पानीको स्रोतको खोजी र संरक्षण शुरु

काठमाडौं । मेलम्चीको पानी ल्याउने तयारी अघि बढिरहँदा काठमाडौं उपत्यकामा नै भएका स्रोतको खोजी र संरक्षण शुरु भएको छ । पहिलो चरणको पानी आगामी असार मसान्तसम्ममा आउँदा त्यसको व्यविस्थत वितरणको तयारीसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाभित्रको स्रोत संरक्षणमा समेत ध्यान दिन थालेको हो । उपत्यकाभित्रको पानीको परिमाण बढाउन अहिले १२ स्थानमा ट्युबवेल खन्न शुरु गरिएको लिमिटेडले जनाएको छ ।

उपत्यकाका तीनै जिल्लामा यसअघि गरिएको अध्ययनका आधारमा खन्ने काम भइरहेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । उनले भने, “हामीले ठेक्का सम्झौतामार्फत खन्न शुरु गरिसकेका छौँ ।” यसरी ट्युबवेलबाट झण्डै डेढ करोड लिटर खानेपानी थप हुने विश्वास गरिएको छ ।

मेलम्चीको पानीसँगै उपत्यकाभित्रको पानी थप हुँदा पानीको माग बढिरहे पनि त्यसलाई सम्बोधन हुने बताइएको छ । अन्यत्रबाट पानी ल्याउने मात्रैभन्दा भएका स्रोेतको संरक्षण र उपत्यकाभित्रै खानेपानीको नयाँनयाँ स्रोतको पहिचानलाई प्राथमिकता दिइएको प्रमुख कार्यकारी अधिकृत शाक्यले जानकारी दिए ।

लिमिटेडले उपत्यकाभित्रको मुहानको दिगो संरक्षणकै लागि भनी गुरुयोजनासमेत बनाउँदैछ । यसमा भइरहेका मुहानको संरक्षणसँगै नयाँ मुहानको खोजी र तिनको उपयोगसमेत रहेको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । लिमिटेडले गुरुयोजनामार्फत हाल भएका पानीको संरक्षण गरी पानीको स्रोत घट्न नदिने र उपत्यकाभित्र थप पानी उत्पादनको योजना समेट्नेछ ।

खानेपानीलाई संविधानले साझा अधिकारका रूपमा व्यवस्था गरेको छ । कसको अधिकार के हो र जिम्मेवारी के भन्ने कुरामा अझै अन्योल पाइन्छ । हाल खानेपानीसम्बन्धी विधेयकमाथि प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा छलफल भइरहेको छ । विधेयकले खानेपानी क्षेत्रमा रहेका धेरै अन्योल हटाउने उनको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस