काठमाडाैं । ‘काठमाडौंका उपभोक्तालाई ढुक्कले पानी, तेल र मासु खान भन्न सक्ने अवस्थामा म छैन,’ यो भनाई कृषि तथा पशुपन्क्षी विकासमन्त्री चक्रपाणि खनालको हो । बजारमा पाइने खाद्य वस्तुप्रति मन्त्री आफैं ढुक्क छैनन् ।
सर्वसाधारणले अखाद्य वस्तु खान बाध्य छन् । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ । केन्द्रीय खाद्य प्रयोगशाला नियमन गर्ने मन्त्री चक्रपाणि खनालले भने, ‘खाद्य वस्तुमा अखाद्य र मानव स्वास्थ्यलाई हानिकारक वस्तुको मिसावट अत्यधिक छ ।’
मन्त्री खनालको प्रेस संयोजकले उनको भनाइ उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा छ, ‘राज्यले नियमन गर्ने संयन्त्रको विकास गर्नै सकेको रहेनछ।’ मन्त्री खनालले चाँडै यसबारे नियमन गरिने जनाउँदै अखाद्य वस्तु मिसावट गर्नेलाई जेल हालिने बताए।
उनले मुख्य सहरमध्ये झन्डै ५० लाख मानिसको बसोबास रहेको काठमाडौंमा अखाद्य वस्तुको मिसावट सबैभन्दा बढी हुने गरेको सुनाए।
अनुगमन र कडाइपछि दूधमा केही सुधार आएको जनाउँदै मन्त्री खनालले तेल, पानी र मासुमा भने अझै सुधार हुन नसकेको बताए। केन्द्रीय प्रयोगशालाको प्रतिवेदनलाई उद्धृत गर्दै उनले अनुगमन गर्दा खान नमिल्ने जारको पानी बिक्री गर्ने २२ उद्योगमा तालाबन्दी गरिएको बताए।
कृषि क्षेत्रको अवस्था दयनीय भएको बताउँदै मन्त्री खनालले भने, ‘सामान्य गमलामा छरेकै भरमा आफूलाई पुग्ने धनियाँ उत्पादन गर्न सकिन्छ। तर, हामी वार्षिक १३ करोडको धनियाँ विदेशबाट आयात गरिरहेका छौं।’
त्यस्तै उनले पछिल्ला वर्ष भात खाने बानी अत्यधिक चुलिएको संकेत गर्दै १ सय २५ देखि ३० अर्बको धान–चामल आयात हुने गरेको सुनाए। ‘कृषि प्राथमिकतामा परेन, यसलाई उल्टाउनुपर्छ, उल्टोबाट सुल्टो बाटोमा ल्याउनुपर्छ,’ खनालले भने।
प्रतिकृया दिनुहॊस