हाँस्यमैं आउँछ मजा

नीरु खड्का (ठ्याँसकुमारी), हाँस्य कलाकार

यो क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
सानो हुँदा ‘मोहनी लाग्ला है गाउँलेको बोलीले’ भन्ने गीत हेर्दा आफू ठूलो भएर नायीकाको रुपमा त्यो गीतमा जस्तै नाँच्ने सपना देख्थें । तर कला क्षेत्रमा भने आउने कुनै सोच बनाएको थिईन । नर्श बन्ने चाहना थियो । १४ वर्षको उमेरमा नै आमा गुमाएकाले केहि समय अध्ययनलाई निरन्तरता दिन सकिन । कलाकारिता क्षेत्रमा प्रवेश गरें ।

अध्ययनलाई निरन्तरता दिन सकिन भन्नुभयो, पछि अध्ययन गर्न पाउनु भयो की भएन ?
९ कक्षाको अध्ययनपछि केहि समय रोकियो । यसैबीचमा कलाकारिता क्षेत्रमा प्रवेश गरें । पछि काठमाडौं आएर अध्ययन सुरु गरें । मदनभण्डारी कलेजबाट पत्रकारितामा बीए गरेको छु ।

लामो समयदेखि कलाकारिता क्षेत्रमा आवद्ध हुनुहुन्छ, कलाकारिता सुरु गर्दाको र अहिलेको समयलाई कसरी तुलना गर्नुहुन्छ ?
हिजोको दिनमा आफ्नो कला देखाउनका लागि नयाँ नयाँ मान्छे चिन्नुपर्ने बाध्यता थियो । मलाई अवसर दिनुस् भन्दै विभिन्न ठाउँमा पुग्नुपथ्र्यो । तर अहिले एउटा हाँस्य कलाकारको परिचय बनेकोले काम खोज्न जानुपर्दैन । खासमा भन्नुपर्दा अवसर नपाएर यत्तिकै बस्नुपरेको छैन । बरु काम गर्ने समय नमिलेका कारण कतिलाई समय छैन भन्नुपर्ने अवस्था छ ।

तपाईलाई ठ्याँसकुमारीको नामले दर्शकले चिन्छन्, ठ्याँसकुमारी भनेर बोलाउँदा कस्तो अनुभूति हुन्छ ?
मेरो परिचय थिएन । ठ्याँसकुमारीको नामले सबैले चिन्नुहुन्छ । मेरो परिचय नै यहि हो । यो नामले बोलाउँदा एकदमै खुसी लाग्छ । मलाई मायाँ गर्ने, दर्शक, श्रोतालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

हाँस्य टेलिश्रृङ्खलामा तपाई चर्चित हुनुहुन्छ, पछिल्लो समयमा म्युजिक भिडियो पनि निर्देशन गर्नुभएको छ, के गर्दा रमाईलो हुन्छ ?
मेरो मुख्य विषयनै हाँस्य हो । टेलिश्रृङ्खलामा काम गर्नुका साथसाथै स्टेज कार्यक्रम पनि गर्छु । पछिल्लो समय म्युजिक भिडियो पनि निर्देशन गर्दैछु । काम सिक्दैछु । तर मजा भने हाँस्यमैं आउँछ ।

मजा हाँस्यमैं आउँछ भन्नुभयो, हँसाउन कत्तिको गाह्रो छ ?
बरु रुवाउन सजिलो छ तर हँसाउन एकदमै गाह्रो छ । जेपायो त्यो भनेर दर्शक, श्रोता हाँस्नुहुन्न । उहाँहरुलाई भित्रैदेखि हाँस्ने अनूभुति हुनुपर्छ । त्यसैले सोचेजस्तो सजिलो छैन ।

कलाकारिता क्षेत्रमा सयमको कुनै टुंगो हुँदैन, समय कसरी मिलाईरहनुभएको छ ?
कलाकारिता क्षेत्रमा मेरा साथीहरु एकदमैं कम छन् । सुटिङ भएको बेला सुटिङमा जान्छु । नभए परिवारलाई समय दिन्छु । अहिलेसम्म समय मिलाउन अप्ठेरो भएको छैन ।

यो क्षेत्रमा निरन्तरताका लागि परिवारको कत्तिको सहयोग पाउनुभएको छ ?
मेरो श्रीमान्को भन्दापनि सासू र ससूराको ठूलो सहयोग छ । उहाँहरुको सहयोग नभएको भए सायद मेरो कलाकारिता क्षेत्र यहाँसम्म आईपुग्दैनथ्यो । सासू, ससूराको सहयोगका कारण श्रीमान् पनि सकारात्मक हुनुहुन्छ ।

कोसँग काम गर्दा सजिलो अनुभव हुन्छ ?
पछिल्लो समयमा नयाँ पुस्तासँग काम गर्दा एकदमै सजिलो हुन्छ । उहाँहरुले कलाकारिताको बारेमा अध्ययन गरेर आउनुभएको छ । पूरानोमा मदनकृष्ण तथा हरिबंश दाईहरुसँग काम गर्न सजिलो हुन्छ । त्यस्तै माग्ने बुढा केदारसँग पनि रमाईलो हुन्छ ।

दीपकराज गिरीसँग तपाईलाई काम गर्न अप्ठेरो लाग्छ रे नी ?
कता कता डर लागिरहेको हुन्छ । गल्ती गरें भने दाई रिसाउनुहुन्छ की भनेर । तर वास्तवमा उहाँ त्यस्तो हुनुहुन्न । मलाई मात्रै भित्रभित्रै डर लाग्छ, काम बिगार्छु की भनेर ।
कलाकारिता क्षेत्रमा लागेर पछुतो त लागेको छैन ?
आफूले भनेजस्तो भूमिका पाईएन भने साह्रै दिक्क लाग्छ । कहिलेकाहिं खाली बस्नुपर्दा पनि नराम्रो लाग्छ तर आज म जून स्थानमा छु, त्यो सबै कलाकारिता क्षेत्रलेनै दिएको हो । यो क्षेत्रमा लागेर नाम कमाएँ । त्यसैले पछुतो नै भने लागेको छैन ।

भविष्यमा कलाकारिता क्षेत्रमानैं जम्ने की अरु केहि गर्ने ?
निर्देशन नै गर्छु । सबैभन्दा रमाईलो लाग्ने सडक नाटकको निर्देशन गर्छु । यससँगै म्युजिक भिडियोमा पनि । अरुले सिर्जना गरेको विषयबस्तुमा अभिनय गर्नुभन्दा आफैले सिर्जना गरेको चिजमा ईन्जोय गर्छु । भविष्यको मेरो योजना भनेको निर्देशननै हो ।
महिला कलाकारलाई यो क्षेत्रमा शोषण हुन्छ भन्ने सुनिन्छ, तपाईको अनुभव कस्तो छ ?
पहिले समस्या थियो । अवसरहरु पनि असाध्यै कम थिए । अहिलेको समयमा अवसरहरु पनि धेरै छन् । एउटा कम्पनीले लिएन भने अर्कोमा जान सकिन्छ । युटुवका कारण पनि राम्रो कलाकारले आफ्नो कला देखाउन पाएका छन् । १०—२० हजार खर्च गर्ने हो भने आफ्नो क्षमता उजागर गर्न सकिन्छ । निर्देशकसँग गएर हात फैलाउनुपदैन । कुनै कलाकारले आपसी सहमतिमै सम्बन्ध अगाडि बढाउँछन् भने केहि छैन तर शोषणमा पर्ने वा नपर्ने भन्ने आफ्नो हातको कुरो हो । कला क्षेत्रमा धेरैनै मेहनत गर्नुपर्छ, लगानी गर्नुपर्छ । तुरुन्तै प्रतिफल आउँदैन । मेरो अनुभवमा आफू भलो त जगतै भलो भनेजस्तै हो । आफू असल हुनुपर्छ । सबै कुरा सकारात्मक हुन्छ ।

 यो क्षेत्रमा लागेर पैसा त निकै कमाउनुभयो होला हैन ?
पैसा भन्दा पनि सबैले चिन्नुहुन्छ । जहाँ जाँदा पनि मायाँ पाईन्छ । त्यहि नै हो मेरो कमाई ।

कलाकार बन्नु भनेर बाआमाले आर्शिवाद दिने दिन कहिले आउला ?
नेपालमा आर्थिक स्थिरता कायम रह्यो भने अबको १० वर्षमा बाआमाले कलाकारै बन्नु भनेर आर्शिवाद दिनेछन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस