कांग्रेस नेताहरू भन्छन्- कांग्रेसलाई जनताको भावनासँग जोड्न हिन्दुराष्ट्रको प्रस्ताव (भिडियोसहित)

  • डम्मर बम

काठमाडौं । कांग्रेसको जारी महासमितिमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुराष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव पेस भएको छ । फाल्गुन ७ गते देखि ललितपुरको गोदावरीमा सुरु भएको नेपाली काँग्रेसको महासमिति बैठकमा महासमिति सदस्यहरूले सो हस्ताक्षर अभियान चलाएका थिए ।

सनातन हिन्दुराष्ट नेपाल स्थापना महाअभियानले शुरु गरेको हस्ताक्षर संकलन अभियानमा उपस्थित १ हजार ९ सय १५ जना महासमिति सदस्यहरू मध्ये १ हजार ६१ जनाले र १ हजार पाँच सय पार्टी सदस्यहरूले हस्ताक्षर गरेका छन् । पार्टीको मूल एजेण्डाका रूपमा लैजानु पर्ने माग सहित सङ्कलित हस्ताक्षर नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा दर्ता समेत गरिएको छ । शंकर भण्डारी नेतृत्वमा रहेको सो महाअभियानमा पार्टी ४१ जना केन्द्रीय सदस्य संलग्न रहेका छन् ।

हिन्दु राज्यको मुद्दाबारे बोल्दै विश्व हिन्दु महासंघका केन्द्रीय महासचिव तथा पूर्व महासमिति सदस्य भरतराज पौडेलले महासमिति सदस्य र केन्द्रीय सदस्यहरूले पनि हिन्दू राज्यको मुद्दालाई उत्साहका साथ लिएको बताए । ‘यो राष्ट्र बचाउने महाअभियान हो । काँग्रेसलाई बहुमत दिलाउने महाअभियान हो । नेपालको समृद्धिको दिगो आधार पनि यही हो भन्नेमा महासमिति सदस्यहरू एक मत भएको हामीले पाएका छौँ,’ उनले भने, ‘जबसम्म सनातन हिन्दुराष्ट्र कायम हुँदैन जबसम्म निरन्तर अगाडि बढिरहने छ । राष्ट्रियताको मूल आधार र नेपाली जनताको आस्था निरन्तर अघि बढ्नेछ ।’

कोसी प्रदेशसभा सदस्य तथा महासमिति सदस्य भीम पराजुलीले बहुमतको कदर हुनुपर्ने बताए । ‘बहुमतको कदर हुनुपर्छ । बहुमत महासमिति सदस्यले यो एजेण्डा उठाइरहेका छन्,’ उनले अगाडि भने, ‘जनताको भावना एकातिर छ, कांग्रेस अर्कातिर गए के हुन्छ ? भो यसले सुखद परिणाम ल्याउँदैन ।’

वैदिक सनातन धर्ममान्नेहरु काँग्रेसप्रति रुष्ट रहेको सदस्य पराजुलीले बताए । ‘वास्तवमा वैदिक सनातन धर्म मान्ने जनताहरू काँग्रेसप्रति रुष्ट छन् । ती रुष्ट भएका भावनाहरूलाई जोड्नका लागि पनि काँग्रेसले वैदिक सनातनको धारणालाई आत्मसाथ गर्नुपर्छ ।’

अर्की महासमिति सदस्य उर्मिला थपलियाले लोकतन्त्रलाई खुला रूपमा ल्याउनुपर्छ भनेर अभियानमा होमिएका बताइन् । ‘करिब ८१ प्रतिशत हिन्दुहरूको रहेको देशमा हिन्दुराष्ट्रको बहस पनि गर्न नपाउने भन्ने कुरा भएन । त्यसमा चाहिँ आम जनताको भावनाअनुरूप हामीले बहस गरिरहेका छौँ,’ थपलियाले अगाडि भनिनु, ‘संविधानमा धर्मनिरपेक्ष लेख्दै गर्दा आम जनताको भावनालाई कदर गरेर लेखिएको होइन । अतः यसलाई सुधार्नुपर्छ भन्ने हाम्रो माग हो ।’

महासमिति सदस्य पुष्पकुमार शाहीले संस्कार बचाउन पनि यो एजेण्डालाई स्थापित गर्न आवश्यक रहेको बताएका छन् । ‘२०६३ को आन्दोलन अघि हिन्दुराज्य हुँदै गर्दा पनि कसैलाई विभेद थिएन । मुस्लिम, क्रिश्चियन, बौद्धलगायतको सम्मान नै थियो,’ उनले भने, ‘अब नेपाल हिन्दुराज्य हुँदै गर्दा पनि जसरी नेपाललाई विश्वको सर्वोच्च शिखर सगरमाथाको देश भनेर चिनिन्छ । त्यसरी नै एकमात्र हिन्दु राष्ट्र भनेर बेग्लै परिचय बन्छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो …

प्रतिकृया दिनुहॊस

This will auto close after