फरक ब्लड ग्रुपको मिर्गौला प्रत्यारोपणमा नर्भिक सफल

काठमाडौँ । मिर्गौला प्रत्यारोपण सुरु भएको छोटो समयमै थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले निकै जटिल र दुर्लभ मानिएको एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्टमा सफलता प्राप्त गरेका छन् । फरक ब्लडग्रुपको व्यक्तिलाई फरक ब्लड ग्रुपको व्यक्तिबाट प्राप्त मिर्गौला ट्रान्सप्लान्ट गर्ने जटिल विधि नै एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्ट हो ।

सामान्यतया मिर्गौला प्रत्यारोपणमा मिर्गौला फेल भएको व्यक्तिलाई उसैको ब्लड ग्रुपसँग मिल्ने व्यक्तिले मात्र मिर्गौला दिनसक्ने र त्यस्ता मिर्गौला मात्र प्रत्यारोपण हुँदै आएकोमा नर्भिकमा हालै फरक ब्लड ग्रुपबाट प्राप्त मिर्गौलाको जटिल मानिने प्रत्यारोपण समेत सफलतापूर्वक सम्पन्न भएको हो ।

मिर्गौला रोग विशेषज्ञ डा. आरके अग्रवाल तथा डा. सुमित आचार्य र मिर्गौला प्रत्यारोपण सर्जन डा. राकेश बर्मा लगायतको टिमले निकै दुर्लभ र जटिल मानिएको मिर्गौला प्रत्यारोपण गरेको हो । नर्भिकमा हालसम्म सतप्रतिशत् सफलताको रेटसहित ७ वटा मिर्गौला प्रत्यारोपण भइसकेको छ । त्यसमध्ये छैठौ पटकको प्रत्यारोपण निकै जटिल र दुर्लभ रहेको डा. आचार्यले बताए ।

उनकाअनुसार बिरामीको मिर्गौला प्रत्यारोपण अघि र पछि उसको रगतमा एन्टिबडीको स्तर कम गर्न र दाताको मृगौलालाई अस्वीकार गर्ने एन्टिबडीहरूको जोखिम कम गर्नका लागि विशेष चिकित्सा उपचार विधि अपनाइएको थियो । यस उपचारमा रगतबाट एन्टिबडीहरू हटाउने (प्लाज्माफेरेसिस) गरिन्छ । सामान्य खालको मिर्गौला प्रत्यारोपणको तुलनामा यो जटिल विधि रहेकोले यसको शुल्क भने केही महङ्गो पर्छ ।

मिर्गौला फेल भई नर्भिकमा उपचाररत एक ७२ वर्षीय पुरुष बिरामीलाई ६५ वर्षीया महिला दाताबाट प्राप्त मिर्गौला प्रत्यारोपण गरिएको हो । मिर्गौला प्राप्त गर्ने बिरामीको ब्लड ग्रुप ‘ओ’ थियो भने दाताको ‘ए’ थियो ।

नेपालको सन्दर्भमा यस्तो प्रत्यारोपण निकै दुर्लभ हो । ‘नर्भिकको टिमले जोखिमपूर्ण मानिने यो काममा सफलता प्राप्त गरेको छ ।’ डा. आचार्यले भने–‘जटिल विधिबाट उपचार गरी मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिलाई हामीले ६ दिनमै डिस्चार्ज गरेका थियौं । उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।’

उनकाअनुसार हालसम्म नर्भिकमा मिर्गौला प्रत्यारोपण गरिएका अन्य बिरामीहरुको अवस्था पनि सामान्य रहेको छ । ‘हामी सतप्रतिशत सक्सेस रेटसहित मिर्गौला प्रत्यारोपणमा नयाँ नयाँ आयाम थप्दै अगाडि बढेका छौं ।’ उनले थपे–‘यस्ता हाइरिस्क ट्रान्सप्लान्टका लागि विदेश नै जानुपर्ने बाध्यता अब अन्त्य भएको छ । यो सबै नेपालीका लागि समेत खुशीको कुरा हो ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस