बुटवल । प्रदेश ५ को प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबिना नै सञ्चालन भएको छ । बजेट एकपक्षीय र असन्तुलित भएको भन्दै असन्तुष्टी जनाउँदै आएको कांग्रेसको उपस्थितिविनै प्रदेश ५ को प्रदेश सभा वैठक शुरु भएको हो । यसअघि १ बजे बस्दै आएको वैठक आज १२ बजे नै शुरु भएको छ ।
प्रदेश सभा बैठक शुरु भर्इरहदा प्रदेश सभामा आएका कांग्रेसका सांसदहरु संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको कार्यकक्षमा बसेका छन् ।
आजको बैठकको सुरुमा बोल्दै नेकपाका सांसदहरु भुमिश्वर ढकाल र दधिराम शर्माले बजेट राम्रो र उत्कृष्ट आएको दाबी गरेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले सत्ता पक्षले वहुमतको आडमा प्रतिपक्षी दललाई अवमूल्यन गरी प्रतिपक्षबिनै संसद वैठक सुचारु गरेर संसदीय अभ्यासको खिल्ली उडाएको आरोप लगाए ।
उनले प्रतिपक्षी दलले सबै जिल्ला र निर्वाचन क्षेत्रलाई समानुपातिक तरिकाले वजेट विनियोजन हुनुपर्ने जायज माग राख्दा पनि बेवास्ता र उपेक्षा गर्नुले सरकारको अधिनायकवादी चरित्र छर्लङ्ग भएको आरोप लगाए ।
सोमबारदेखि सुरु भएको विनियोजन विधेयकमाथिको छलफलमा सत्तापक्षकै एक दर्जन सांसदहरुले वजेट समावेशी र सन्तुलित नभएको भन्दै आलोचना गरेका थिए ।




