काठमाडौं । रेमिट्यान्स र मनि ट्रान्सफर क्षेत्रमा अग्रणी आइएमई लिमिटेड राष्ट्रिय कर दिवस २०८२ को अवसरमा पुनः सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ। सोमबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवाकर पौडेललाई यो प्रतिष्ठित सम्मान प्रदान गरेका हुन् ।
यो सम्मानसँगै आइएमईले लगातार राष्ट्रिय विकासमा आफ्नो महत्वपूर्ण योगदानलाई पुष्टि गरेको छ। सीईओ पौडेलले यति उल्लेख्य मात्रामा कर दाखिला गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन पाउनु आइएमईका लागि गौरवको विषय रहेको बताए।
समारोहलाई सम्बोधन गर्दै आइएमईका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले करदाताको सम्मानसँगै उनीहरूको सुरक्षालाई पनि प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए। उनले करदातामैत्री वातावरण निर्माणका लागि सरकारले थप पहल गर्नुपर्नेमा जोड दिए।
सन् २००१ मा स्थापना भएको आइएमई लिमिटेडले नेपालको वैदेशिक मुद्रा आप्रवाहलाई संस्थागत गर्ने कार्यमा अग्रणी भूमिका खेल्दै आएको छ। यसको निरन्तरको योगदानका कारण आइएमईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सम्मानहरू प्राप्त गर्दै आएको छ, जसमा सर्वाधिक करदाता कम्पनीको सम्मान पटक–पटक समावेश छ।
हाल, आइएमईको विश्वका विभिन्न देशमा १०० भन्दा बढी व्यावसायिक साझेदारहरूको बृहत सञ्जाल रहेको छ ।




