राष्ट्रपतिको कदमपछि सत्तारुढ र मधेसवादी दलका नेता रुष्ट

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनबाट दोस्रोपटक पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राजनीति एकाएक तरङ्गित भएको छ । सामाजिक सञ्जालमार्फत आम सर्वसाधारणदेखि राजनीतिज्ञसम्मले यो प्रसङ्गमा आफ्नो धारणा राख्न थालेका हुन् ।

एमाले, राप्रपासहित केही दलका नेताले सकारात्मक कदम भनेका छन् भने सत्तारुढ र मधेसवादी दलका नेता रुष्ट छन् ।  संसद्ले दोस्रो पटक पनि पारित गरेर पठाएको विधेयक राष्ट्रपतिबाट अस्वीकार हुने परिस्थितिको परिकल्पना संविधानले नगरेको जिकिर गर्दै उनीहरूले आलोचना गरेका छन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन् । ‘राष्ट्रपतिले संसद्बाट २-२ चोटि पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु, प्रधानन्यायाधीश महाभियोगमा पर्नु, दलहरू आसेपासे पोस्न लाग्नु, बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर छन्,’ उनले सामाजिक सञ्जालमा भनेका छन्- ‘सबै जिम्मेवार बनौँ ।’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर अहिलेको राजनीतिक प्रणाली नै खतरामा पार्ने काम भएको बताएका छन् । पौडेलले सामाजिक सञ्जालमार्फत जन निर्वाचित संसद्बाट अनुमोदन भएर प्रमाणीकरण गरेर संवैधानिक अधिकार प्रयोग गर्नुको सट्टा विद्यमान राजनीतिक प्रणालीलाई नै खतरामा पार्ने काम भएको बताएका छन् ।

उनले लेखेका छन्- ‘जन निर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको छ। बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्थामाथिको प्रहार हो । म यसको भर्त्सना गर्दछु ।’

कांग्रेस नेता डा‍. शेखर कोइरालाले मुलुकलाई संवैधानिक संकटतर्फ डोर्‍याउने काम राष्ट्रपतिबाट भएको बताए । ‘नागरिकता जस्तो संवेदनशील विषयमा समाज विभाजित हुने गरि राष्ट्रप्रमुखबाट भूमिका निर्वाह हुनु आफैँमा दुखद हो,’ उनले भने, ‘हामीले नागरिकताको संवेदनशीलताको विषय बुझाउन नै सकेनौँ कि झै लागि रहेको छ ।’

यद्यपि राष्ट्रपतिलाई विधेयकलाई प्रमाणीकरण नगर्ने छुट थिएन । राष्ट्रपतिले कसको उक्साहटमा लागेर यस्तो निर्णय लिनु भएको हो भन्दै उनले भने, ‘राष्ट्रपतिको यो कदमले मुलुकलाई थप संकटतर्फ धकेलेको छ । मुलुकमा एकपछि अर्को जटिलताहरू देखिन थाल्ने छ । यो राम्रो संकेत होइन ।’

नेपाली कांग्रेसका वरिष्ठ नेता अर्जुन नरसिंह केसी लेख्छन्- ‘नागरिकता विधेयक कति सही र गलत छन् ? यो जनताको विवेकले ठम्याउने र संसद् तथा सरकारको जिम्मेवारीको विषय हो । तर किटानी संवैधानिक व्यवस्थाको गम्भीर उलङ्घन गर्दै संवैधानिक राष्ट्रपतिले अस्वीकृत गर्नु संविधान र लोकतन्त्र, शक्ति सन्तुलन, नियन्त्रण र पृथकीकरण तथा संविधानवादको हुर्मत लिएको छ ।’

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता डा. सुरेन्द्र झाले नागरिकता विधेयक प्रमाणीकरण नभएपछि देशभित्रका नागरिकलाई अनागरिक बनाउने अत्याचार राष्ट्रपतिबाट भएको बताएन् । नागरिकता विधेयक प्रमाणीकरण नगरेर देशभित्र रहेका नागरिकलाई अनागरिक बनाउने कुरा कानुनी र मानवीय अत्याचार गर्ने काम भएको उनको जिकिर छ ।

यस मुद्दालाई आफूहरूले जीवनमरणको सवालको रूपमा उठाउँदै आएको उल्लेख गर्दै उनले नागरिकता विधेयकको सन्दर्भमा ठूला दलको असफलता र द्वैध चरित्र देखिएको आरोप लगाए । ‘कम्बल आढेर घ्यू खाने काम गरे,’ उनले भने ।

एमालेका नेता शेरबहादुर तामाङले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लङ्घन नगरेको दाबी गरेका छन् । ‘राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयलाई संवैधानिक वा असंवैधानिक भनेर व्याख्या गर्नु आवश्यक छैन,’ उनले भने, ‘संविधानको कहीँ उल्लङ्घन भएको छैन । संविधानको कुनै दफा, धाराले पनि त्यसो भन्दैन । उहाँले राष्ट्रको अभिभावकत्व र संविधानको संरक्षकत्व लिनुभएको हो ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थपूर्तिका लागि संविधान र राष्ट्रहितलाई तिलाञ्जली दिने प्रयास असफल भएको टिप्पणी गरे । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राजनीतिक स्वार्थ परिपूर्तिका लागि संविधान/राष्ट्रहितलाई तिलाञ्जली दिने प्रयास असफल भएको छ। राजनीतिकरुपमा विवादमा पर्ला, तर राष्ट्रपति विद्या भण्डारीको यो निर्णय इतिहासले प्रशंसा गर्नेछ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि …

प्रतिकृया दिनुहॊस

This will auto close after