जिल्लाको सबै नगरपालिकाहरुको समन्वय आवश्यक रहेको सरोकारवालाको जोड

भक्तपुर । जिल्लाको छिटो विकास गर्न र ठूला आयोजनाहरु सम्पन्न गर्न जिल्लाको सबै नगरपालिकाहरुको समन्वय गर्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।

क्रियासिल पत्रकार मञ्च, भक्तपुरले नगरकोटमा आयोजना गरेका “जनप्रतिनिधीहरुको क्षमता अभिबृद्धि एवं भक्तपुरको विकासमा नगरपालिकाहरुको समन्वय विषयक दुईदिने अन्तरसंवाद कार्यक्रममा बिज्ञहरुले यस्तो बताएका हुन् ।

आज सम्पन्न भएको कार्यक्रममा प्रतिनिधीसभा सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले जिल्लाको विकासमा नगरपालिकाहरु बिच समन्वय हुन नसके ठूला विकासको आयोजनाहरु प्रभाव पर्ने बताए । उनले आवश्यक परे ऐन, नियम, कानून सच्याएर जान सकिने बताए ।

जनप्रतिनिधी असक्षम भए जनताले फाल्ने चर्चा गर्दै उनले विकासका काममा जनप्रतिनिधी सफल हुनुपर्ने औल्याए ।
कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले उत्पादनमुखी, ठूला र राम्रा कार्यक्रमहरु नगरपालिकाहरु बिच समन्वय गरेर अगाडि बढाउनु पर्नेमा जोड दिए ।

उनले भने, “जिल्लाका नगरपालिकाहरुले अन्तरनगरपालिका बिच अन्तरसम्बन्ध विस्तार गर्दै साझा लगानीमा ठूला उत्पादनमुखी विकासका कार्य गरे सरकारले ५० प्रतिशतसम्म अनुदान दिन्छ, यसका लागि यहाँका सबै नगरपालिकाहरु मिलेर संयुक्त समिति बनाएर अगाडि बढे विकासले गति लिन्छ ।”

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले स्थानीय तहका अधिकारहरु दिनदिनै काटिदै गएको प्रसंग कोट्याउँदै संघीयतामा अधिकार केन्द्रीकृत गरिने अभ्यास तिब्र हुदै गएको बताए । उनले संघीय व्यबस्थाको परिचालनमा दुरुपयोग भईरहेको भन्दै संघीयता कार्यान्वयन चुनौती बन्दै गएको भनाई राखे ।

त्यसअवसरमा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जूना बस्नेत, मध्यपुरथिमि नगरपालिकाको उपप्रमुख अञ्जना मधिकर्मी, मध्यपुरथिमि नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले विकासमा नगरपालिकाहरुको समन्वय र साझेदारीको निती लिदै एउटा जिल्ला भित्रको विकासका अवधारणा समान हुनुपर्ने बताए ।

कार्यक्रममा प्राकृतिक श्रोत तथा बित्त आयोगका सहसचिव गोपी खनालले नगरपालिकाहरुले विकासमा अपनाउँनु पर्ने अवधारणा, प्रारुप, गतिबिधी कस्तो हुनुपर्छ भन्नेबारेमा प्रशिक्षण दिएका थिए ।

गैरसरकारी संस्था महासंघ, भक्तपुरका अध्यक्ष एवं पत्रकार सोम शर्मा (बजगाई), नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, क्रियासिल पत्रकार मञ्च, भक्तपुरका अध्यक्ष रमेश गिरी, मञ्चका उपाध्यक्ष मकर श्रेष्ठ, सचिव जितेन्द्र श्रेष्ठले पाँचवर्ष पछि जनप्रतिनिधीले विदा लिदाँ गाली नभई प्रंशसा र ताली पाउँने गरि जनताको काम र विकास गर्नुपर्ने बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री