फाइल फोटो

कामपाले रोक्यो खोप कार्यक्रम : ६०-६१ वर्ष उमेर समूहका नागरिक छुट्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहका लागि दिँदै आएको कोभिडविरुद्धको चिनियाँ खोप भेरोसेल शनिबारदेखि स्थगित गर्ने भएको छ । महानगरको सहरी स्वास्थ्य महाशाखाले शुक्रबार सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलसम्म खोप कार्यक्रम स्थगित भएको जनाएको हो ।

विभागका प्रमुख हरिबहादुर कुँवरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वाथ्य सेवा विभागबाट जेठ २८ गतेबाट भेरोसेल खोप जिल्लालाई छुट्याएको संख्या पूरा भइसकेको सूचना प्राप्त भएकाले जेठ २८ गतेबाट महानगरपाालिकाले १ देखि ३२ वडा वडाहरूमा सञ्चालन गर्दै आएको खोप अभियान अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।’

खोप कार्यक्रम ३२ वटै वडामा खोपकेन्द्र बनाएर लगाउन थालिएको थियो । ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरू यसअघिको कार्यक्रममा छुटेकाले २५ जेठदेखि उनीहरूलाई पहिलो मात्रा दिन थालिएको थियो ।

२५ जेठमै वडाहरूलाई अर्को परिपत्र जारी गर्दै, त्यसअघि तोकिएका (६० देखि ६४ वर्ष उमेर समूह) बाहेक यसअघि खोप लगाउन छुटेका र अहिले बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न र अन्डर जब ट्रेनिङमा रहेका नर्सिङ र प्यारामेडिक्स तथा यसअघि भेरोसेलको पहिलो मात्रा लगाएर दोस्रो मात्रा छुटेकालाई परिचयपत्रका आधारमा खोप लगाउन अनुरोध गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २४ जेठको पत्र उद्धृत गर्दै विभागले वडाहरूलाई आग्रह गरेको थियो ।

‘सरकारले ६५ हजार डोज खोप उपलब्ध गराउँछु भनेपछि खोप लगाउने कार्यक्रम सुरु गरेका थियौँ, अहिले २८ हजारलाई लगाइसकेपछि रोक्नुपरेको छ’, जनस्वास्थ्य प्रमुख कुँवरले भने । अब बाँकीलाई कसरी खोप लगाउने कुनै निश्चित नभएको उनले बताए ।

कार्यक्रमअनुसार काठमाडौं महानगरले गएको मङ्गलवारदेखि पाँच दिनसम्म उमेर समूहअनुसार दिन तोकी खोप कार्यक्रमको तालिका नै सार्वजनिक गरेको थियो । महानगरले बिहीवार (हिजो) सम्म झण्डै २८ हजार जनालाई खोप लगाइएको बताएको छ ।

छुट्ने भए ६० र ६१ वर्ष उमेर समूह
तालिकाअनुसार २५ जेठमा ६४ वर्ष, २६ गते ६३ वर्ष र २७ गते ६२ वर्षका उमेर समूहका लागि खोप दिइसकिएको छ । २८ जेठमा ६१ वर्ष र २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप दिने तालिका थियो ।

तालिकाअनुसार ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिहरू छुट्ने छन् । यसअघि स्वास्थ्य मन्त्रालयको २२ वैशाख र जिल्ला विपद् व्यवस्थापन केन्द्रको २५ वैशाखको निर्णयअनुसार महानगरपालिकासहित २ जेठबाट काठमाडौं जिल्लामा कोभिडविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइएको थियो । ११ जेठसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप करिब एक लाख व्यक्तिले लगाएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस