मुक्तिनाथ बैंक मात्रै होइन, एउटा उत्कृष्ट संस्था हो : सिइओ पोखरेल (अन्तरवार्ता)

दोस्रो पटक पनि मुक्तिनाथ विकास बैंकको सिइओ नियुक्त हुनुभयो, कस्तो अनुभव भइरहेको छ ?
मुक्तिनाथ विकास बैंक एउटा संस्थामात्र नभएर मलाई परिवारजस्तो लाग्छ । सिइओको जागिरको एउटा निश्चित अवधि हुन्छ तर यो एउटा यस्तो बैंक हो जहाँ जागिरे सोच भन्दापनि आफ्नोपनको महसुस बढी हुन्छ । सामान्यतया एकपटक सिइओको जिम्मेवारी पूरा गरिसकेपछि दोस्रो पटक दोहोरिने वा संस्थाले दोहोर्‍याउने प्रचलन खासै छैन । त्यो कोणबाट हेर्दा मलाई मुक्तिनाथ परिवारले दिएको माया र भरोसा बहुमूल्य छ ।

दोस्रोपल्ट पनि जिम्मेवारी पाउँदा माया र भरोसासँगै चुनौतीहरु पनि होलान् नि ?
संस्थाको कार्यकारी पद भएकाले बैंकलाई एउटा उचाइमा पुर्‍याउनका लागि पक्कै पनि केही चुनौतीहरू छन् । त्यसलाई राम्रोसँग व्यवस्थापन गर्न सकिन्छ भन्ने आँट र भरोसा पनि छ । मुक्तिनाथ बैंकको पहिलो पटक म सिइओ भएको अवस्थामा भन्दा अहिले वासलातमा सुधार भएको छ । विकास बैंकहरु मध्ये अब्बल छ । यसका सूचकहरू पनि राम्रा छन् । यो बैंक मात्रै होइन, एउटा उत्कृष्ट संस्था हो । विगतदेखि एउटा इतिहास बोकेको र गर्व गर्न लायक संस्थामा दोस्रो पटक पनि आबद्ध हुन पाउँदा अत्यन्तै खुसी लागेको छ । बैंकले गर्व गर्न लायक जुन इतिहास कायम गरेको छ, अब आउँदा दिनमा भने यो सहज पक्कै छैन । तरलताका कारण हाम्रो संस्था मात्रै होइन, समग्रमा अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परिरहेको छ । विदेशी मुद्राको सञ्चितिमा ह्रास, व्यावसायिक गतिविधिमा कमीजस्ता कारणले गर्दा सहज त छैन तर चुनौती भएकै ठाउँमा सम्भावना पनि हुने भएकाले आत्तिनुपर्ने अवस्था छैन ।

समग्र अर्थतन्त्रमा आएको नकारात्मक प्रभाव सबैतिर परेको छ । त्यसबाट हाम्रो बैंक पनि अछुतो छैन तर यो अवस्थामा सुधार हुनेमा म ढुक्क छु । आफू जुन संस्थासँग आबद्ध भइन्छ त्यसकाबारेमा अध्ययन गर्नु स्वाभाविक हो ।

आत्तिनुपर्ने अवस्था छैन भन्नुभयो, सुरुको कार्यकालमा बैंकलाई मसिनो गरी अध्ययन गर्ने मौका पाएर हो ?
मुक्तिनाथ विकास बैंकको आर्थिक पक्षकाबारेमा म राम्रो जानकार छु । यसका बलियो पक्षको अध्ययन गरेको छु । सुधार गर्नुपर्ने ठाउँहरू पनि थाहा पाएको छु । सुधार गरेर अझैँ राम्रो गर्नुपर्ने स्थान पहिचान र समाधानको उपाय पनि सँग छ । समग्र अर्थतन्त्रमा आएको नकारात्मक प्रभाव सबैतिर परेको छ । त्यसबाट हाम्रो बैंक पनि अछुतो छैन तर यो अवस्थामा सुधार हुनेमा म ढुक्क छु । आफू जुन संस्थासँग आबद्ध भइन्छ त्यसकाबारेमा अध्ययन गर्नु स्वाभाविक हो ।

यहाँको करियरको सुरुवात कुन क्षेत्रबाट भएको हो ?
मेरो करियरको सुरुवात नै सन् १९९१ देखि बैंकबाट भएको हो । नवील बैंकमा १९ वर्ष काम गरेँ । नवीलपछि मेगा बैंकको सुरुवाती अवस्थादेखि लगभग ६ वर्षसम्म काम गरेँ । मुक्तिनाथमा करिब एकवर्ष डिसिइओका रूपमा काम गरेपछि सिईओको जिम्मेवारी पाएँ । बैंक परिवारले गरेको विश्वास, माया, सद्भावका कारण फेरी पनि दोस्रोपटक काम गर्ने मौका पाएको छु । यसप्रति म आभारी छु ।

बैंकिङ क्षेत्रमा यति लामो यात्रा गरिरहँदा अरू क्षेत्रको अनुभव लिन मन लागेन ?
रसियनहरूको एउटा भनाइ सापटी लिने हो भने, कुनैपनि चिजमा एकचित्त भएर एकोहोरो लागिरहँदा एकदिन अवश्य आफ्नो लक्ष्यमा पुगिन्छ । आफ्नो रोजाइको क्षेत्रमा निरन्तर राम्रो गर्दै अगाडि बढ्ने हो भने पक्कै पनि सफलता मिल्छ । म यसमा सहमत छु । ३१ वर्षदेखि निरन्तर बैंकिङ क्षेत्रमै आफ्नो ऊर्जा र शक्ति लगाएकाले त आज म यो स्थानमा आइपुगेको छु । साइन्सको विद्यार्थी भएकानाताले सुरुमा प्रोफेसर बन्ने रहर थियो । तर बैंकमा प्रवेश गरेपछि कामसँगै अवसर पनि पाउँदै गएँ । कामसँगै खुसी पनि मिल्दै गयो । यो क्षेत्रमा लागेसँगै व्यक्तिगत मात्रै होइन धेरैको जीवनमा परिवर्तन ल्याउन सकेकोमा अति नै खुसी छु ।

ध्यान गर्ने, धर्म कर्ममा रुचिभएका आध्यात्मिक सिइओका रूपमा पनि यहाँ परिचित हुनुहुन्छ नि ?
भाग्य सबैले खोज्छन् । भाग्यसम्म पुग्ने सुरुवाती बिन्दु विचार हो । विचारबाट कर्म बन्छ । कर्मबाट बानी बन्छ । बानीबाट संस्कृति बन्छ । संस्कृतिबाट मानिसको चरित्र बन्छ । चरित्रबाट भाग्य बन्छ । मैले करिब २२ वर्ष अगाडिदेखि ध्यान गर्दै आएको छु । ध्यानमा बसिसकेपछि फरक अनुभूति हुन थाल्यो । यसले सोच्ने र काम गर्ने तौर तरिकामा फरकपन ल्याउँछ । तपाइलाई ऊर्जा मिल्छ । दोहोरो चरित्रको होइन, हामी बाहिरबाट जे हो नि भित्रबाट पनि त्यही हुनुपर्छ भन्ने मलाई लाग्छ । म प्रत्येक दिन बिहान ध्यान र योग दुवै गर्छु । यी दुबै चिजबाट मैले शान्ति र एकाग्रता पाउँछु । सफल जीवनका लागि ध्यान र योगा अति आवश्यक छ ।

बैंकिङ करियरका क्रममा कुनै अविस्मरणीय क्षण छन् ?
सन् १९९८ मा वीरगन्ज नजिकैकाे शाखामा ब्रान्च मेनेजरका रुपमा कार्यरत थिएँ । बैंकमा ८-१० जनाको समूह थियो । हामीले त्यो बेला खराब कर्जा जिरो गरेका थियौँ । साधारणतया बैंकमा खराब कर्जा जिरो हुँदैन । हाम्रो समूहले बैंकमा गरेको मेहनतको केन्द्रीय कार्यालयमा नोटिस भयो । सोही सूचनाका आधारमा अडिट भयो । जून सत्य साबित भयो । वीरगञ्जमा शाखा प्रमुखका रुपमा काम गरिरहेको मलाई काठमाडौँ आएर काम गर्ने अवसर मिल्यो । त्यो नै मेरो जीवनको ‘टर्निङ पोईन्ट बन्यो ।’ नवील, मेगाजस्ता ठूला र ब्राण्डेड बैंकमा काम गर्ने अवसरसँगै मेरो करियरमा पनि ‘यु टर्न’भयो ।

स्वदेशी उत्पादनलाई बढवा दिन सक्ने हो भने हामी आत्मनिर्भर बन्न सक्छौँ । मुक्तिनाथ बैंक पनि उत्पादनशील क्षेत्रमा लगानी गर्न तत्पर छ । अब सहुलियत होइन, व्यावसायिक कृषि कर्जामा फोकस गर्नुपर्छ । देशमा आयात कम र निर्यात धेरै गर्ने वातावरण बनाउन सबै एकजुट हुनुपर्छ ।

बैंंकहरुको भीडमा मुक्तिनाथ कुन हिसाबमा फरक छ ?
२०६३ मा स्याङ्जाको पुतलीबजारमा जन्मेको यो बैंकले लघुवित्तका रूपमा काम गर्‍यो । महिला दिदीबहिनीहरूको आर्थिक अवस्था समुन्नत गर्नका लागि योगदान गरेर बैंक सफलतातर्फ अगाडि बढेको हो । पुरुषको लामो आयुका लागि महिलाहरूले सिन्दूर र पोते लगाउने हाम्रो हिन्दु संस्कारमा छ तर त्यही सिन्दूरपोते किन्नका लागि पनि श्रीमान्को भर पर्नुपर्ने बाध्यता थियो । यो अवस्थाले मलाई निकै पिरोल्थ्यो । महिला दिदीबहिनीको आर्थिक अवस्था सुधारका लागि विना धितो ऋण दिने काम गरेको र विकास बैंकको अवधारणालाई भन्दा पनि लघुवित्तको काम गर्ने यो संस्थाप्रति मेरो उच्च सम्मान छ । मेरो जीवनमा यो बैंकको फरकपनकै कारण ठूलो महत्त्व छ । शहर केन्द्रित र समुन्नत आर्थिक अवस्था भएकाहरूका लागि बैंकहरु सहज भएतापनि कमजोर आर्थिक अवस्था भएकाहरूको पक्षमा मुक्तिनाथ रहेकाले अन्य भन्दा फरक छ ।

बैंकको वित्तीय अवस्था कस्तो छ ?
चैत्र मसान्तमा प्रकाशित वित्तीय विवरण अनुसार निक्षेप १ खर्वभन्दा बढी छ । लोन ९० अर्वभन्दा धेरै छ । तरलताको यो चापमा नेपाल राष्ट्र बैंकले तोकको सूचकअनुसार नै छ । हाम्रो बैंकलाई तरलताले खासै असर गरेको छैन । लगानी गरिराखेका छौँ । संस्थागत सुशासनमा हामी अगाडि छौँ । नीति नियम भित्रै रहेर काम गरिराखेका छौँ । प्रणालीमा बसेर काम गर्ने भएकाले रेटिङमा पनि बैंकको अवस्था राम्रो छ ।

यो क्षेत्रमा लामो समयदेखि आबद्ध हुनुहुन्छ, परिवारको कत्तिको साथ र सहयोग पाउनु भएको छ ?
मेरो परिवारमा महत्त्वपूर्ण सदस्य मेरो श्रीमती हुनुहुन्छ । बैंकिङ करियरमा अगाडि बढ्नका लागि उहाँको ठूलो योगदान छ । एकजना छोरा छन् । हामी कहाँ ध्यान, योग गर्ने चलन छ । हामी मध्यम वर्गीय परिवारबाट आएका हौ । आफू अनुशासनमा बसियो भने बच्चाहरूले पनि सोही कुरा सिक्छन् । परिवार अनुशासित भयो भने समाजसँगै राष्ट्रलाई पनि राम्रो सन्देश मिल्छ । परिवारको साथ र सहयोगकै कारण आज म यो स्थानमा छु । मुक्तिनाथ बैंकपनि मेरो परिवार नै हो ।

अन्त्यमा केही छुटेको छ ?
हाम्रो देश प्राकृतिक हिसाबले अतिनै राम्रो छ । विश्वका विकसित देशहरूले पानीको अभावका कारण समस्या भोग्दै आएका छन् । हामीले हाम्रो पानीलाई राम्रोसँग सदुपयोग गर्न सक्ने हो भने हाइड्रोपावरका माध्यमबाट आर्थिक रूपमा बलियो बन्न सक्छौँ । घुम्न विदेश जानै पर्दैन । हाम्रा डाँडा, पाखा, पखेरा नै यति सुन्दर छन् की विदेशी पर्यटकलाई बोलाएर मनग्य धन कमाउन सक्छौँ । अर्को महत्त्वपूर्ण पक्ष भनेको उत्पादन हो । जीडीपीको २३-२४ प्रतिशत कृषिले धानेको छ । उद्योगले १०-१२ प्रतिशत थेगेको छ । करिब ६० प्रतिशत सेवाले धानेको छ । स्वदेशी उत्पादनलाई बढवा दिन सक्ने हो भने हामी आत्मनिर्भर बन्न सक्छौँ । मुक्तिनाथ बैंक पनि उत्पादनशील क्षेत्रमा लगानी गर्न तत्पर छ । अब सहुलियत होइन, व्यावसायिक कृषि कर्जामा फोकस गर्नुपर्छ । देशमा आयात कम र निर्यात धेरै गर्ने वातावरण बनाउन सबै एकजुट हुनुपर्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हामी यस्तो भूगोलमा छौँ की यहाँ जुनसुकै बेला पनि ठूलो भूकम्प जाने सम्भावना छ : वरिष्ठ भूकम्पविद् डा. अधिकारी (अन्तर्वार्ता)

खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्पीय उच्च जोखिममा रहेको बताउँछन् । उनका अनुसार, नेपालमा एउटै भूकम्प पूर्वदेखि पश्चिमसम्म गएको छैन । पूर्वमा १९९० सालको भूकम्प गएपछि २०४५ सालमा एउटा छुट्टै प्रकृतिको भूकम्प गयो र त्यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन । नेपालको मध्य क्षेत्रमा २०७२ वैशाखमा गयो र पश्चिम नेपालमा ठूलो भूकम्प सम्भावना छ ।

प्रतिकृया दिनुहॊस