लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग

काठमाडौँ । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग पिक डिमाण्ड १३०५ मेगावाट पुगेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन विद्युतको पिक डिमाण्ड १२७० मेगावाट रहेकोमा यस वर्ष ३५ मेगावाट बढी १३०५ मेगावाट पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन सोमबार साँझ ६.१० बजे पिक डिमाण्ड १३०५ मेगावाट रेकर्ड गरेको हो । प्राधिकरणका स्वामित्वका नदी प्रवाहमा आधारित विद्युतगृहरुबाट ४३५.२ मेगावाट, प्राधिकरणका सहायक कम्पनीको स्वामित्वका माथिल्लो तामाकोसी, खिम्ती–१ तथा चिलिमबाट ४८२.२ मेगावाट र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुबाट ७६७.५ मेगावाट विद्युत उत्पादन गरी आपूर्ति गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोली स्यूचाटारस्थित भार प्रेषण केन्द्रबाट लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि खटिएको थियो । विनाअवरोध देशभरी विद्युत आपूर्ति गर्न प्राधिकरण सफल भएको छ ।

विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले माग धान्ने मात्र हैन खपत हुन नसकेर बढी हुन थालेको छ । प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाको पिक डिमाण्ड धान्नको लागि कुलेखानी जलाशययुक्त जलविद्युत केन्द्र समेत सञ्चालन गरेन । कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत उत्पादन हुन्छ ।

यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ३८० मेगावाट विद्युत भारत निर्यात गरिएको र २०० मेगावाट विद्युत खपत गर्न नसकिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गरिरहेको छ ।

‘बिगतमा लोडसेडिङ हुँदा लक्ष्मीपूजाको दिनको विद्युत खपतलाई पिक डिमाण्ड मानिन्थ्यो भने अहिले त्यो अवस्था छैन, अरु बेला नै पिक डिमाण्ड आउने गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘तिहारमा उद्योगकलकारखानाहरु र कार्यालयहरु सबै बन्द छन् फेरि तराइमा गर्मी छैन र काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा जाडो पनि सुरु भइनसकेकोले अहिले विद्युत माग नआउने समय हो ।’ उनले आन्तरिक रुपमा विद्युत खपत बढाउनु ठूलो चुनौती रहेको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस