नेपाल–भारत वाणिज्य सन्धि समीक्षा बैठक : धाम्रा र मुन्द्रा बन्दरगाह प्रयोगबारे छलफल

काठमाडौं । पोखरामा बसेकाे नेपाल–भारत वाणिज्य सन्धिको दोस्रो समीक्षा बैठकमा उडिसास्थित धाम्रा बन्दरगाह नेपालले उपयोग गर्न सक्नेबारे छलफल भएको छ । वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजूका अनुसार उक्त बन्दरगाह नेपाललाई प्रयोग गर्न दिनेबारे भारतीय पक्ष सकारात्मक देखिएको छ । बंगालको खाडीसँगको उक्त व्यापार विन्दु हाल नेपालले प्रयोगमा ल्याएको आन्ध्रप्रदेशको विशाखापत्तनम्भन्दा ५ सय ३ दशमलव ९ किलोमिटर नजीक पर्छ । धाम्रा बन्दरगाह प्रयोगबारे दुई पक्षबीच भएको यो पहिलो औपचारिक छलफल हो ।

सहसचिव सैंजूका अनुसार नेपालले भारतको पूर्वी भागमा पर्ने धाम्रासहित पश्चिमी भागको गुजरातस्थित मुन्द्रा बन्दरगाह प्रयोग गर्ने विषयमा पनि भारतीय पक्षलाई आग्रह गरेको थियो । ‘दुवै बन्दरगाहबारे भारतीय पक्ष सकारात्मक देखिएको छ,’ सैंजूले भने, ‘अहिले नेपालले पश्चिमी मुलुकतर्फको व्यापारका लागि घुमाउरो बाटो प्रयोग गर्नु परिरहेको छ, गुजरातको बन्दरगाह प्रयोगमा ल्याउन पाए सीधै कपिलवस्तुको कृष्णनगरबाट तेस्रो मुलुकको व्यापार सञ्चालन गर्न सहज हुनेछ ।’

कृष्णनगरबाट मुन्द्रा बन्दरगाहसम्मको दूरी १ हजार ८०६ किलोमिटर पर्छ । कृष्णनगर भारतीय रेलवेको ‘ब्रोड गेज’ ले जोडिएको छ । बैठकमा भारतीय पक्षले मुन्द्रा बन्दरगाह प्रयोगका लागि नेपाललाई सबैभन्दा सहज विन्दु कृष्णनगर हुने सुझाएको थियो ।

यसअघि नेपालले लामो समयदेखि कोलकाता बन्दरगाहबाट समुद्रपार व्यापार गर्दै आएको थियो । २०७३ असार १० देखि विशाखापत्तनम् बन्दरगाह पनि प्रयोग गर्न थालेको हो । सीमावर्ती भारतीय बजार रक्सौलबाट विशाखापत्तनम् १ हजार ४ सय ३० दशमलव ५ किमी टाढा पर्छ । धाम्रा बन्दरगाहको दूरी भने ९ सय २६ दशमलव ६ किलोमिटर मात्र छ । विशाखापत्तनम् जत्तिकै धाम्रा पनि अत्याधुनिक सुविधा सम्पन्न छ । धाम्रा बन्दरगाह २०११ अप्रिल १० देखि व्यावसायिक रूपमा खुला भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस