सीमामा नेपालीको पीडा : ‘३२ सय तिरेर महाकाली तरे, बीच बाटामै अलपत्र’

बैतडी । भारतसँगको सीमा नाका बन्द गरिएको भएपनि लुकीछिपी आउने क्रममा रोकिएको छैन। महाकाली नदीमा भने ट्युबमार्फत वारपार गराउने क्रम झन बढेको छ।

महाकाली नदीमा पैसा तिरेर ट्युबमा तार्न थालिएको छ। दुई दिन अघि मात्रै दुई हजार भारतीय रुपैयाँ प्रतिव्यक्ति (तीन हजार दुई सय नेपाली) तिरेर महाकाली तरेर आएका दैलेख र मुगुका तीन जना बैतडीमा अलपत्र परेका छन्।

अलपत्र पर्नेमा दैलेखको जामुण्डा बिन्द्रसैनी नगरपालिकाका जनक देवकोटा र रत्न रिजाल तथा मुगुको छायाँनाथ रारा नगरपालिकाका सागर रोकाया रहेका छन्।

भारतको पिथौरागढमा मजदुरी गर्दै आएका उनीहरु शुक्रबार राति ट्युबमार्फत महाकाली नदी तरेर बैतडी पुगेका हुन्। महाकालीमा ट्युब तरेर सदरमुकाम गोठलापानी पुगेपछि लकडाउनका कारण अलपत्र परेको मुगुका सागर रोकायाले बताए। “गोठलापानीमा अहिले सडकपेटीमा बसिररहेका छौँ, लकडाउनले यहाँ खानबस्नसमेत समस्या भएको छ,” उनले भने, “खानबस्नका साथै पानी परिरहेकाले बस्नसमेत निकै गाह्रो भएको छ।”

पिथौरागढबाट हिँडेर सीमानाका पुगेका उनीहरुले आजससम्म पनि भोकै रहेको बताएका छन्। कमाएको पैसा सबै सकिएपछि भोकै रातदिन काट्नुपरेको सागरको भनाइ छ।

उद्धारका लागि प्रशासन र सम्बन्धित स्थानीय तहलाई गुहार्दासमेत केही पहल नभएको उनीहरुको गुनासो छ। स्थानीय प्रशासनसँग घरसम्म पु¥याउन भनेको भए पनि आफ्नै पैसाले जाने भएपछि मात्रै पु¥याउन सकिने नत्र जहाँ हुनुहुन्छ त्यही बस्न भनेको दैलेखका जनक देवकोटाले बताए।

तीन महिनाअघि रोजगारीका लागि पिथौरागढ पुगेका उनीहरु डेढ महिनादेखि लकडाउन हुँदा समस्या भएपछि नेपाल फर्किएका हुन्। “कमाएको सबै पैसा सकिएको छ, आफ्नै पैसाले जान सकिने अवस्था छैन,” दैलेखका रत्न रिजालले भने, “कमाएको चार हजार रहेकामा दुई हजार भारु ट्युब तर्दा सकियो, अब रु ८०० मात्रै बाँकी छ कसरी घर पुुग्नुु।”

बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भने अलपत्र मजदुरको कसरी उद्धार गर्ने विषयमा छलफल जारी रहेको बताए। उनले भने, “अलपत्रको उद्धारका लागि सम्बन्धित स्थानीय तहले पहल गर्नुपर्छ।”

यसअघि बिहीबार र शुक्रबार गरी सुदूरपश्चिमका विभिन्न जिल्लाका २२ जनाको बैतडीबाट उद्धार गरिएको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस