नेपालमा २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरिने, दुरसञ्चार प्राधिकरणले निकाल्यो सूची

सांकेतिक तस्बिर

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले देश भित्र सञ्चालनमा रहेका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई बन्द गर्नका लागि सबै इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । बिहीबार प्राधिकरणद्वारा जारी गरिएको एक विज्ञप्तिअनुसार, यी प्लेटफर्महरूलाई नेपालमा निष्क्रिय गराउने व्यवस्था मिलाउन भनिएको छ ।

प्राधिकरणले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८२ भदौ १९ को मन्त्रीस्तरीय बैठकको निर्णय तथा ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम यो कदम चालिएको स्पष्ट पारेको छ । उक्त निर्देशिका अनुसार नेपालमा दर्ता नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई बन्द गर्नुपर्ने प्रावधान रहेको छ ।

बन्द गरिने सामाजिक सञ्जाल प्लेटफर्महरूको सूचीमा फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर (एक्स), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कोर्ड, पिन्टरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा, तुम्ब्लर, क्लबहाउस, मास्टोडन, रम्बल, मेवे, भीके, लाइन, आईएमओ, जालो, सोल, र हाम्रो पात्रो समेत रहेका छन् ।

यो निर्णयले नेपालमा सामाजिक सञ्जाल प्रयोगमा ठूलो असर पार्ने निश्चित छ, विशेषगरी जुन प्लेटफर्महरू नेपालमा आधिकारिक रूपमा दर्ता नभई सञ्चालनमा थिए । दूरसञ्चार प्राधिकरणले यसअघि नै सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमा दर्ता हुनका लागि आह्वान गरिसकेको थियो, तर केही प्लेटफर्महरूले अझै पनि यो प्रक्रिया पूरा नगरेका कारण यो कठोर कदम चालिएको बुझिएको छ ।

यस निर्णयले इन्टरनेट सेवा प्रदायकहरूलाई तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने चुनौती थपिएको छ भने प्रयोगकर्ताहरूलाई वैकल्पिक सञ्चार माध्यम खोज्न बाध्य पार्नेछ । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री