ज्योति विकास बैंकको ‘न्यानो’ अभियान: सुदूरपश्चिमका स्वास्थ्य चौकीमा बेबी वार्मर प्रदान

काठमाडौं । ज्योति विकास बैंकले सुदूरपश्चिमका विकट गाउँहरूमा नवजात शिशुको जीवन रक्षाका लागि आफ्नो सामाजिक उत्तरदायित्व अभियानलाई तीव्रता दिएको छ । बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा स्वदेशमै निर्मित ‘बेबी वार्मर’ दुर्गमका स्वास्थ्य चौकीहरूलाई प्रदान गरी जन्मनासाथ अल्पताप (Hypothermia) का कारण हुने शिशु मृत्युदर घटाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

यसपटक बैंकले बझाङ, बाजुरा र अछामका अति विकट क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरूमा बेबी वार्मर जडान गरेको छ । बैंकको यस पहलअन्तर्गत बझाङको मष्टा गाउँपालिका-२ स्थित मष्टा स्वास्थ्य चौकी र खप्तडछान्ना गाउँपालिका-५ को कालुखेती स्वास्थ्य चौकीले बेबी वार्मर पाएका छन् । त्यसैगरी, बाजुराको त्रिवेणी नगरपालिका-३ स्थित पुर्भुता आधारभूत स्वास्थ्य सेवा केन्द्र र अछामको रामारोशन गाउँपालिका-६ मा अवस्थित भाटाकाटियाँ स्वास्थ्य चौकीमा पनि यी जीवनरक्षक उपकरण जडान गरिएको छ ।\

यी उपकरण हस्तान्तरणका क्रममा सम्बन्धित स्वास्थ्य चौकीका प्रमुख, चिकित्सक, नर्स तथा स्थानीय पदाधिकारीहरूको उपस्थिति थियो । बैंकले उपकरण उपलब्ध गराएर मात्र आफ्नो जिम्मेवारी पूरा नगरी, त्यसको सही र प्रभावकारी सञ्चालनका लागि स्वास्थ्यकर्मीहरूलाई विशेष तालिमसमेत प्रदान गरेको छ ।

“स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो” भन्ने मान्यतालाई आत्मसात् गर्दै बैंकले शिशुहरूको जीवन रक्षाका लागि गरेको यो निरन्तर प्रयास प्रशंसनीय छ । हालसम्म देशका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र प्रसूति केन्द्रहरूमा ६२ वटा बेबी वार्मर प्रदान गरिसकेको बैंकले जनाएको छ । यी उपकरणहरूमार्फत वार्षिक २,२९४ भन्दा बढी शिशुहरूले न्यानो माया पाइरहेका छन् भने हालसम्म ११,४७० भन्दा बढी नवजात शिशुहरूले प्रत्यक्ष लाभ पाइसकेका छन् ।

मुनाफाको एउटा हिस्सा समाजलाई नै फर्काउनुपर्छ भन्ने उद्देश्यले ज्योति विकास बैंकले आफ्नो खुद मुनाफाबाट अन्य बैंक तथा वित्तीय संस्थाभन्दा ५० प्रतिशत बढी रकम सामाजिक उत्तरदायित्वका लागि छुट्याउँदै आएको छ । नागरिकको सर्वोत्तम हितलाई केन्द्रमा राख्दै बैंकले गत आर्थिक वर्षमा मात्रै ४१ करोड रुपैयाँ कर दाखिला गरी राष्ट्र निर्माणमा पनि उल्लेख्य योगदान पुर्‍याएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री