काठमाडौं । भारतको नयाँ दिल्लीमा एकै परिवारका ११ जना घरभित्रै झुण्डिएको अवस्थामा भेटिएका छन् । दिल्ली स्थित सन्तनगरको गुरुगोविन्द सिंह हस्पिटल नजिकको २ नम्बर गल्लीमा ११ व्यक्तिको शव फेला परेको हो ।
यसरी झुण्ड्याइएको अवस्थामा भेटिएकामा चारजना पुरुष, तीनजना महिला र चार बालिका छन् । घरमा भेन्टिलेटरको रुपमा प्रयोग गरिएको फलामको डण्डीमा उनीहरु झुण्डिएको अवस्थामा भेटिएको प्रहरी अधिकारीलाई उद्धृत गदै हिन्दुस्तान टाइम्सले समाचार लेखेको छ ।
भातीय अनलाइन नवभारत टाइमस्का अनुसार अधिकांश व्यक्तिको शव हात, खुट्टा बाँधिएको र केहीको मुखमा पट्टी बाँधिएको अवस्था फेला परेका छन् । घटनाबारे अनुसन्धान भइरहेको सुरक्षा अधिकारीले जनाएका छन् । अधिकारीका अनुसार घटना सामूहिक आत्महत्या या हत्या भएको भन्नेबारे तिव्र अनुसन्धान भइरहेको छ ।
आज बिहान घरमै झुण्ड्याइएको अवस्थामा देखिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले छिमेकीसँग सोधपुछ गरिरहेको छ भने सिसिटिभी फुटेज पनि हेरिरहेको छ । घटनास्थलमा सुसाइड नोट नरहेको प्रहरीले बताएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार तत्काल हत्या तथा आत्म हत्या के भएको हो भन्नेबारे भन्न सकिने अवस्था छैन । अधिकांशले यति ठूलो संख्यामा शव फेला पर्नु आत्म हत्या हुन नसक्ने आंकलन गरेका छन् । एजेन्सी




