काठमाडाैँ । सुरक्षा अवस्था बिग्रँदै गएको भन्दै संयुक्त राज्य अमेरिका र यूकेले तत्काल अफगानिस्तान छाड्न आफ्ना नागरिकलाई आग्रह गरेका छन् । काबुलस्थित अमेरिकी राजदूतावासले तत्काल हवाई टिकट खरिद गर्न नसक्ने अवस्थामा रहेका आफ्ना नागरिकलाई ऋण उपलब्ध गराउने समेत जनाएको छ ।
आतङ्कवादीहरूले अफगानिस्तानमा हमलाहरू गर्न सक्ने भन्दै गत राति ब्रिटेनको विदेश मन्त्रालयले चेतावनी दिएको थियो । उसले आफ्ना नागरिकहरूलाई व्यापारिक उडानहरूबाट फर्कन र दूतावासले गर्ने आपत्कालीन उद्धारमा भर नपर्न आग्रह गरेको छ ।
नियन्त्रण कायम
अफगानिस्तानबाट विदेशी फौजको अन्तिम समूह फिर्ता भएसँगै तालिबान लडाकु समूहले भूभागमाथि कब्जा गर्न एउटा ठूलो हमला थालेपछि यूके र अमेरिकाले पछिल्ला चेतावनी जारी गरेका हुन् । दक्षिण-पश्चिमी अफगानिस्तानको एउटा शहर तालिबान लडाकुहरूको नियन्त्रणमा गएको पहिलो प्रान्तीय राजधानी बनेको छ ।
स्थानीय अधिकारीहरूका अनुसार लडाकुहरूले निम्रोज प्रान्तको राजधानी जारञ्जमाथि नियन्त्रण कायम गरेका छन् । त्यसलाई सरकारी फौजका निम्ति ठूलो धक्काको रूपमा हेरिएको छ । विदेशी फौजको फिर्तीसँगै लडाकुहरूले देशभरि आक्रमण तीव्र पारेका छन् ।
ठूलो स्तरमा ग्रामीण इलाकामाथि नियन्त्रण गरेका तालिबान लडाकुहरूले अहिले महत्त्वपूर्ण शहरहरूलाई निशाना बनाइरहेका छन् । दबावमा रहेका अन्य प्रान्तीय राजधानीहरूमा पश्चिममा हेरात र दक्षिण शहरहरू कान्दहार र लश्कर गह रहेका छन् ।
अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घकी विशेष दूतले त्यहाँको युद्ध “नयाँ, अझ घातक तथा विध्वंसात्मक चरण” मा प्रवेश गरेको शुक्रवार बताएकी थिइन् । उनका अनुसार गत महिनाभित्र एक हजारभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् ।
शुक्रवार ट्विटरमा एउटा पोस्ट गर्दै तालिबान लडाकुहरूले इरानी सीमासँग जोडिएको एउटा महत्त्वपूर्ण व्यापार केन्द्र जारञ्जमाथि कब्जा गरेको दाबी गरेका थिए । “यो शुरूवात हो र हेर्दै जानूस्, चाँडै अरू प्रान्तहरू पनि कसरी हाम्रो कब्जामा आउनेछन्,” एक तालिबान कमाण्डरले भने । वरपरका जिल्लाहरूलाई नियन्त्रणमा लिएपछि अन्य क्षेत्रमाथि उनीहरूले कब्जा गरिरहेका छन् । -बीबीसी




