- गिनिज बुढा
एजेन्सी । अफगानिस्तानको मजार शरीफ सहर नजिकै सोमबार बिहान करिब १ बजे ६.६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा २० जनाको मृत्यु भएको पुष्टि भएको छ भने ६४० भन्दा बढी घाइते छन् ।
अमेरिकी भू-वैज्ञानिक सर्वेक्षणका अनुसार भूकम्पको एपिसेन्टर खुल्म सहरको दक्षिण-पश्चिमतर्फ २२ किलोमिटर टाढा रहेको र २८ किलोमिटर गहिराइमा रहेको थियो ।
अफगानिस्तान राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले घाइते र क्षतिको विवरण पछि सार्वजनिक गरिने जानकारी दियो ।
भूकम्पका कारण अफगानिस्तानको उत्तर भेगमा रहेको बाल्ख प्रान्तको मजार-ए-शरीफ सहरमा अवस्थित ऐतिहासिक निलो मस्जिद, जसलाई हजरत अलीको दरगाह भनेर चिनिन्छ, मा पनि क्षति पुगेको छ ।
ग्रामीण क्षेत्रमा गएको यस भूकम्पका कारण स्थानीयले ठूलो क्षति भोग्नु परेको छ । दुई महिना अघि नै अफगानिस्तानको पूर्वी भेगमा भूकम्पका कारण २,२०० भन्दा बढीको ज्यान गएको थियो ।
अफगानिस्तान एक उच्च सक्रिय भूकम्पको क्षेत्रमा पर्छ । जहाँ सर्दै गरेको प्लेट, पहाड निर्माणको दबाब र फल्ट लाइनहरुले भूकम्प निम्त्याउँछन् ।
ऐतिहासिक निलो मस्जिदलाई इस्लामका चौथो खलिफा हजरत अलीको दरगाह मानिन्छ । मस्जिदको मूल संरचना १२ औं शताब्दीमा बनेको थियो तर चंगेज खानको आक्रमण पछि १५ औं शताब्दीमा सुल्तान हुसेन वयकाराहले पुनर्निर्माण गरे । यो स्थल अफगानिस्तानको सबैभन्दा सम्मानित धार्मिक स्थलहरु मध्येको एक हो ।
मस्जिदलाई नाम दिने सुन्दर निलो टायल डिजाइन पछि थपिएको हो । जसले यसलाई मध्य एशियामा इस्लामिक पर्शियन वास्तुकलाको उत्कृष्ट उदाहरण बनाएको छ ।




