त्रिपक्षीय सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि कोसेढुंगा : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–बंगलादेश र भारतबीचको त्रिपक्षीय ऊर्जा सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोसेढुंगा सावित भएको बताएका छन् ।

बिहीबार नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम भारतबीच भएको त्रिपक्षीय विद्युत् सम्झौता कार्यक्रममा बोल्दै उर्जामन्त्री खड्काले नेपालको उर्जा क्षेत्रमा एउटा महत्त्वपूर्ण कोसेढुंगा सावित भएको बताएका हुन् ।

मन्त्री खड्काले नेपालले इतिहासमै पहिलोपटक जलविद्युत् उर्जा तेस्रो मुलुकमा निर्यात गर्ने भएकाले आजको कार्यक्रम नेपालको उर्जा क्षेत्रमा ऐतिहासिक भएको बताए । “आजको यो उपलब्धि सन् २०१८ देखि नेपाल र बंगलादेशले उर्जा क्षेत्र सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेपछि संयुक्त कार्यदल र संयुक्त सञ्चालन समितिको ६ वटा सफल बैठक तथा त्यसपछिको निरन्तर प्रयासको प्रतिफल हो,” उनले भने ।

मन्त्री खड्काले बंगलादेशको नयाँ अन्तरिम सरकार र बंगलादेशीलाई मुलुक सुधारका एजेण्डामा सफलताको कामना गर्दै बधाई दिए । उनले सन् १९७२ देखि नेपाल र बंगलादेशबीचको कूटनीतिक सम्बन्ध भएदेखि सम्बन्धहरू सुमधुर र प्रगाढ हुँदै आएको उल्लेख गरे । सार्क सदस्य राष्ट्रको रूपमा बंगलादेशले क्षेत्रीय चासोका विषयमा खेल्दै आएको भूमिका सराहनीय रहेको उनको भनाइ छ ।

सम्झौता कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, बंगलादेशका अन्तरिम सरकारका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसन, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवलगायतको उपस्थित भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालबाट ४० मेगावाट बिजुली बंगलादेशमा बिक्री गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपालबाट ४० मेगावाट विजुली बंगलादेशलाई बिक्री गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा आज (बिहीबार) हस्ताक्षर भएको …

प्रतिकृया दिनुहॊस