गर्भवती र सुत्केरीको हवाइ उद्धार प्रभावकारी बन्दै

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत हाल कार्यान्वयनमा रहेको दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार र उपचार कार्यक्रम प्रभावकारी बन्दै गएको देखिएको छ ।

सडक सञ्जाल नपुगेको दुर्गम र पिछडिएको क्षेत्रका महिला कार्यक्रमको प्राथमिकतामा परेकाले पनि कार्यक्रम प्रभावकारी भएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गर्ने कार्यक्रम सुरु भएको १३ महिनामा गम्भीर अवस्थामा पुगेका ५३ जनाको ज्यान बचाउन सफल भएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार कार्यविधि २०७५ असोज ३० गते बनेपछि कार्यान्वयनमा आएको बताइन । कार्यक्रमको कार्यविधिअनुसार दुर्गम पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्ने गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य समस्या देखिए यो कार्यक्रम आकर्षित हुन्छ ।

सुविधासम्पन्न अस्पतालमा उपचार नगरिए ज्यान जान सक्ने सम्भावना भएमा स्थानीय वडा अध्यक्ष, उपाध्यक्ष, स्वास्थ्य स्वयंसेविकालगायत स्थानीय स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको सिफारिस र खबरका आधारमा सो मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा गर्भवती वा सुत्केरी महिलालाई तत्काल हवाई उद्धार गरिँदै आएको छ ।

केन्द्रमा राष्ट्रपति उत्थान कार्यक्रम समन्वय एकाइले उद्धारका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ । एक वर्षअघि कार्यविधि बनेपछि गएको पुस ६ गते हुम्ला जिल्लाको २२ वर्षीया नीरा शाहीको पहिलोपटक उद्धार गरेर यस कार्यक्रमको सुरुआत भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस