काबुल । विद्रोही तालिबान समूहले अफगानिस्तानमा विजय हासिल गरेको घोषणा गरेको छ । तालिबान लडाकुहरु राष्ट्रपति कार्यालयमा प्रवेश गरेसँगै विजयको घोषणा गरेका हुन् । अलजजिरा न्यूज नेटवर्कको एक भिडियो फुटेजमा तालिबान लडाकुहरुको ठूलो समूह राष्ट्रपति भवनको भित्र देखिन्छ । अर्को एउटा फोटोमा उनीहरु हतियारसहित राष्ट्रपति बस्ने कुर्सीमा बसेको देखिन्छ ।
तालिबानका एक प्रवक्ताले अलजजिरासँग भनेका छन्, ‘अफगानिस्तानमा युद्ध सकिएको छ । हाम्रो देशको मुक्ति र हाम्रा जनताको स्वतन्त्रता हामीले प्राप्त गरेका छौं ।’ विद्रोहमार्फत २० वर्षपछि पुनः सत्तामा पुगेको तालिबानले आज ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
हतियारकै बलमा अफगानिस्तान कब्जा गरेको विद्रोही संगठन तालिबानले अब युद्ध अन्त्य भएको र देशको शासन व्यवस्था कस्तो हुने भन्ने विषयमा चाँडै जानकारी दिने बताएको छ । बीबीसीका अनुसार तालिबान संगठनका प्रवक्ताले समाचार च्यानल अलजजिरासँग भनेका छन्, ‘अफगानिस्तानमा युद्ध समाप्त भयो । अब अफगानिस्तानमा कस्तो किसिमको शासन व्यवस्था हुन्छ, यसबारे चाँडै स्पष्ट पार्नेछौं ।’
समाचार एजेन्सी रोयटर्सका अनुसार अलजजिरालाई दिएको अन्वर्तार्तामा तालिबानका प्रवक्ता मोहम्मद नइमले आफूहरू अन्तर्राष्ट्रिय समुदायसँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहने र कुनै पनि मुद्दामा छलफल गर्न तयार रहेको बताएका हुन् ।
उनले भनेका छन्, ‘सरिया कानुनअनुसार महिला र अल्पसंख्यकको अधिकार र स्वतन्त्रताको हामी सम्मान गर्छाैं ।’ प्रवक्ता मोहम्मद नइनमले आफ्नो संगठन तालिबानले कुनै मामिलामा हस्तक्षेपको नीति नलिने उल्लेख गर्दै अफगानिस्तान मामिलामा पनि कसैलाई हस्तक्षेप नगर्न चेतावनी पनि दिएका छन् ।
उनले अगाडि भनेका छन्, ‘२० वर्षको प्रतीक्षापछि हामी जुन स्थानमा पुग्न चाहन्थ्यौं, त्यहीं पुगेका छौं । हामी देश र जनताको स्वतन्त्रता चाहन्छौं । हामी न हाम्रो भूमि कसैको प्रयोगशाला हुन दिन्छौं न न हामी नै कसैलाई हानी गर्न चाहन्छौं ।’
तालिबान समूह आइतबार राजधानी काबुल प्रवेश गरे लगत्तै राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उपराष्ट्रपतिले पनि देश छाडेको हल्ला चले पनि उनले आफूले काबुल मात्र छाडेको र अफगानिस्तानमै रहेको बताएका छन् ।




