नेपाल-दार्जिलिङ समसामयिक साहित्य-सङ्गीत-नाटक विमर्श सम्पन्न

काठमाडौँ । नेपाल-दार्जिलिङ समसामयिक साहित्य-सङ्गीत-नाटक विमर्शको कार्यक्रम राजधानीको अनामनगरमा शुक्रबार सम्पन्न भएको छ । चिण्डो बुक्सको आयोजना र दार्जिलिङस्थित साउथफिल्ड कलेजको सहआयोजनामा कार्यक्रम गरिएको हो।

विमर्शमा दार्जिलिङबाट श्रष्टाहरु प्रा. धनकुमार देवान, प्राध्यापक तथा समालोचक सदीप प्रधान र कलाकार तथा साहित्यकार पुष्कर सिङ्गर सहभागी थिए । विमर्शमा नेपालबाट लेखक तथा निर्देशक प्रकाश आङदेम्बे र कलाकार संगीता थापा सहभागी थिए ।

विमर्शमा दार्जिलिङका तर्फबाट सहभागी प्रा. धनकुमार देवानले दार्जिलिङ र नेपालको सामाजिक, राजनीतिक परिस्थिति फरक भएतापनि नेपाललाई दार्जिलिङबासीले सम्झिरहने गरेको बताए । दार्जिलिङमा जातीय अस्मिताको सवाल प्रखर रुपमा आएकाले त्यस्तै प्रकृतिका नाटकहरु त्यहाँ प्रदर्शन हुने गरेको अनुभव सुनाए ।

प्राध्यापक तथा समालोचक सदीप प्रधानले नेपालकोजस्तो नाटक र साहित्यको लोभलाग्दो माहोल दार्जिलिङमा नभएको बताए । नाटक प्रदर्शनी र साहित्यमा पहिलाको दार्जिलिङ निकै सक्रिय भएतापनि अहिले नेपालको तुलनामा दार्जिलिङमा यस्ता गतिविधिहरु थोरै हुने गरेको उनले बताए ।

कलाकार तथा साहित्यकार पुष्कर सिङ्गरले नेपाल र दार्जिलिङबीच रगतको साइनो भएको, भाषिक निकटता र दार्जिलिङ भारतको एउटा सानो हिस्सामात्रै भएका कारण भारतमा स्थापित हुन विभिन्न अप्ठ्यारा चरणहरु पार गर्नुपर्ने भएकाले दार्जिलिङबासीले नेपाललाई कर्मथलो बनाउन सजिलो भएको बताए ।

विमर्शमा नेपालका तर्फबाट सहभागी लेखक तथा निर्देशक प्रकाश आङदेम्बेले नेपाल र दार्जिलिङ भावनात्मक रुपमा उस्तै भएको बताए । नेपाली साहित्यमा दार्जिलिङले उल्लेखनीय योगदान गरेकोपनि उनले बताए । नेपालले दार्जिलिङलाई र दार्जिलिङले नेपाललाई बुझ्ने सवालमा बिनापूर्वाग्रह बुझिदिनपनि उनले आग्रह गरे ।

कलाकार संगीता थापाले आफ्नो कलाकारिताको अनुभव सुनाउँदै नेपालमा कलाकारिता गरेर बाँच्ने माहोल बनिसकेको बताइन् । चिण्डो बुक्स र साउथफिल्ड कलेजको संयुक्त आयोजनामा नेपाल र दार्जिलिङमा साहित्य, सङ्गीत र नाटकमा आधारित विभिन्न कार्यक्रम गर्ने दुईवर्षसम्मको सम्झौतापनि शुक्रबार भएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस