काठमाडौं । प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई सामाजिक सन्जालमार्फत ज्यान मार्नेसम्मको धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलाम घर भई हाल ललितपुरको बागडोल बस्ने ५० वर्षका विनोद गौतम र नवलपरासी सुनवल नगरपालिकाका ३६ वर्षका विष्णु ढकाल रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
न्यूज २४ टेलिभिजन मार्फत प्रसारित ‘सीधा कुरा जनता’ का सञ्चालक रवि लामिछानेमाथि उपर परेको उजूरी छानवीनका घटनालाई आधार बनाई सामाजिक सन्जालमा आपत्तिजनक, अमर्यादित शव्दहरु प्रयोग गरी पोष्ट र कमेन्ट गरेको उनीहरुमाथि आरोप छ ।
प्रहरीका अनुसार उनीहरुले काउन्सिलका पदाधिकारीहरुको व्यक्तिगत जीवन तथा मान प्रतिष्ठासमेतमा आघात पुर्याउने र ज्यान मार्ने धम्की दिएर सामाजिक सञ्जालमा स्टाटसहरु पोष्ट गर्दै आएको महाशाखाले जनाएको छ ।
प्रहरीले गौतमलाई काठमाडौंको टेकुबाट र ढकाललाई नवलपरासीको सुनवलबाट पक्राउ गरेको हो ।
उनीहरुलाई विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान कारवाहीको लागि आज महानगरीय प्रहरी परिसर, काठमाडौमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।
विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम यस्तो कार्यमा संलग्नलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद सजायँ वा दुबै सजाय हुने व्यवस्था छ ।




