घरजग्गा कारोबारमा छाएन उत्साह, मन्दी कायमै

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । लामो समयदेखि मन्दीमा फसेको घरजग्गा कारोबारले दशैं तिहारपछि गति लिने धेरैको अपेक्षा थियो । तर, दशैं तिहारपछि पनि घरजग्गा कारोबारमा उत्साह छाउन नसकेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ ।

कात्तिकमा देशभरी ३३ हजार ५१४ घरजग्गाको लिखत पारित भएको विभागले जनाएको छ । यो संख्या अघिल्लो महिना अशोजको तुलनामा सामान्य बढी हो । अशोज महिनामा ३० हजार ५२७ लिखत पारित भएका थिए ।

०८१ जेठमा ६१ हजारभन्दा बढी लिखत पारित भइ घरजग्गा कारोबार मन्दीबाट निस्कन खोजेको आभाष दिएको थियो । तर, त्यसयताका महिनामा घरजग्गा कारोबार निरन्तर ओरालो लागिरहेको विभागको तथ्यांकले देखाउँछ ।

सामान्यतः कात्तिक र मंसिरलाई घरजग्गा कारोबार बढ्ने सिजनका रुपमा लिने गरिन्छ । दशैं तिहारपछि निर्माणको सिजन पनि सुरु हुन्छ । यसैले पनि घरजग्गा कारोबार बढ्ने गर्थ्यो ।

खुम्चियो राजश्व संकलन
अशोजको तुलनामा कात्तिकमा घरजग्गा कारोबार सामान्य बढे पनि राजश्व संकलन झनै घटेको छ । अशोजमा देशभरीका मालपोत कार्यालयबाट तीन अर्ब आठ करोड रुपैयाँ राजश्व संकलन भएकोमा कात्तिकमा घटेर दुई अर्ब ७० करोड रुपैयाँमा खुम्चिएको छ ।

यसको मतलब, कात्तिकमा महंगो मूल्य पर्ने शहरी क्षेत्रमा भन्दा पनि ग्रामिण क्षेत्रमा घरजग्गा किनबेच धेरै भएको स्पष्ट हुन्छ । शहरी क्षेत्रका महंगो मूल्य पर्ने घरजग्गा कारोबार हुँदा रजिष्ट्रेसन दस्तुर र पुँजीगत लाभकर पनि धेरै उठ्ने गर्छ ।

उपत्यकामा २७ हजार लिखत पारित
काठमाडौं उपत्यकामा रहेका नौ मालपोत कार्यालयबाट कात्तिकमा २७ सय नौ घरजग्गाको लिखत पारित भएको छ । यो अघिल्लो महिनाको तुलनामा कम हो । अशोजमा उपत्यकामा तीन हजार १९४ लिखत पारित भएका थिए ।

कात्तिकमा लगनखेल मालपोतबाट ५३६, गोटीखेलबाट ९, भक्तपुरबाट ६७७, डिल्ली बजारबाट १४६, चावहिलबाट ३३१, कलंकीबाट ४१४, साँखुबाट २०७, मनमैंजुबाट २८३ र टोखा मालपोतबाट १०६ घरजग्गाको लिखत पारित भएको विभागले जनाएको छ ।

इनरुवाबाट सबैभन्दा धेरै कारोबार
कात्तिकमा सुनसरीको इनरुवा मालपोत कार्यालयबाट सबैभन्दा धेरै १२ सय ४६ घरजग्गाको लिखत पारित भएको छ । दोस्रो स्थानमा रहेको मोरङको बेलवारी मालपोतबाट ११ सय १२, धनुषाको जनकपुर मालपोत कार्यालयबाट एक हजार २४ घरजग्गाको लिखत पारित भएको भूमि विभागले जनाएको छ ।

यस्तै, सप्तरीको राजविराजबाट एक हजार २२, झापाको भद्रपुरबाट ९९८, कैलालीको धनगढीबाट ८६३, सर्लाहीको मलंगवाबाट ७४७, सिराहाबाट ७१२, बाँकेबाट ७०४, तौलिहवाबाट ६८४ घरजग्गाको लिखत पारित भएका छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन गरिंदै

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपचुनाव अन्तर्गत मंगलबार उम्मेदवारको नामावली प्रकाशन …

प्रतिकृया दिनुहॊस