काठमाडौं । एशिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आयोगले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) को दर सन् २०१९ मा ६ दशमलब ५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । ‘इकोनोमिक एण्ड सोसियल सर्भे अफ एशिया एण्ड द प्यासिफिक २०१९ एम्बीसन बियोन्ड ग्रोथ’ नामक गएको शुक्रबार सार्वजनिक गरिएको सो प्रतिवेदनमा उक्त कुरा उल्लेख छ ।
प्रतिवेदनमा सन् २०१८मा सो दर ६ दशमलब ३ रहेको जनाइएको छ । त्यसभन्दा अघि सन् २०१७मा ७ दशमलब ९ प्रतिशत जीडीपीको दर रहेको थियो । सन् २०२०मा भने सो दर ६ दशमलब ४ प्रतिशत हुने जनाइएको छ । दक्षिण एशियाबाट नेपाल जति नै ६ दशमलब ५ प्रतिशत कूल गार्हस्थ उत्पादनको अनुमान गरिएको अर्को राष्ट्र माल्दिभ्स हो । उता बंगलादेशको ७ दशमबल ३ र भारतको ७ दशमलब ५ प्रतिशत जीडीपी दर हुने प्रक्षेपण गरिएको छ । उता पाकिस्तानको भने नेपालको भन्दा कम ४ दशमलब २ प्रतिशत जीडीपी हुने प्रक्षेपण गरिएको छ ।
आयोगको प्रतिवेदनमा यो क्षेत्रको आर्थिक अवस्था स्थिर रहेको र समग्रमा ५ देखि ५ दशमलब १ प्रतिशतको हाराहारीमा २०१९ र २०२०मा जीडीपीको बृद्धि हुने प्रक्षेपण गरिएको छ । यद्यपि अमेरिका र चीनबीचको व्यापार युद्धका कारण युरोप र अमेरिकामा माग कम हुने संभावना रहेकोले निर्यातजन्य क्षेत्रले भने अप्ठेरो महसुस गर्ने अवस्था आउन सक्ने आँकलन गरिएको छ ।
मुद्रास्फिती भने यो क्षेत्रमा सन् २०१९मा ४ दशमलब २ प्रतिशत र सन् २०२०मा ३ दशमलब ८ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । कर, मौसमको अवस्थालगायतका कारणले खाद्यान्नको मूल्यबृद्धिको सम्भावना औल्याइएको छ । सर्भेका अनुसार यो क्षेत्रको मध्यम र दीर्घकालीन सम्भावना संरचनागत परिवर्तन र व्यापक रुपमा उत्पादनमा बृद्धिमा नै भरपर्ने समेत जनाइएको छ ।
प्रतिवेदनमा अब यो क्षेत्रमा हुने संरचनागत परिवर्तन वातावरण मैत्री हुनुपर्ने समेत रिपोर्टमा उल्लेख गरिएको छ । प्रतिवेदनमा सन् २०३० सम्मको दीगो विकास लक्ष प्राप्तिका लागि १ दशमलब ५ ट्रिलियन अतिरिक्त लगानी जरुरी रहेको समेत जनाइएको छ ।
प्रतिकृया दिनुहॊस