चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द

चितवन । वर्षायामको सुरुवातसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी सेवा बन्द भएको छ । असार १५ गतेबाट जिप सफारी बन्द भएको छ भन्दै अब असोजयता सफारी सञ्चालनमा नआउने निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जनाए ।

वर्षातमा पानी बढी हुने, रुख ढल्ने, बाटोसमेत चिप्लो हुने, घाँस पनि बढ्ने एवं जंगली जनावरसमेत नदेखिने कारणले निकुञ्जले जिप सफारी बन्द गरेको उनले बताए ।

जंगली जनावर नदेखिँदा निकुञ्जका बारेमा गलत सन्देश नजाओस् भनेर पनि यतिबेला सफारी बन्द गरिएको आर्यालले बताए । विगत वर्षमा पनि यो समयमा जिप सफारी बन्द गरिँदै आएको थियो ।

चितवनको सौराहाबाट दैनिक ४३ वटा, कसराबाट १०, मेघौलीबाट सात र नवलपुरको अमलटाँरीबाट पाँचवटा जिपले पर्यटक सफारी गराउने गरेका थिए । बन्द भएको जिप सफारी असोजको दोस्रो सातादेखि पुनः शुरु हुने अर्यालले बताए ।

जिप सफारीबाट निकुञ्जले हरेक वर्ष करोडौँ रकम आम्दानी गर्दै आएको छ । गत जेठसम्ममा जिप सफारीबाट रु तीन करोड १७ लाख आम्दानी भएको निकुञ्जले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री