विश्वबजारमा अब हिमाल अंकित नेपाली चिया

इलाम । नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न ‘नेपाल टी क्वालिटी फ्रम दी हिमालयज’ नामक लोगो कार्यान्वयनमा आएको छ । दुई वर्षअघि नै नेपाल सरकारले मान्यता दिएको लोगो व्यावहारिक रूपमा मंगलबारदेखि उद्यमीलाई प्रदान गरिएको हो ।

सूर्योदय नगरपालिकाको फिक्कलमा आयोजित कार्यक्रमबीच कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले १२ उद्यमीलाई ट्रेडमार्कको प्रमाणपत्र हस्तान्तरण गरे ।

चियाको आफ्नो लोगो (ट्रेडमार्क) कार्यान्वयनसँगै समग्र कृषिजन्य वस्तुको अन्तर्राष्ट्रिय बजारीकरणको ढोका खुलेको मन्त्री भुसालले बताए । राष्ट्रिय चिया तथा कफी विकास बोर्डमार्फत लोगोको व्यावहारिक कार्यान्वयनका लागि आयोजित कार्यक्रममा उनले कृषि क्षेत्रको विकासमा अझै पनि ठोस काम हुन नसकेको स्विकारे । तर सरकारले उत्पादकलाई फाइदा पुग्ने गरी काम गरिरहेको उनको दाबी छ । चिया रोप्न थालेको १ सय ५७ वर्षपछि नेपाली चियाको पहिचान खुल्ने गरी बनाइएको लोगोले चियाको बजार विस्तारमा सघाउनेमा संलग्नहरू आशावादी छन् । ‘समग्र नेपालकै कृषिजन्य उत्पादनमध्ये पहिलो पटक चियाले लोगो प्राप्त गरेको छ,’ उनले भने, ‘अब बिचौलिया प्रवृत्तिको अन्त्य हुनेछ ।’ केही समयमै अदुवाको लोगो सार्वजनिक गरिने मन्त्री भुसालले जानकारी दिए । लोगो कार्यान्वयनमा आउँदैमा बजारको सुदृढीकरण नहुने भन्दै प्रदेश १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले जैविक उत्पादनतर्फ लाग्नुपर्नेमा जोड दिए । लोगो प्राप्त गर्नेमा सन्दकपुर टी, हिमालयन सांग्रिला, जस्विरे टी प्रशोधन उद्योग, गोर्खा टी स्टेट, नेपाल ग्रिन टी एन्ड स्पेसालिटी, ओएसिस टी एन्ड इन्डस्ट्रिज, तारागाउँ टी स्टेट, साखेजुङ हिल रेन्ज चिया, उच्च पहाडी चिया उत्पादक सहकारी संस्था, सगरमाथा टी स्टेट, बोक्रेडाँडा अर्गानिक अर्थोडक्स चिया उद्योग र सिंहदेवी चिया उत्पादक सहकारी संस्था छन् ।

निवेदन परेका ४२ वटामध्ये बोर्डले मापदण्ड पूरा भएका १२ वटा उद्योग र सहकारीलाई लोगो हस्तान्तरण गरेको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिए । नेपाली चियाको प्रवर्द्धनमा सरोकारवाला सबै क्षेत्र एक नभएसम्म उपलब्धि हासिल हुन नसक्ने उनको भनाइ छ ।

#ईकान्तिपुरबाट

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस