घाँस काटेँ, गोबर सोहोरेँ तर पढ्न छोडिन : मुख्यसचिव गड्तौला

काठमाडौं – निजामती सेवाको उच्चतम पद मुख्यसचिवमा लीलादेवी गड्तौला बढुवा भएकी छन् । बढुवासँगै उनले मुख्यसचिव हुने मुलुककै पहिलो महिलाको इतिहास पनि रचेकी छन् । निजामती प्रशासनको ६९ वर्षे इतिहासमा लगातार २६ पुरुष मुख्यसचिव थिए, लीलादेवी सत्ताइसौं मुख्यसचिव हुन् ।

कायम मुकायम मुख्यसचिवको जिम्मेवारीमा रहेकी लीलादेवीलाई बिहीबारको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवमा बढुवा गरेको हो । तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेपछि सरकारले गत असार ९ मा वरिष्ठ सचिव लीलादेवीलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको थियो । मुख्यसचिव रिक्त भए वरिष्ठ सचिवले स्वतः निमित्त पाउने व्यवस्था छ ।

राजनीतिक समीकरण परिवर्तन भएर केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि गत असार ३१ मा लीलादेवीलाई नै कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । ५८ वर्षे उमेर हदका उनी आगामी भदौ १५ मा अवकाशमा जानेछिन् । छोटो समयमा आफूले जति सकिन्छ, परिणाम देखिने गरी मिहिनेत र इमानदारीपूर्वक काम गर्ने मुख्यसचिव लीलादेवीको अठोट छ ।

थप जिम्मेवारी बोध भएको महसुस
मुख्यसचिवमा नियुक्त भएपछि उनले प्रधानमन्त्री ओलीप्रति आभार व्यक्त गरिन् । ‘मन्त्रिपरिषद्ले गरेको निर्णयसँगै मलाई थप जिम्मेवारी बोध भएको महसुस भएको छ । नेपालको इतिहासमा सायद भाग्य र कर्म दुवैले हुनुपर्छ, पहिलो महिला मुख्यसचिव हुन र देशको नाम राख्न मलाई अवसर प्राप्त भयो,’ उनले भनिन्, ‘यसमा मेरो मात्र भूमिका छैन, मलाई कामु मुख्यसचिव बनाउन र मुख्यसचिवको लागि पनि सारा महिलाहरूले अव्यक्त भावनाहरू व्यक्त गर्नु भएको थियो । धेरैले यसपालि महिला मुख्यसचिव दिनुपर्छ भन्नुभएको थियो ।’

आफूले कानुन अधिकृतको रूपमा कानुन मन्त्रालयमा रहँदा ऐन बन्नुपूर्व विधेयकको मस्यौदा बनाउने क्रममा महत्त्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरिन् । सहसचिव भएर निर्वाचन आयोगमा जानुपूर्व निर्वाचन कानुन बनाउन परामर्शदाताहरू हायर गर्ने क्रम रहेको र आफू गएपछि निर्वाचन कानुनको मस्यौदा बनाउन भूमिका खेलेको उनले स्मरण गरिन् । सचिव भएर कुनै मन्त्रालयको नेतृत्व गर्ने चाहना भएपनि त्यो अवसर नपाएको तर अहिले त्यसभन्दा माथि मुख्यसचिवको जिम्मेवारी पाएकोमा उनले खुसी व्यक्त गरिन् ।

मुख्यसचिव गड्तौलाले आफू तेह्रथुम जिल्लाको दुर्गम ठाउँमा जन्मिएको र अहिलेसम्म त्यो ठाउँमा पक्की बाटो नपुगेको उल्लेख गरिन् । ‘घाँस काट्ने काम पनि गरेँ, गोबर सोहोर्ने काम, धान काट्ने कामपनि गरेँ, मकै रोप्ने, कोदो रोप्ने, भारी बोक्ने काम यी सबै काम गरेको हो । घर लिप्नेदेखि सबै काम गरेको हो । तर त्यति गर्दा गर्दैपनि मैले पढ्न चाहिँ कहिलेपनि छोडिन्,’ उनले अगाडि भनिन्, ‘हामीलाई स्कुल जान आउन पनि धेरै टाढा पर्थ्यो । काठमाडौँ आउन ४ दिन लाग्थ्यो । काठमाडौँबाट घरमा चिठी पठाउँदा २२ दिनमा मात्र पुग्थ्यो । त्यति दुःख गरेर पढेर आएको, त्यस गाउँबाट त्यो बेला मैले पढ्दा कोहीपनि छोरी चेली डेरामा बसेर पढेका थिएनन् ।’

को हुन् गडतौला ?
तेह्रथुमको पिप्ले (हाल म्याङ्लुङ-४) मा २०२३ भदौ १५ गते जन्मेकी गड्तौला २०५२ पुसमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन् । सिंह वाहिनी माध्यामिक विद्यालयमा विद्यालय तहको अध्ययन पुरा गरेकी उनले नेपाल ल क्याम्पसबाट आइएल र बीएल उत्तीर्ण गरिन् । काठमाडौँ स्कुल अफ ल बाट ह्यूमन राइट्स एण्ड जेन्डर जष्टिसमा स्नातकोत्तर (एलएलएम) गरेकी गडतौलाले राजनीति शास्त्रमा समेत एमए गरेकी छन् ।

२०६३ कात्तिकमा उपसचिव हुँदै २०७० माघमा सहसचिव बनेकी उनी २०७७ कात्तिकमा नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव) मा बढुवा भएकी थिइन् । २०८१ असार १० गतेदेखि ३० गतेसम्म निमित्त मुख्य सचिव र असार ३१ गतेदेखि कायममुकायम मुख्य सचिव बनेकी गड्तौलाले देवानी संहिता मस्यौदा कार्यदल सदस्य रहेर काम गरेकी छन् ।

करिब १७ वर्ष कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा काम गरेकी उनी विशेषतः विधेयक मस्यौदामा दक्खल राख्छिन् । गृह मन्त्रालय, जलस्रोत मन्त्रालय, ऊर्जा मन्त्रालय, उद्योग मन्त्रालय, परराष्ट्र मन्त्रालय र निर्वाचन आयोगमा समेत काम गरेको अनुभव हासिल गरेकी उनले २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचन अधिकृत भएर काम गरेकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होटलमा २ दिनसम्म थुनेर नाबालिगमाथि सामूहिक बलात्कार

रूपन्देही । बाँकेको कोहलपुरको एक होटलमा लगेर २ दिनसम्म बन्धक बनाई एक नाबालिगलाई सामूहिक बलात्कार …

प्रतिकृया दिनुहॊस