तिहार ः कागदेखि भाइसम्मको पूजा

 

मोहन सिपाडोल

हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने गरिन्छ । तिहारमा पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँचदिन मनाइने भएकाले यसलाई यमपञ्चक भन्ने गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक भनिएको हिन्दूशास्त्रमा उल्लेख गरिएको छ । तिहार पर्वको नाम हिन्दी शब्दको त्योहार शब्दबाट विकृत हुँदै तिहार बनेको हो । यसलाई दीपावली (दिवाली) नामले पनि जानिन्छ ।
यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाईपुजा गरिन्छ ।

पौराणिक कथा
पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरुको अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो गरी मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दूशास्त्रमा उल्लेख गरिएको छ । यसरी रहँदा–बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई “जे मन लाग्छ वर माग“ भन्दा यमुनाले “हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाइ दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्“ भन्ने वरदान मागिन् ।
यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन कालदेखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ ।
तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कोतिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग देखाउँछ ।
काग तिहार
तिहारपर्वको पहिलो दिन अर्थात कार्तिक कृष्ण त्रयोदशीका दिन कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाईन्छ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । कागको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्न बालीमा लाग्ने कीरा–फट्याङग्राहरू खाईदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ ।
काग तिहारको दिन कागलाई पूजाआजा गरी खान नदिईकन आफूले खाएमा पापको भागी भईन्छ भन्ने धार्मिक मान्यता रहेको छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ । यसैदिन साँझ यमराजको नाममा घरको चोक आगन आदि स्थानमा बत्ती बाल्नुपर्ने प्रावधान छ ।

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ । कुकुर तिहारमा कुकुरलाई मनपर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिने चलन रहेको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिन्छ ।
कुकुरलाई खान दिँदा ’द्वौ श्वानौ श्याम शवलौ वैवश्वत कुलोद्भवौ । ताभ्यामन्नं प्रयच्छामि स्यातामेता बहिंसकौ ।’ अर्थात् वैवश्वत कुलमा जन्मिएका कालो र छिरबिरे वर्णका तिमी दुई कुकुरलाई म अन्न दिन्छु । तिमीहरू अह्रिंसक बन भनिन्छ ।
कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोर÷डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ ।
ऋग्वेदमा स्पष्ट रूपमा ’समरा’ को बारेमा उल्लेख गरिएको छ, समरा अर्थात् कुकुरहरुकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ । वैदिक सनातन हिन्दू परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतकारुपमा मानिन्छ र मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिआएको छ ।
महाभारतमा पनि सत्यवादि यूधिष्ठिरले आफ्नो भक्त कुकुर बिना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । कुकुरलाई धर्मको अवधारणागत उदाहरण र सत्मार्गको प्रतिनीधिका रुपमा लिइन्छ । तन्त्रसाधक निडर भगवान भैरवको वाहन पनि कुकुरनै हो भने चाणक्य नितीमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणीका रुपमा उल्लेख गरिएको छ ।
नरक चतुर्दशी बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने विधिसमेत रहेको मानिन्छ ।

गाईतिहार र लक्ष्मी पूजा
यमपञ्चकको तेस्रो दिन अर्थात् कार्तिक कृष्णपक्ष औंसीका दिन लक्ष्मीपूजा र गाईतिहार मनाइन्छ । यस दिन लक्ष्मीलाई धनधान्यकी देवी र गाईलाई गौमाता मानेर पूजा गरिन्छ ।
प्रार्थना गर्दा “लक्ष्मीर्या लोकपालानां धेनुरूपेण संस्थिता घृतं वहति यज्ञार्थे मम पापं व्यपोहत” भन्ने मन्त्र पढ्नुपर्दछ । त्यस्तै खाने कुरा दिँँदा “सुरभिर्वैष्णवी माता नित्यं विष्णुपदेस्थिता । गोग्रासं च मया दत्तं त्वं गृहाणानुकम्पया” भन्ने मन्त्र पढ्नुपर्ने शास्त्रीय मान्यता छ ।
योे दिन बिहान सबैको घरमा गाईलाई फूलमालाले सिंगारी शरीरमा चामलको पिठो र दूधले छाप लगाई अबीर, केशरी, फूल, अक्षता साथै जनै पूर्णिमामा लगाएको रक्षाबन्धनको डोरो गाइको पुच्छरमा बाँध्ने पनि गरिन्छ ।
यसरी गाईपूजा सकेपछि साँझ लक्ष्मीको पूजा गरिन्छ । य दिन घर, आँगन, चोक, गाईको हरियो गोबरले लिपेर स्वच्छ र चोखो पारिन्छ । साथै ढुकुटी र भण्डारसम्म चामलको पिठोको लक्ष्मीको पाइला चिन्ह बनाएर राखिन्छ अनि भण्डार कोठामा पैसा, सुन, चाँदी राखेको ठाउँनेर दियो कलश राखी लक्ष्मीको मुर्ति राखी पूजा गरिन्छ ।
लक्ष्मीको पूजापछि झ्याल ढोकामा माटाका पाला, मैनबत्ती रंगीविरंगीका बिजुलीका चिमले दिपमालिका सजाइन्छ, सक्नेले ५ दिन र नसक्नेले लक्ष्मीपूजा र गोबद्र्धनपूजा दुई दिनमात्र भएपनि घर उज्यालो पार्छन् । यो दिन लक्ष्मीको लागि नैवेद्य सेल, बाबर पकाइन्छ, त्यसकारण यस चाडलाई केटाकेटीहरू सेल खाने चाड पनि भन्दछन् ।
यस पर्वको पछाडि पौराणिक किंवदन्तीअनुसार यसरात लक्ष्मी स्वर्गबाट धर्तीमा झरी प्रकाशले उज्यालो भएको ठाउँमा पुग्छिन् किनकी धनकी देवीलाई फोहोर मन पर्दैन यसैले सबैतिर सफा र उज्यालो पारिन्छ । यसको साँझ महिलाहरुले भैलो खेल्ने चलन पनि छ ।
भगवान रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग होस् वा यमराजले यमपञ्चकका पाँचदिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यसदिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको हो ।

गोरु तिहार
यमपञ्चकको चौंथो दिन अर्थात कार्तिक शुक्लपक्ष प्रतिपदाको हल तिहार वा गोवर्धन पूजा मनाइन्छ । नेपालीहरुले परम्पराअनुसार गोरु तथा गोबर्धन पूजा गरि मनाउँछन् । हिन्दु धर्मावलम्बीहरुले आ–आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोबर्धन पर्वतको आकृति बनाई गोवर्धन पूजा गर्दछन् । कृषकको जमिन जोत्न र गाडा तान्न सहयोग गरेकाले विभिन्न परिकार गोरुलाई खुवाउने र पूजा गर्ने परम्परा छ ।
जे होस् गोवद्र्धन पर्वतको पूजा गर्दा “गोवद्र्धन धराधार गोकुलत्राणकारक । कृष्णबाहुकृतच्छाय गवां कोटिप्रदो भव” भन्ने मन्त्र र बलिराजाको प्रार्थना गर्दा “बलिराज नमस्तुभ्यं दैत्यदानववन्दित । इन्द्रशत्रोडमराराते विष्णुसान्निध्यदो भव” भन्ने मन्त्र पढ्नुपर्ने विधान छ ।
पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । विश्वास अनुसार कृष्ण भगवान गोकुलमा गोपालहरुसँग बस्दथे । गोपालहरु देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरुले केही पाउँदैन थिए । कृष्णले एकदिन गोकुलवासीहरुलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घास, पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउँछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरुलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् । भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो ।
यसैगरी नेवार समुदायले आफ्नो शरीरलाई पुजा गरी म्हपूजा मनाउँछन् । आत्मा सन्तुष्ट भए देवता खुशी हुन्छन् र सबै काम फलिफाप हुन्छ भन्ने विश्वासका साथ म्हः पूजा गरिँदै आएको छ । परिवारमा मुलीले परिवारका सबै सदस्यहरुको म्ह.ं अर्थात शरीरको पूजा गरी हाँस वा कुखुराको फुल सगुन अर्पण गरिन्छ ।
राष्ट्रिय विभूति शंखधर साख्वाले ईस्वी सम्वत् ८८० मा नेपाल सम्वत् चलाइएका थिए । उनले काठमाडौंका जनतालाई ऋणमुक्त गराई नेपाल संवत् चलाइएका थिए । त्यसरी एकजना साधारण जनताले राष्ट्रको नाममा चलाइएको संवत् फेरिएको खुसियालीमा एकआपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने र शंखधर साख्वाको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइने गरिन्छ । यसैदिन पुरुषहरुले देउसी खेल्ने चलन पनि छ ।

भाइटीका
तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान–सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा–मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान–दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ ।
यमराजको प्रार्थना गर्दा “धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज । पाहि मां किङ्करै साद्र्धं सूर्यपुत्र नमोडस्तुते” भन्ने मन्त्र पढ्न पर्दछ । परापूर्वकालमा बहिनी यमुनाले यसैदिन दाजु यमराजलाई विशेष मान–सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ ।
भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवं दीर्घायूको कामना गरिन्छ । तिहार पर्व हाम्रो महान् सांस्कृतिक पर्व हो तर यसको पृष्ठभूमिमा जे जति सांस्कृतिक महत्व देखिएका छन् त्योभन्दा पनि बढी वैज्ञानिक महत्व देखापर्दछ ।

यॊ पनि हेर्नुहॊस

यू–१९ विश्वकप एसिया छनोट : मलेसियामाथि नेपालकाे सानदार जित

काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटको एसिया छनोटको तेस्रो खेलमा नेपालले आयोजक मलेसियालाई पराजित …

प्रतिकृया दिनुहॊस