फ्रान्समा दोस्रो चरणको लकडाउन, घरबाहिर निस्कन कडाइ

काठमाडौं । फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले कम्तीमा नोभेम्बरभरीका लागि दोस्रो देशव्यापी लकडाउनको घोषणा गरेका छन् । शुक्रवारबाट लागु हुने यो नयाँ प्रतिबन्ध अन्तर्गत मानिसहरू अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन पाउने छन् ।

रेस्टुरेन्ट बारहरू बन्द रहनेछन् भने विद्यालय र फ्याक्ट्रीहरू खुलै हुनेछन् । एप्रिल यता फ्रान्समा कोभिडका कारण भएको मृत्यु उच्च तहमा पुगेको छ। मङ्गलवार, ३३,००० नयाँ सङ्क्रमितको सङ्ख्या पुष्टि भएको थियो । माक्रोँले पहिलोभन्दा कोरोनाभाइरसको दोस्रो लहर कठिन हुनेमा कुनै शंका नरहेको भन्दै देशले त्यो खतरा मोल्न नसक्ने बताए ।

यसअघि, जर्मन चान्सलर एंगेला मर्केलले आफ्नो देशले नियन्त्रणका लागि कदम चाल्नुपर्ने र कोरोनाभाइरस फैलिन नदिन देशव्यापी प्रयासहरूको आह्वान गरेकी थिइन् । युरोपेली थुप्रै देशहरूमा सङ्क्रमण तीव्र रुपमा बढिरहेको छ । थुप्रै देशहरूमा रातिको समयमा कर्फ्यू लगाइएको छ। ४ करोड ६० लाख जनसङख्या भएको फ्रान्समा पनि रातिको समयमा कर्फ्यू लगाइएको छ ।

यद्यपि, एकजना मन्त्रीले भने सामाजिक अन्तर्क्रियालाई रोक्न सरकार विफल भएको भन्दै गुनासो गरेका छन् । बुधवार राष्ट्रका नाममा सम्बोधन गर्दै माक्रोँले महामारीको वेगलाई बढ्न नदिन फ्रान्सले अब “निर्मम तरिकाले ब्रेक” लगाउनुपर्ने बताएका छन् ।

उनले कोभिडका बिरामीको चापले फ्रान्सका अस्पतालहरूका सघन उपचार कक्षहरू आधा भरिसकेको बताएका छन् । मार्चमा लगाइएको यसअघिको लकडाउनमा जस्तै यसपटक पनि मानिसहरूले घरबाट निस्किन जायज कारण खुलाएर फारम भर्नुपर्नेछ । सामाजिक भेलाहरूमाथि भने प्रतिबन्ध कायमै छ ।

“वसन्त ऋतुमा जस्तै घरबाट काम गर्न बाहिर जान पाइनेछ, उपचारका लागि डाक्टर कहाँ जान पाइनेछ, आफन्तलाई सहायताका लागि जान पाइनेछ र घर नजिकै हिड्न जान पाइन्छ,” माक्रोँले भने । तर उनले सार्वजनिक सेवा र फ्याक्ट्रीहरू भने खुला नै रहने र अर्थतन्त्र पनि रोकिन नहुने बताएका हुन् ।

लकडाउन डिसेम्बर १ तारिखसम्म लागु हुनेछ र त्यसपछि पन्ध्र-पन्ध्र दिनमा पुन: निर्णय गरिनेछ । राष्ट्रपति माक्रोँले क्रिसमससम्म परिवारका सदस्यहरूले एकअर्कालाई भेट्न सक्ने आशा व्यक्त गरे ।

फ्रान्समा लगाइएको नयाँ प्रतिबन्धमा के-के फरक छन् ?
फ्रान्समा अहिले दैनिक ५० हजार नयाँ सङ्क्रमितहरू देखिएका विवरण छन् र सरकारले राम्ररी व्यवस्था गर्न नसकेको भन्दै आलोचना पनि भएका छन् ।

प्यारिसमा ७० प्रतिशत कोभिड बिरामीहरूले सघन उपचारमा प्रयोग हुने शैय्याहरू भरिएका छन् । बुधवार राष्ट्रपति माक्रोँले घोषणा गरेका प्रतिबन्ध धेरैजसो मार्चमा लगाइए जस्तै नै छन् । ब्यापार व्यवसायका लागि यो अर्को ठूलो धक्का हुनेछ। खासगरी मनोरञ्जनका क्षेत्रहरूलाई यसले असर गर्नेछ ।

वर्षको तेस्रो त्रैमासिकमा अर्थतन्त्र केही उकासिएको भए पनि अब यतिबेलादेखि वर्षको अन्त्यसम्म फेरि असर पर्ने देखिएको छ । सरकारले सन् २०२० मा कुल गार्हस्थ उत्पादनमा १० प्रतिशतले कमी आउने अनुमान गरेको छ । -बीबीसी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस