काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयकमा सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको हो ।
आज दिउँसो प्रतिनिधिसभाको बैठकमा शून्य र विशेष समय लिएर सांसदहरुले बोल्ने क्रम सकिएलगत्तै सभामुख कृष्णबहादुर महराले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए ।
तर चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयकमा नेपाली कांग्रेसले असहमति जनाएपछि बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गरिएको छ । आजको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ पेश गर्ने मूल कार्यसूची रहेको थियो ।
सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पेश गर्ने तय भएको विधेयक सरकारले आफूखुसी संशोधन गरेर ल्याउन लागेको भन्दै विपक्ष कांग्रेसले असन्तुष्टि व्यक्त गर्दै आएको थियो ।
प्रतिकृया दिनुहॊस