कांग्रेसमा फर्किएला कोइराला परिवारको बिरासत ?

काठमाडाै‌ । सत्तरी वर्षको इतिहासमा कोइरालाहरूले कांग्रेसलाई ४९ वर्ष आफ्नो नेतृत्वमा चलाए । कोइराला परिवारबाट कांग्रेसमा चार सभापति बने ।

००३ सालमा कांग्रेस पार्टी स्थापना भएयता बिपी कोइरालाले पाँचपटक गरेर २५ वर्ष कांग्रेसको नेतृत्व लिए । मातृकाले दुईपटक गरेर चार वर्ष, गिरिजाप्रसादले तीनपटक गरेर १४ वर्ष र सुशील कोइराला कार्यवाहकसहित दुईपटक गरेर ६ वर्ष कांग्रेस नेतृत्वमा बसे। गिरिजाप्रसाद र सुशील कोइरालाको निधनपछि कोइराला परिवारबाट कांग्रेस नेतृत्व शेरबहादुर देउवाको हातमा पुग्यो।

यसबीचमा कोइराला परिवारका तीन सदस्यबीच मेल थिएन, टकराव थियो । तर, अहिले कोइराला परिवारका तीन सदस्य शशांक, सुजाता र शेखरबीच एकता भएको छ । यसले कांग्रेसमा ठूलै तरंग ल्याएको छ। फेरि पनि कांग्रेसमा कोइराला बिरासत फर्कने त होइन भन्ने अनुमान गर्न थालिएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा रमेश सापकोटा र गणेश लम्सालले लेखेका छन्।

कांग्रेसमा कोइराला परिवारलाई लामो समय चुनौती दिनेमा कृष्णप्रसाद भट्टराई मात्र रहे । ०३४ सालमा बिपीले स्वास्थ्यको कारण देखाएपछि भट्टराई कार्यवाहक सभापति बने । ०३९ सालमा बिपीको निधनपछि पनि ०४७ सालसम्म कार्यवाहक र ०४८ सालमा निर्वाचित सभापति भएर भट्टराईले ०५३ सालसम्म गरी १९ वर्ष कांग्रेस चलाए । तर, भट्टराईले कांग्रेस चलाउँदा पनि कोइरालाहरूको सद्भावबाट उनी टाढा थिएनन् ।

कांग्रेसमा कोइराला परिवारबाहेक नेतृत्व गर्न पाउनेमा सुवर्णशमशेर पनि पर्छन् । उनले ०१२ देखि ०१४ सम्म गरी दुई वर्ष नेतृत्व गरे ।

२० वर्षपछि देउवाको कब्जा
७० वर्षमा कोइराला परिवारकै नेता वरिपरि कांग्रेसको राजनीति घुम्यो । ०३४ देखि ०५३ सम्मको १९ वर्ष भट्टराईले चलाए । फेरि २० वर्ष कांग्रेसको राजनीति कोइरालाहरूकै वरिपरि घुमिरह्यो ।

तर, ०७२ फागुनमा भएको १३औँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवाको उदय भयो । ०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उनकै गृहमन्त्री भएका देउवा २०५२, २०५८, २०६१ र २०७४ गरी चारपटकसम्म प्रधानमन्त्री भएर आफूलाई उदाउँदो नेताका रूपमा उभ्याउन सफल भए ।

कोइरालाहरू किन मिल्न बाध्य भए ?
सुशील कोइरालाको निधनपछि कोइरालाहरूले रामचन्द्र पौडेललाई सभापतिमा अघि सारे । तर, उनले देउवालाई चुनौती दिन सकेनन् । फेरि पनि पौडेलले देउवालाई चुनौती दिन नसक्ने निष्कर्ष कोइराला परिवारले निकालिसकेको छ।

यसकारण पनि १४औँ महाधिवेशन आउँन तीन वर्षअगाडिदेखि नै कोइरालाहरू गुमेको राजनीतिक बिरासत फर्काउन लागिपरेका छन् । जसरी पनि बिरासत फर्काउने अभियानमा बिपीपुत्र एवं महामन्त्री डा. शशांक, डा. शेखर र सुजाता कोइरालाबीचको भेट बाक्लिँदै गएको छ । पूर्वसंस्थापनका नेताहरूलाई एकजुट गरेर महागठबन्धन बनाउने अभियानमा उनीहरू सक्रिय छन् । आफूहरूमध्येबाटै सभापतिमा उठ्ने तयारी यी नेताहरूको छ।

तीन कोइरालालाई प्रकाशले मिलाएको चर्चा
कोइराला परिवारबाट पार्टीको बिरासत गुमेपछि यसलाई फर्काउनका लागि बिपीकै जेठापुत्र प्रकाशले शशांक, शेखर र सुजातालाई एक ठाउँमा उभिनका लागि आग्रह गरेको बुझिएको छ।

गिरिजादेखि सुशील कोइरालासम्म आइपुग्दा पार्टी व्यवस्थित नभएको, विधि र विधानको पालना नभएको भन्दै देउवाले राजनीति मात्र गरेनन्, यही नाराले १३औँ महाधिवेशनबाट नेतृत्वसमेत हत्याए । तर, महाधिवेशन भएको साढे दुई वर्षसम्म पार्टीभित्र राम्रो व्यवस्थापन गर्नमा देउवा पनि चुकेको टिप्पणी हुन थालेको छ।

कम छैनन् सिटौला
कृष्ण सिटौलाले साथ छोड्दा १३औँ महाधिवेशनमा कोइराला बिरासत गुमेपछि यसपटक फेरि पनि सिटौला पनि निर्णायक हुने देखिन्छन् । उनीसँग पनि गगन थापा, प्रदीप पौडेल, उमाकान्त चौधरीसहितका प्रभावशाली नेताहरूको पनि साथ छ । पूर्वसंस्थापनबाट सभापति जो नेता अघि बढ्दा पनि सिटौलालाई चित्त बुझाउनैपर्ने अवस्था छ । सिटौलाले पनि सभापतिको उम्मेदवारभन्दा अर्को विकल्प देखेका छैनन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बागलुङमा पिकअपभ्यान दुर्घटना, चालकसहित ५ जनाको मृत्यु

काठमाडौं । बागलुङमा ‘पिकअपभ्यान’ दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका-८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअपभ्यान जैमिनी-७ जैदीको व्यार्थला नजिकै बिहान दुर्घटनामा परेको हो ।

प्रतिकृया दिनुहॊस