बेलायतका पेट्रोल पम्पमा चाप कम गर्न सेना तयारी अवस्थामा

काठमाडाैँ । बेलायतमा लामो लाइन र तेल अभावका कारण कैयौँ पेट्रोल पम्पहरू बन्द भएसँगै अवस्था सहज बनाउनका लागि सेनालाई तयारी अवस्थामा राखिएको छ ।

सेनाका ट्याङ्कर चालकहरूलाई आवश्यक परेको अवस्थामा परिचालन गर्नका लागि तालिम दिइने सरकारले जनाएको छ । बेलायतका व्यापारमन्त्री क्वासी कोर्टनले यूकेसँग पर्याप्त आपूर्ति रहेको बताउँदै उक्त कदमलाई समझदारी र सावधानीको कदमका रूपमा व्याख्या गरेका छन् ।

तेल आपूर्तिकर्ताहरूले आगामी दिनहरूमा माग सामान्य हुने अपेक्षा गरेको बताएका छन् । तर मोटरीङ्ग ग्रुप आरएसीका अनुसार केही किराना व्यापारीहरूले अवस्थाको फाइदा उठाउँदै मूल्य बढाएका छन् । मन्त्रीहरूले आवश्यकता नभएका मानिसहरूले समेत तेल खरिद गरेका कारण पम्पहरूमा लाइन देखिएको र ती रित्तिन पुगेको आरोप लगाएका छन् ।

लरी चालकहरूको अभावका कारण पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुनसक्ने आशङ्काका कारण कैयौँ चालकहरू पेट्रोल पम्प पुगेका थिए । सरकारले ट्याङ्कर चालकहरूको अभाव पूर्ति गर्नका लागि विदेशी एचजीभी चालकहरूका लागि तीनमहिने अस्थायी प्रवेशाज्ञा उपलब्ध गराउन सहमत भइसकेको छ । बिपी र सेलजस्ता ठूला उत्पादकहरूले यूकेका रिफाइनरीहरूमा पर्याप्त मात्रामा इन्धन रहेको जनाएका छन् ।

उनीहरू सहितका उत्पादकहरूको एउटा संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘धेरै कारहरूमा सामान्य अवस्थामा भन्दा धेरै तेल हालिएको अवस्थामा आगामी दिनहरूमा माग सामान्य अवस्थामा फर्कने अपेक्षा हामीले गरेका छौँ जसले पेट्रोल पम्पहरूमा चाप कम गर्ने छ ।’

चिकित्सकहरू र स्याहार केन्द्रका कर्मचारीहरूले अत्यावश्यक सेवाका कर्मचारीहरूलाई आफूहरूलाई प्राथमिकतामा राख्न आह्वान गरेका छन् । बेलायत होमकेअर एसोसिएसनले आफ्ना कर्मचारीहरू पेट्रोलका लाइनमा अल्झंदा केन्द्रहरूमा कर्मचारी अभाव भएको जनाएको छ ।

ब्रेक्जिट, कोभिड, ज्यालाको तह र जेष्ठ जनशक्तिजस्ता कारणले लरी चालकहरूको सङ्कट निम्त्याएको छ । ब्रिटेन युरोपेली सङ्घ ईयूबाट बाहिरिएपछि कयौँ युरोपेली चालकहरू आफ्नो देश फर्किएका थिए । थप सीमाको झन्झट र आयमा पर्ने असरका कारण कतिपय अन्यत्र काम गर्न गएका थिए । -बीबीसीबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खल्तीबाट ‘मह जात्रा’को टिकट काट्न सकिने

काठमाडौँ । ‘खल्ती’ले मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ प्रहसनको टिकटिङ पार्टनरको जिम्मेवारी पाएको …

प्रतिकृया दिनुहॊस