नेपालको पानी विदेश निर्यात गर्ने तयारी, सम्भाव्यता अध्ययन हुँदै

काठमाण्डाै । हिमाल र पहाडबाट बगिरहेको पानी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी बिक्री गर्ने योजना बनाउँदै खानेपानी मन्त्रालयले  बृहत अन्तरक्रिया गरेको छ । नेपालको अन्य देशहरुसँग बढिरहेको व्यापार घाटा कम गर्ने र नेपालको पहिचान विश्व बजारमा फैलाउने उद्देश्यले मन्त्रालयले हिमालबाट बगेर आएको ग्लेसियर र स्प्रिङ वाटर निर्यात गर्ने विषयमा बृहत छलफल गरेको हो ।

कार्यक्रममा खानेपानी मन्त्री विना मगरले सन् २०३० सम्ममा सबै नेपालीलाई शत प्रतिशत प्रशोधनसहितको खानेपानीको पहुँच पुर्‍याउने र खेर गैरहेको पानीलाई प्रशोधन गरी विदेश निर्यात गर्ने योजना बनिरहेको बताए । मन्त्री मगरले विश्व बजारमा नेपालको ग्लेसियर र स्प्रिङ वाटरलाई निर्यात गर्ने सम्भावनाको खोजी भैरहेको स्पष्ट पारे ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो पहिलो प्राथमिकता सबै नेपाली नागरिकलाई आधारभूत खानेपानीको पहुँच पुर्‍याउने हो र सँगसँगै हिमालबाट बगेर खेर गैरहेको पानीलाई समेत प्रशोधन गरी विदेश निर्यात गर्ने हो । हामी सबै किसिमका सम्भावनाहरुको खोजी गरिरहेका छौँ । हाम्रो देशको पानी विश्व बजारमा अरु देशको भन्दा राम्रो र स्वच्छ छ । हामी विश्व बजारमा पुरै प्रतिस्पर्धा गर्न सक्छौं ।’

नेपालको पानी विदेश निर्यात गर्ने विषयमा मापदण्ड बनाएर अघि बढ्ने तयारीमा लागेको मन्त्री मगरको भनाइ छ । गुणस्तरमा कुनै सम्झौता नगरी अन्तर्राष्ट्रिय बजारमा पानी बिक्री गर्ने विषयमा सम्भाव्यता अध्ययन भईरहेको उनले जानकारी दिए ।

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियान सफल बनाउन नेपालले पानी निर्यात गरी सम्पन्न बन्न सक्ने धारणा राखे । सचिव शर्माले पानी निर्यात गरी नेपाल धनी हुन सक्ने कुरामा कुनै सन्देह नरहेको बताउनुभयो । ‘पानी निर्यातका लागि अन्तर्राष्ट्रिय बजार कहाँ कहाँ हुन सक्छ, हामी खोजी गर्छौं । हामीले उत्पादन गर्ने पानीको गुणस्तर पुरै सुधार्ने छौं’, सचिव शर्माले भने ।

मन्त्रालयका सहसचिव तेजराज भट्टले नेपालको ग्लेसियर र स्प्रिङ वाटर निर्यात गर्ने विषयमा प्रस्तुति दिएका थिए । भट्टले नेपालको पानी खाडी देशहरुमा बढी माग भएको बताउँदै व्यापार घाटा कम गर्न पानी निर्यात उपयुक्त हुने दृष्टिकोण राखे ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासले विदेश निर्यात गरिने पानीको स्रोतको सम्भावनाको खोजी भैरहेको जानकारी दिए । अबको दुई हप्ताभित्र सम्भाव्यता अध्ययनका लागि सूचना जारी गर्न लागिएको महानिर्देशक दासको भनाइ छ । पूर्व सचिव सुमनप्रसाद शर्माले पानी निर्यात गर्ने अवधारणा राम्रो रहेको बताउँदै यसका लागि संयन्त्र र विधि पहिले नै तयार गर्नुपर्ने सुझाव दिए ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस