सुदूरपश्चिममा दशैँअघि ‘फोर जी’ चलाउने टेलिकमको तयारी

डोटी । नेपाल टेलिकमले दशैँअगाडि सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरूमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘फोर जी’ सेवा सञ्चालनको तयारी गरिरहेको छ । दशैँअगावै यहाँका मुख्य बजार क्षेत्रका उपभोक्ताले चौथो पुस्ताको ताररहित दूरसञ्चार सेवा (फोर जी) प्रयोग गर्न पाउने भएका छन् ।

नेपाल टेलिकम दिपायल राजपुर कार्यालयका अनुसार पहिलो चरणमा सुदूरपश्चिम प्रदेशका मुख्य शहरलगायतका ठाउँबाट ‘फोर जी’ सेवा सुरु गरिने भएको छ । नेपाल टेलिकम डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशभरि नै ‘फोर जी’ सेवा सुरु गर्ने तयारीका साथ जुटेको नेपाल टेलिकम दिपायलका निमित्त प्रमुख प्रकाश चौधरीले बताए । उनले भने, ‘हामी सुदूरपश्चिमभरिमा ‘फोर जी’ सेवा सञ्चालनका लागि काम गरिरहेका छौँ, सम्भवतः दशैँअगावै सेवा विस्तार हुनेछ ।’

आउँदो वर्षभित्र देशभर ‘फोर जी’ सेवा पुर्‍याउने सरकारी लक्ष्यअनुसार डोटीको दिपायल तथा सिलगढीमा पनि तीव्ररूपमा काम भइरहेको निमित्त प्रमुख चौधरीले जानकारी दिए । दिपायल टेलिकमले ‘फोर जी’ सेवा सुरु हुने बीटीएस टावरमा एन्टेना, रेडियो युनिट र बेस ब्याण्ड युनिट राख्ने काम भइरहेको जनाएको छ । दिपायल, राजपुर, पिपल्ला र सिलगढीमा उक्त सेवा सुचारु भएपछि अन्य क्षेत्रमा रहेका टावरमा पनि क्रमशः ‘फोर जी’ सञ्चालनका लागि उपकरण र प्रविधि थप्दै जाने टेलिकमको योजना रहेको बताइएको छ ।

‘फोर जी’ सेवा सुरु भएपछि टेलिकमका उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन पाउनेमा यहाँका स्थानीयवासी निकै खुशी भएको जगत पुस्तक भण्डारका सञ्चालक खडकविक्रम शाहीले बताए । उनले भने, ‘फोर जी’ सेवा सुरु भएपछि इन्टरनेट चलाउनेलाई राम्रै हुनेछ, यो खुशीको कुरो हो ।’

‘फोर जी’ सेवालाई मोबाइल ब्रोडब्याण्ड (उच्च गतिको इन्टरनेटसहितको मोबाइल) सेवा मानिन्छ । यो सेवा थ्रीजी सेवाभन्दा उच्च क्षमतायुक्त र तीव्रगतिको इन्टरनेट प्रविधि भएको टेलिकमका प्राविधिकहरू बताउँछन् । यो इन्टरनेटको गति प्रतिसेकेन्ड एक सय मेगाबिट्स (एमबीपीएस) भन्दामाथि हुने गरेको प्राविधिकहरू बताउँछन् । ‘फोर जी’ सेवाका ग्राहकले गुणस्तरयुक्त फोर जी सेवाका लागि खर्च भने केही बढी गर्नुपर्ने टेलिकमका निमित्त प्रमुख चौधरीले बताए । उनले भने, ‘‘फोर जी’ उच्च गतिको इन्टरनेट सेवा हुने भएकाले प्रयोगकर्ताले अहिले चलाइरहेको इन्टरनेटभन्दा केही महँगो रकम तिर्नुपर्ने हुन्छ, इन्टरनेट सुविधा राम्रो छ ।’

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस