काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी महत्वपूर्ण तालिमको दोस्रो चरण लुम्बिनी प्रदेशमा सम्पन्न गरेकाे छ । यस आर्थिक वर्ष २०८१/८२ का लागि लक्षित तालिम श्रृंखला अन्तर्गत कोशी प्रदेशमा पहिलो चरण सफलतापूर्वक सम्पन्न भइसकेको थियो ।
कार्तिक १४ गते भैरहवास्थित टाइगर प्यालेस बाइ सोल्टीमा आयोजित यस वृहत् कार्यक्रममा कम्पनीका विभिन्न शाखाबाट आएका २२५ जना अभिकर्ता, शाखा प्रबन्धक र कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेकाे थियाे ।
कम्पनीका प्रशिक्षण विभाग प्रमुख कुबेर पाठकले तालिमको सहजीकरण गरे । उनले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी कानूनी प्रावधानहरू, बीमा क्षेत्रमा यसको गम्भीर प्रभाव, र व्यवहारमा अपनाउनुपर्ने नीतिगत तथा व्यावहारिक पक्षहरूबारे विस्तृत जानकारी प्रदान गरे । विशेषगरी, गैरकानुनी आम्दानी वा आतंककारी क्रियाकलापबाट संकलित रकमलाई बीमाको माध्यमबाट वैध बनाउने प्रयासलाई कसरी पहिचान गर्ने, रोक्ने र सम्बन्धित निकायमा रिपोर्ट गर्ने भन्ने बारेमा व्यावहारिक दृष्टान्तसहित गहन छलफल गरिएकाे छ ।
तालिमको मुख्य उद्देश्य कम्पनीका अभिकर्ता, शाखा प्रबन्धक तथा अन्य सहकर्मीहरूलाई आर्थिक अपराध नियन्त्रण, आतंकवाद वित्तीयकरण रोकथाम र पारदर्शी कारोवार संस्कृति प्रवर्द्धनमा थप सचेत र सक्षम बनाउनु रहेको कम्पनीले जनाएकाे छ ।
सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ता तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै ग्राहक तथा नियामक निकायप्रति थप जिम्मेवार र विश्वासिलो बीमा सेवा प्रवाह गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिने दृढता व्यक्त गरेकाे छ । यस प्रकारका तालिमहरूले वित्तीय सुशासन कायम गर्न र स्वच्छ बीमा बजार निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।




