काठमाडौं । सरकारले भदौपछिका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदको नियुक्ति खारेजीमा परेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन आचारसंहिता मिचेर गरिएका नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै उनको नियुक्ति खारेजमा परेको हो ।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदलाई तत्कालिन मन्त्रीपरिषद्ले असोज २३ गते नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषद् बैठकले विभिन्न मन्त्रालय, परिषद्, प्राधिकरण, बोर्ड, संस्थान, लगायत निकायमा गरिएका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेपछि पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषाल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृतमा बिष्णुबाबु मिश्र, गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्याय, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलको नियुक्ति पनि खारेजीमा परेको छ ।
चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेल, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति संगीता भण्डारी, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत लगायतको नियुक्ति पनि बदर भएको छ ।
प्रतिकृया दिनुहॊस