काँग्रेसको बाँके जिल्ला अधिवेशन दशैंपछि

काठमाडाैँ । बाँकेमा लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद किनारा लागेपनि अधिवेशन कहिले हुन्छ भन्ने कौतुहलता आम कार्यकर्तामा छ । कांग्रेसले आफ्नो वेबसाइटमा क्रियाशील सदस्यको नामावली प्रकाशित गरिसकेको छ । तर, अधिवेशन कहिले हुन्छ भन्ने जिज्ञासा मेटिएको छैन ।

बाँकेसहित १३ जिल्लामा अधिवेशन कहिले हुन्छ भन्ने यकिन हुन सकेको छैन । प्रदेश २ का अधिकांश जिल्लाको त क्रियाशील नै सार्वजनिक हुन सकेको छैन । केन्द्रिय निर्वाचन समितिले बाँकि जिल्लाको वडा अधिवेशन एकसाथ गर्ने नीति लिएको छ । यसले गर्दा अब बाँकि जिल्लाको वडा अधिवेशन प्रारम्भ हुन दशैं कुर्नुपर्ने भएको छ ।

केन्द्रिय निर्वाचन समितिका अनुसार अहिले सोह्र श्राद्ध चलिरहेको र लगत्तै दशैं शुरु हुने भएकाले अब दशैंपछि नै अधिवेशन हुनेछ । निर्वाचन समितिले केही जिल्लाको नामावली नै प्राप्त नभएको र प्राप्त भएको ठाउँमा पनि केही व्यवस्थापकीय तयारी नपुग्ने हुँदा बाँकि रहेका जिल्लामा दशैंपछि एकैपटक वडा अधिवेशन प्रारम्भ गर्ने जनाएको छ । २१ हिमाली जिल्लामा असोज १८ गते जिल्ला अधिवेशन हुँदैछ । वडा र पालिका अधिवेशन भइसकेका अन्य जिल्लामा भने दशैंपछि नै क्षेत्र र जिल्ला अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । लुम्बिनी प्रदेशमा अब बाँकेमा मात्रै वडा र पालिका अधिवेशन हुन बाँकि छ । क्रियाशील विवादका कारण बाँकेमा असोज ९ गते मात्रै क्रियाशील सदस्यहरुको नामावली वेबसाइटमा प्रकाशित गरिएको थियो ।

बाँकेका लागि खटिएका प्रमुख निर्वाचन अधिकृत बरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले केन्द्रिय निर्वाचन समितिले आफूलाई दशैंपछि मात्रै अधिवेशन प्रारम्भ हुने जानकारी गराएको बताए । “म त तयारी अवस्थामै छु, तर, सोह्र श्राद्ध चलिरहेकाले कार्यकर्तालाई अहिले त्यति सहज छैन, लगत्तै दशैं शुरु हुन्छ, त्यसकारण अब दशैंपछि मात्रै वडा अधिवेशन हुन्छ, केन्द्रले मलाई त्यही भनेको छ,” भट्टराईले भने । नेपाली कांग्रेस बाँकेका सचिव तप्त पौडेलले पनि दशैंपछि नै अधिवेशन प्रारम्भ हुने बताए ।हाम्राकुरासंग उनले भने-“क्रियाशील विवाद त टुंगियो तर तत्काल अधिवेशन हुने अवस्था देखिँदैन, दशैंपछि नै अब अधिवेशन हुन्छ ।”

बाँकेमा पहिलो चरणमा ८१ वडामा वडा अधिवेशन हुन्छ । दोस्रो चरणमा ८ वटा पालिकामा पालिका अधिवेशन हुने। त्यसपछि क्रमशः प्रदेश क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन सम्पन्न हुनेछ । अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन हुने अवस्था भएपनि पालिकादेखि भने समूहगत प्रतिष्पर्धा हुने अवस्था देखिएको छ । बाँकेमा ९६७८ क्रियाशील सदस्य छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पूर्वराजा ज्ञानेन्द्रद्वारा बाढी पहिरोको क्षतिप्रति दुःख व्यक्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । विज्ञप्तिमार्फत …

प्रतिकृया दिनुहॊस