नागढुंगा-नौबिसे सुरुङ मार्ग ३४ महिनामा ७० प्रतिशत निर्माण सकियो, तोकिएकै समयमा सक्न असम्भव

काठमाडौं । नागढुंगा नौबिसे सुरुङ मार्गको ७० प्रतिशत निर्माण सकिएको छ । निर्माण सुरु भएको ३४ महिनाको अवधिमा सुरुङ मार्ग निर्माण कार्य ७० प्रतिशत सकिएको सडक विभागले जनाएको छ । बाँकी ३० प्रतिशत कामलाई पनि आयोजनाले तीव्रता दिएको जनाएको छ । नागढुंगा सुरुङ मार्ग आयोजनाका प्रमुख रामहरि पोखरेलले सुरुङ मार्ग निर्माणको कामलाई तीव्रता दिएको जानकारी दिए

सडक विभागले २०७६ कात्तिकबाट ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरेको थियो । सुरुङ मार्ग निर्माण कठिन र चुनौतीपूर्ण काम हो । यद्यपि आयोजनाले अधिकतम रूपमा प्रविधिको प्रयोग मार्फत निर्धारित समयसीमा भित्र नै सम्पन्न गर्ने गरी काम गरिरहेको प्रमुख रामहरि पोखरेलले बताए ।

निर्माण कार्य निकै महँगो भए पनि नेपालको भौगोलिक अवस्थित अनुसार सुरुङ मार्ग निकै आवश्यकता देखिन्छ । यात्रुको सुरक्षा, समयको बचत, इन्धन बचतको दृष्टिकोणले सुरुङ मार्ग महत्त्वपूर्ण मानिन्छ । सरकारले एक पटक लगानी गर्दा दीर्घकालीन रूपमा फाइदा हुने निष्कर्षसहित थानकोट, नागढुंगा–खिस्नेखोला सुरुङ निर्माणको काम अघि बढाएको हो ।

यस सुरुङ मार्गको प्रारम्भिक अध्ययन सन् २०१४ मा नै सुरु भएको थियो । सन् २०१६ मा आर्थिक स्रोत सुनिश्चित गरी २०१७ बाट डिजाइन थालिएको थियो । यो सुरुङ मार्ग निर्माण गर्न जापानको अन्तर्राष्ट्रिय सहायतासम्बन्धी नियोग (जाइका)ले १६ अर्ब रुपैयाँ सहुलियत ऋण र नेपाल सरकारले ६ अर्ब लगानी गरी करिब २२ अर्ब लगानीमा निर्माण गर्न लागिएको हो । सुरुङ निर्माणको काम जापानी कम्पनी हाज्मा अन्दो कर्पोरेसनले गरिरहेको छ ।

सुरुङ मार्ग निर्माण भएपछि धादिङको नौबिसेदेखि काठमाडौं प्रवेश गर्ने दूरी चार किलोमिटरले घट्नेछ । सवारी साधनले यो दूरी १५ देखि २० मिनेटमा पार गर्नेछन् । नागढुंगा सडक खण्डमा महालबहाक सवारी साधनको कारण हाल सामान्य अवस्थामा एक घण्टा र जाम हुँदा घण्टौंसम्म लाग्ने गरेको छ । नौबिसेदेखि थानकोटसम्मको सडक ११ डिग्रीको उकालोमा छ भने सुरुङमा जम्मा ४ डिग्री मात्र उकालो हुनेछ । यसले गर्दा सवारी साधनको इन्धन खपत उल्लेखनीय रूपमा घट्नेछ ।

निर्माणाधीन सुरुङ सडक मार्ग दुई लेनको हुनेछ । एक लेन साढे तीन मिटरको हुनेछ । सडकको चौडाइ भने ९।५ देखि १२ मिटरसम्मको हुनेछ । यसमा १.५ मिटरको मेडियन र ०.५ मिटर सोल्डर पनि निर्माण गरिनेछ । सुरुङ खन्ने कामसँगै सुरुङ मार्गको फिनिसिङ अर्थात् कंक्रिट लाइनिङको काम पनि एकसाथ अघि बढाइएको छ । ४२ महिनाभित्र सम्पन्न गर्नुपर्ने भए पनि तोकिएको समयमा काम सम्पन्न गर्न भने लगभग असम्भव देखिन्छ । यद्यपि कोभिड–१९ का कारण केही महिना ढिलाइ भएपछि आवश्यकताको आधारमा थप तीन महिना म्याद गरेको आयोजनाले बताएको छ ।

स्थानीय सडकमा गुड्ने सवारीलाई सुरुङ सडकमा प्रवेश गर्न नदिन दुई वटा फ्लाइओभर निर्माण गरिनेछ भने सडकमा सात वटा पुल र ११ वटा बक्स कल्भर्ट निर्माण गरिनेछ । यसैगरी सुरुङ मार्गमा हुन सक्ने सम्भावित दुर्घटनालाई दृष्टिगत गरी सुरक्षा र निकासका लागि तीस मिटरको फरकमा अर्को समानान्तर सुरुङ पनि निर्माण गरिएको छ ।

कुनै सवारी साधन बिग्रेमा वा दुर्घटनामा परेमा वैकल्पिक सुरुङ मार्गबाट उद्धार तथा निकासका लागि यो वैकल्पिक समानान्तर सुरुङ निर्माण हुने भएको हो । सहायक सुरुङ र मुख्य सुरुङको २५० मिटरमा मुख्य सुरुङ मार्गसँग भित्र–बाहिर गर्न मिल्नेगरि जोडिने गरी निर्माण भइरहेको छ । निर्माणाधीन नागढुंगा सुरुङमा मुख्य सुरुङ मार्गसहित कुल पाँच हजार चार सय ९९ मिटर लम्बाइ सुरुङ खन्नुपर्नेछ ।

जस मध्य हालसम्म ३७ सय असी मिटर सुरुङ खन्ने काम सम्पन्न गरेको छ भने करिब १८ सय मिटर सुरुङ खन्न बाँकी रहेको छ । दुई हजार ६ सय ८८ मिटर लामो सुरुङ मार्ग निर्माणका लागि हाल प्राविधिकसहित ६ सय कामदार कार्यरत छन् । हाल दैनिक रूपमा ५ देखि ७ मिटरसम्म सुरुङ खन्ने काम हुँदै आएको छ । निर्धारित समयसीमा भन्दा सुरुङ मार्गको कामको लागि केही महिना समय लम्बिने भएको छ ।

नेपालकै पहिलो सडक सुरुङ मार्ग भएकाले नेपालका इन्जिनियरहरूको लागि प्रविधि बुझाउने कार्यलाई पनि आयोजनाले प्राथमिकता दिएको छ । आयोजना सुरु भएको यस अवधिमा सडक विभागकासहित दुई सय भन्दा बढी इन्जिनियरहरूले सुरुङ मार्गको स्थलगत अवलोकन गरेर प्रविधिको बारेमा बुझ्ने अवसर पाएका पनि जनाएको छ । हाल काठमाडौं र धादिङ दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस