारतको बिहारका डा.आशिष सिंहको चर्चा विश्वभर फैलिँदै गएको छ । उनीसँग उपचारका लागि …

प्रतिकृया दिनुहॊस